कोरोना कहरमा सचेत हुन पत्रकार महासंघको अपील
पत्रकार महासंघ चितवनको १३ बुँदे निर्देशिका जारी
कोरोनाको संक्रमणको उच्च जोखिमको बिचमा पनि आम नागरिकलाई सुसुचित गराउनका लागि सचेतनाका साथ काम गर्न सञ्चारकर्मीहरुलाई नेपाल पत्रकार महासंघ चितवनले अनुरोध गरेको छ । चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडाले आज आईतबार चितवनका सञ्चारकर्मीहरुलाई १३ बुँदे अनुरोधसहितको निर्देशिका जारी गर्दै सूचनाको क्षेत्रमा काम गर्न अनुरोध गरेका हुन् । सरुवा रोगको महामारीले उत्पन्न गराएको संकटमा अहिले पत्रकारहरु पनि प्रभावित हुनुपरेको उल्लेख गर्दै उनले महासंघद्वारा जारी निर्देशिकामा ख्याल राख्न र पालना गर्न जिल्लाका सम्पुर्ण सञ्चारकर्मीहरुलाई अनुरोध गरेका हुन् ।
कोरोनाका संक्रमणको उच्च जोखिममा अहिले पत्रकाहरु पनि छन् ।
पत्रकार महासंघ चितवनले जारी गरेको १३ बुँदे निर्देशिका यस्तो छ ः–
‘
नेपाल पत्रकार महासंघ, चितवन
मितिः२०७७ जेठ ४ गते
विश्वभर फैलिएको कोरोना (कोभिड—१९) भाइरसको संक्रमण हामी जोखिममा छौँ । कोरोनाको संक्रमणको उच्चजोखिमको बिचमा पनि आम नागरिकलाई सुसुचित गराउन अग्रपंक्तिमा रहेर हामीले सुचनाको क्षेत्रमा काम गरीरहेका छौँ ।
पत्रकारहरुलाई नै संक्रमण हुन सुरु भएको छ । त्यसैले संकटको यो समयमा सचेतनाका साथ आफ्नो कर्म गर्नका लागि तपसिलका बिषयमा ख्याल राख्न र पालना गर्न जिल्लाका सम्पुर्ण सञ्चारकर्मीहरुलाई अनुरोध गर्दछौँ ।
१) आफ्नो सुरक्षाप्रति अति संवेदनशिल रहने, कोरोना (कोभिड—१९) भाइरसको रोकथामका अधिकतम मापदण्ड पुरा गर्ने ।
२) सम्भव भएसम्म बन्दाबन्दी(लकडाउन)को अवस्थामा घर भित्र बस्ने,समाचारका लागि सूचना लिनुपर्दा इमेल,मोवाईल,टेलिफोन,सामाजिक संजालको माध्यमलाई बढी प्रयोग गर्ने । प्रत्यक्ष नभेटी नहुने भएमा सामाजिक दुरी कायम गर्ने ।
३) आफ्नै सवारी साधन प्रयोग गर्ने,अरुलाई लिफ्ट नदिने र अरुसँग लिफ्ट पनि नमाग्ने । हातमा ग्लभ्स,मुखमा माक्स लगाउने र साथमा सेनिटाइजर अनिवार्य राख्ने । वोल्दा÷कुराकानी गर्दा माक्स ननिकाल्ने,अनुहारको पसिना पुच्छदा ख्याल राख्ने ।
४) आफुले प्रयोग गर्ने सवारीमा अस्थायी रुपमा पत्रकार वा प्रेस टाँस्ने,आफ्नो परिचयपत्र देखिनेगरी लगाउने । यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहज रुपमा यात्रा विवरण टिपाउने ।
५)स्वास्थ्य संस्था,स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने । भिडभाडमा नजाने,बाहिरका बस्तु नछुने । औपचारिक वा अनौपचारिक सामुहिक भेटघाट,भेला,कार्यक्रम गतिविधीमा सकेसम्म सहभागी नहुने । हुनै पर्ने अवस्था आएमा सामाजिक दुरी कायम गरेर उपस्थित हुने ।
६) फिल्डमा गएर आफ्नो घर÷कोठामा फर्किएपछि लगाएको कपडा घर÷कोठा बाहीर व्यवस्थापन गर्ने,सम्भव भएसम्म नुहाउने नभए हातमुख साबुन पानीले राम्रोसंग धोएर मात्र घर÷कोठाभित्र प्रवेश गर्ने । लगाएका कपडा अनिवार्य रुपमा नियमित धुने ।
७) आफुले प्रयोग गर्ने सञ्चारका सामाग्रीहरु सेनीटाइज गर्ने । अन्य साथीहरुले प्रयोग गर्दै आएका सञ्चारका साधनहरु सकेसम्म प्रयोग नगर्ने ।
८) घर बाहिर पकाइएका खाना नखाने, समयमा सुत्ने समयमा उठ्ने,शारीरिक व्यायम नियमित गर्ने ।
९) संकटको समयमा भ्रमको महामारी झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्य तथ्य सुचना संकलन गरी प्रकाशन ÷प्रशारण गर्ने । हतारो र अनावश्यक प्रतिस्पर्धा नगरी अधिकारिक नियकावाट अधिकारिक व्यक्तिले दिएको सूचनलाई मात्र प्राथामिकता दिने ।
१०) संक्रमित व्यक्ति वा प्रभावितको सन्दर्भमा समाचार लेख्दा गोपनियता,आत्मसम्मान र मान मर्यादाको विषेश ख्याल राख्ने ।
११) सामाजिक संजालमा हामीले पोष्ट गर्ने बिषयले खास अर्थ राख्दछ,त्यसैले सामाजिक सञ्जालमा बिषयहरु लेख्दा÷पोष्ट गर्दा विषेश ख्याल राख्ने ।
१२) जिल्लामा फिल्डमा कार्यरत पत्रकारहरुको कोरोना (कोभिड १९)को सामुहिक परिक्षणका लागि सम्वन्धित निकायसँग छलफल भइरहेको छ । कोही कसैलाई तत्कालै परिक्षण गराईहाल्नुपर्ने अवस्था भएमा पत्रकार महासंघले समन्वय गर्ने भएकोले सम्पर्कमा रहने ।
१३) संकटको यो समयमा परिस्थितिजन्य समस्या परेमा,सञ्चार माध्यमले तलव समयमा नदिएमा, कार्यरत मिडियाले वेतलवी बिदा बस्न लगाएमा र अन्य समस्या परेमा पत्रकार महासंघमा जानकारी गराउने ।
राधेश्याम खतिवडा
अध्यक्ष



















