कफ्र्यूका कारण रक्सौलमा रोकिए नेपाली
नाकामा नेपाली सेना परिचालन
वीरगञ्ज– भारत सरकारले कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुन आज जनता कफ्र्यूको आह्वान गरेपछि आफ्नो घर फर्किरहेका नेपाली सीमावर्ती भारतीय बजार रक्सौलमै रोकिएका छन् ।
भारत सरकारले आज बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म लागू गरेको कफ्र्यूका कारण भारतको रक्सौलमा रोकिएका एक हजार भन्दाबढी नेपालीलाई साँझ ७ बजेपछि मात्र छाडिने रक्सौल प्रशासनले जनाएको छ । भारतीय बजार रक्सौलमा रोकिएका नेपाली सुरक्षित रहेको र उनीहरुलाई साँझ ७ बजेपछि छाडिने बताउँदै रक्सौल थानाका प्रमुख अभय कुमारले राससलाई भन्नुभयो, “कतिपय नेपाली पैदल नै नेपालतर्फ गएका छन् भने बाँकीलाई ७ बजेपछि छाडिने छ ।
“आआफ्नो घर नेपालतर्फ गइरहेका नेपाली रोकिएपछि अधिकांश नेपाली यहाँको होटल, लजमा बास बसेका छन् र उनीहरुलाई साँझ परेपछि सुरक्षित नेपालतर्फ पठाइने छ”, टेक्स्टाइल कमर्स अफ रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भन्नुभयो ।
आज एकाबिहानै काठमाडाँैलगायतका नेपालका विभिन्न भागमा काम गरी फर्किएका करिब एक हजार भारतीय वीरगञ्ज नाकाको बाटो भएर भारतको रक्सौलमा प्रवेश गरेको भन्सारस्थित सुरक्षाकर्मीले बताएका छन् ।
भारतमा तीव्र गतिमा बढी रहेको कोरोना सङ्क्रमणलाई रोक्न भारत सरकारले लगाएको कफ्र्यूको प्रभाव रक्सौल वीरगञ्ज नाकामा पनि देखिएको छ । बिहानैदेखि रक्सौलबाट कुनै पनि मालवाहक सवारीसाधन नआएकाले यसको प्रत्यक्ष प्रभाव भन्सार राजश्वमा परेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताउनुभयो । नाका ठप्प तथा सुनसान भएकाले नाकामा रहेको कोभिड–१९ जाँच्ने हेल्थ डेस्कमा अरु दिन जस्तो खासै चाप भने देखिएन ।
सधँै भिड हुने भारतको रक्सौल बजार, रेल्वे स्टेशन, बस स्टेण्ड दिनभर सुनसान देखियो । यसैबीच भारत विहारको राजधानी पटनामा रहेको एक अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय भारतीय नागरिक सैफ अलीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यहाँका सञ्चार माध्यमका अनुसार ती पुरुष कतारबाट फर्किएका र उनको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उपचारका लागि सो अस्पतालमा भर्ना भएपछि शनिबार बिहान मृत्यु भएको हो ।
भारत विहारको पटनामा कोरोनाबाट एक व्यक्तिको मृत्यु भएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा उच्च सतर्कता अपनाइएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन प्रदेश नं २ का विभिन्न जिल्लामा आज बिहानदेखि अधिकांश भन्सार नाका बन्द गरिएको छ ।
सोअन्तर्गत सप्तरीमा कूल आठमध्ये सात वटा सीमानाका, सिरहामा माडर र ठाडी नाकाबाहेक सबै सीमानाका, धनुषामा ३७ मध्ये ३५ नाका, महोत्तरीमा भिठ्ठामोड बाहेक सबै नाका, सर्लाहीमा दुई नाकाबाहेक सबै नाका, रौतहटमा एक नाकाबाहेक सबै नाका, बारामा पाँच वटा र पर्सामा वीरगञ्ज नाकाबाहेक सबै नाका बन्द गरिएको प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरि पुष्करले राससलाई बताउनुभयो ।
कोरोना भाइरसको त्रासको कारण पर्साका अधिकांश सरकारी कार्यालय सुनसान देखियो । कार्यालय खुले पनि सेवाग्रहीको अभावमा सुनसान देखिएको हो । भिडभाड हुने तथा कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखी यस्ता कार्यालय सुनसान देखिएको सम्बन्धित कार्यालयका प्रमुखले जनाएका छन् । यसैगरी कोरोना सङ्क्रमणबाट जोगिन पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले वीरगञ्जका सर्वसाधारण तथा बटुवालाई सर्जिकल मास्क वितरण गर्नुभएको छ ।
नाकामा नेपाली सेना परिचालन
भारतमा बढ्दै गएको कोभिड–१९ को सङक्रमणलाई नेपाल भित्रिनबाट रोक्न सीमाक्षेत्रमा हँुदै आएको स्वास्थ्य परीक्षणलाई थप कडा पारिएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपाल भित्रिने आगन्तुकको स्वास्थ्य परीक्षणका लागि सरकारले नेपाली सेना परिचालन गरेको छ । वीरगञ्ज नाकाबाट भित्रिने आगन्तुकको स्वास्थ्य परीक्षणसँगै साबुन पानीले हाथ धुने व्यवस्था गरिएको छ । भारतबाट आउने आगन्तुकका लागि मास्क प्रयोगलाई जिल्ला प्रशासन कर्यालय पर्साले अनिर्वाय गरेको छ । भारतबाट नेपाल भित्रिने सबै आगन्तुकको नाम, उमेरलाई सीमाक्षेत्रमा सूचीकृत गरी लगत सङ्कलन थालिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा भारतमा आज लागू गरिएको नागरिक कफ्र्यूका कारण भारतबाट वीरगञ्ज नाका प्रयोग गरी नेपाल भित्रिने अगन्तुकको सङ्ख्या भने न्यून रहेको छ । बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्ममा भारतबाट ६०० जना मात्र प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज नाकालाई प्रयोग गरी शनिबार आठ हजारभन्दा बढी व्यक्ति वीरगञ्ज नाकाबाट नेपाल भित्रिएको तुलनामा आज नेपाल आउनेको सङ्ख्या कम भएको जिल्ला प्रशासन कार्याल्यले जनाएको छ । दैनिक हजारौँ वाहनको ओहरदोहर हुने वीरगञ्ज नाका आज बिहानैदेखि सुनसान छ । सीमा क्षेत्रमा भारतबाट वाहन बिहानैदेखि प्रवेश गरेका छैनन् भने नेपालबाट भारततर्फ जाने ठूला तथा साना वाहनलाई रोकिएको छ ।



















