0Shares

२९ जेठ, काठमाडौं । टिकटकमा एउटा भाइरल स्वर सुनिन्छ- ‘हेर न त्यो केटालाई, कस्तो कालो ? कस्तो घीनलाग्दो !’ नारीको जस्तो लाग्ने यो स्वर एक २४ वर्षीय किशोर प्रनेश गौतमको हो ।

टिकटकमा भाइरल बनेका कमेडियन प्रनेश अहिले प्रहरी हिरासतमा छन् । तर, उनी टिकटकका कारण थुनिएका होइनन्, प्रहरीले उनलाई ‘वीरविक्रम २’ चलचित्रको भिडियो समीक्षा गरेवापत हिरासतमा थुनेको हो ।

धरान नगरपालिका वडा नम्बर १४ घर भइ हाल भक्तपुरको बालकोटमा बस्ने प्रनेशले चलचित्र वीरविक्रम २ को भिडियो समीक्षा गरेका थिए । उनी कमेडियन भएकाले उनले चलचित्रको समीक्षा फरक शैलीमा गरेका थिए । तर, चलचित्रका निर्देशक मिलन चाम्लिङ राई (मिलन चाम्स) ले मिम नेपालका सञ्चालक प्रनेशले चलचित्र व्यवसायमा घाटा पुर्‍याउने गरी झुठा प्रचार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले गौतमलाई हिरासतमा राखेको हो ।

प्रहरीले प्रनेशमाथि साइबर क्राइम अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

फरक शैलीको समीक्षा

सूत्रहरुका अनुसार चलचित्र निर्देशक राईले नै मिम नेपालका सञ्चालक प्रनेशलाई आफ्नो चलचित्रको समीक्षा गरिदिन भनेका थिए । प्रनेशले नितान्त फरक शैलीको भिडियो समीक्षा बनाए, जसमा यो चलचित्र झूर रहेको बताइएको छ । उनले चक्कु बोकेर मानिसहरुलाई चलचित्र राम्रो छ भन् भन्दै अभिनय गरेका छन् ।

‘वीर विक्रम २’ प्रदर्शनमा आएलगत्तै प्रनेसको भिडियो समीक्षा मिम नेपालको युट्यूव पेजमा अपलोड भएको थियो । मिम नेपाल सामाजिक सञ्जालमा निकै चलेको च्यानलमा पर्छ । फेसबुकमा यसका फलोअर्स धेरै छन् । यसका यूट्यूव सब्सक्राइबर भने हाइड गरिएको छ ।

भिडियो अपलोड भएपछि वीर विक्रम २ को निर्माण पक्षले प्रहरीमा साइबर क्राइमको उजुरी दिएको थियो । त्यसैका आधारमा प्रहरीले प्रनेसलाई पक्राउ गरेको हो । अहिले पत्रकारदेखि राजनीतिक दलका नेतासम्मले यो पक्राउको विरोध गरिरहेका छन् ।

प्रनेशको यो कमेडिन शैली विश्वभर प्रचलनमा रहेको जानकारहरुको तर्क छ । यसरी व्यंग्यात्मक समीक्षा गर्दैमा प्रनेशलाई प्रहरीले पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेको भन्दै उनको गिरफ्तारीप्रति विभिन्न ठाउँबाट आपत्ति प्रकट भइरहेको छ ।

हेर्नुहोस् प्रनेशले गरेको चलचित्र समीक्षा –

 

प्रहरी के भन्छ ?

नेपाल प्रहरीले प्रनेशलाई हत्कडी लगाएर गिरफ्तार गर्नुका साथै आँखामा पट्टी लगाइएको तस्वीर समेत सार्वजनिक गरेको छ । ‘युट्युवमार्फत फिल्म क्षेत्रको दुश्प्रचार गर्ने व्यक्ति पक्राउ गरिएको’ प्रहरीको भनाइ छ ।

गौतमलाई खोजतलास गर्ने क्रममा काठमाडौंको टेकुबाट पक्राउ गरी विद्युतीय कारोवार ऐन अन्तरगत अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको प्रहरीको भनाइ छ ।

हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको विवरण–

गिरफ्तारीको विरोध

वीर विक्रम चलचित्र राम्रो छैन भन्दै व्यंग्यात्मक शैलीमा समीक्षा गरेकै आधारमा गौतमलाई गिरफ्तार गरिनु आपत्तिजनक भएको भन्दै सर्वत्र विरोधका स्वर सुनिन थालेका छन् । कांग्रेस नेता एवं सांसद गगन थापाले गिरफ्तारीको विरोध गर्दै टि्वटमा भनेका छन्- ‘एब्सर्डिस्ट ह्युमरलाई विश्वभर सामान्य रुपमा लिइन्छ । त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ । आलोचनात्मक चेत लोकतन्त्रको मर्म हो, यसको संरक्षण गरियोस् । source: Onlinekhabar

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement