7Shares

भरतपुर । बिहीबार दिउँसो चितवन मेडिकल कलेज एकाएक तनावग्रस्त भयो । एक्कासी पेट दुखेका कारण आफ्ना बाबुसँगै अस्पताल पुगेका भरतपुर २२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको उपचारको क्रममा मृत्यु भएको भन्ने हल्ला चलेपछि आफन्तहरुले अस्पताल तोडफोड गरे । उपचारमा संलग्न चिकित्सक र मर्यादापालकलाई कु्टे । मर्यादापालक र बिरामीका आफन्तबीच भनाभन भयो । हात हालहाल भयो । तोडफोडमा उत्रिदा बिरामीका आफन्तहरु नै घाइते भए । पछि प्रहरी आएर स्थिति साम्य बनाएपछि थाहा भयो– ‘मृत्यु भएका भनिएका सुनारको मृत्यु नै भएको रहेनछ ।’
उपचाररत बिरामीलाई बिरामीका आफन्तहरुले नै मृत घोषणा गरेपछि अस्पताल तोडफोड गरिनुका साथै चिकित्सकमाथि आक्रमण हुनु दुःखद भएको कलेका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेको भनाई छ ।
‘उनलाई एपेण्डिक्स भएपछि बुधबार अपरेशन गरिएको हो । अपरेशनपछि सर्जिकल आइसिुयुमा राखेकै बखत एकाएक मृत्युको हल्ला चलाईयो ।’–डा.न्यौपानेले भने,‘हिजो अवस्था अल्लि जटिल नै थियो । अहिले बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’
मेडिकल कलेजको सर्जिकल टीमका अनुसार बिरामीलाई अहिले भेण्टिलेटरमा राखेर उपचार गराईराखिएको छ । ्यसलाई ‘एपेण्डिसाइसिसको कम्लिकेसन’ का रुपमा लिन सकिने उपचारमा संलग्न एक चिकित्सकले बताए ।
अस्पतालमा तोडफोड र आक्रमण भएपछि प्रहरीले बिरामीका ५ जना आफन्तहरुलाई पक्राउ गरेको छ । दुई जना छुटिसकेका छन् भने अझै तीन जना प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । तोडफोड र आक्रमणमा उत्रिनेका बिरुद्ध सार्वजनिक अपराधबिरुद्ध मुद्दा हाल्ने तयारी रहेको अस्पतालले जनाएको छ ।
‘उनीहरुलाई बिरामीका आफन्त भन्न मिल्दैन । आफन्तले यस्तो व्यवहार गर्दैन । अस्पतालबाट अनुचित लाभ लिन खोज्ने समूहहरुले यस्तो घटना गरेका हुन् । हामी उनीहरुका बिरुद्ध मुद्दा हाल्दैछौँ ।’–अस्पतालका अध्यक्ष डा. न्यौपानेले भने ।
अस्पतालमा भएको आक्रमणमा सर्जिकल आइसियुमा रहेको ढोकाको सिसा फुटेका छन् । अस्पतालले क्षतीको संकलन गरिरहेको छ ।

 

 

7Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement