0Shares

काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन्। आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो।

ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए। ‘नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन’, तिमल्सिनाले भने। उनले ती नागरिकका बारेमा  सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए।

मध्यपूर्वी पहाडबाट काठमाडौँ राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन्। बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मङ्गलटारमा चाँजचौकी राखी थप कडाइ गरिएको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ।

धुलिखेल अस्पतालमा भने मृतक महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी अस्पतालको क्वारेन्टाइनमा राखी अस्पताल क्षेत्रमा थप उच्च सतर्कता अपनाइएको अस्पतालका प्रवक्ता एवं प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले जानकारी दिए। उनका अनुसार मृतक महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरस सङ्क्रमण भए/नभएको परीक्षण स्वाब सङ्कलन गरिएको छ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement