बीरगन्जमा एकै परिवारका १७ जनामा कोरोना
नेपालमा संक्रमितको सङ्ख्या ९९ पुग्यो
आज गरिएको पिसीआर परीक्षणपछि बीरगन्जमा एकै परिवारका १७ जनामा कोरोना सङक्रमण भएको पुष्टि भएको छ । यससङ्गै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९९ पुगेको छ ।
उनीहरुकै परिवारका ३६ वर्षे पुरुषमा वैशाख २१ गते पहिलोपटक कोरोना सङ्क्रमण भएको थियो ।
वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ती पुरुषमा संक्रमण पुष्टि भएपछि उनका परिवार र आफन्तको गरि ३२ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए । ‘सोमबार नमुना परीक्षणका लागि पठाइएको मध्ये १७ जनामा कोभिड–१९ संक्रमण देखिएको हो,’ उनले भने, ‘ती सबै एकै परिवारका सदस्य र आफन्त हुन् ।’
सोमबारदेखि उनीहरुको घर सिल गरि सेल्फ क्वारेन्टाइनमा राखिएको थियो । बुधबार संक्रमण पुष्टि भएपछि नारायणी अस्प्तालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको डा. उपाध्यायले जनाए ।
१७ जना संक्रमितमा २ महिनादेखि ६६ वर्ष उमेर समूहका ७ महिला र १० पुरुष छन् । आइतबार संक्रमित पुष्टि भएका व्यक्तिका बुवा, आमा, दाजु, भाई, भाउजु, छोरो र भतिजामा संक्रमण पुष्टि भएको हो ।
आइतबार संक्रमण देखिएका ३६ वर्षीय पुरुषले हालसम्म आफ्नो यात्रा विवरण बताएका छैनन् । ‘स्वाब थ्रोट परीक्षणमा कोभिड १९ पुष्टि भएपछि उनले रिर्पोट नै गलत आएको दाबी गरेका थिए,’ मेसु डा.उपाध्यायले भने, ‘उनले हालसम्म आफ्नो यात्रा विवरण खुलाएका छैनन् ।
वीरगन्जबाट बाहिर गएकै छैन भनेका छन् ।’
यात्रा विवरण नखुलाए पनि उनीसँग सम्पर्कमा आएका परिवार र आफन्तको कन्ट्याक्ट ट्रेसिङका आधारमा थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको उपाध्यायले बताए । वडामा राहत वितरणका लागि बनाइएको सर्वदलीय समितिमा उनी नेकपाबाट सदस्य थिए । उनले राहत वितरण पनि गरेका थिए ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















