0Shares

 

चितवन, फागुन ७ — प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति चितवनले नारायणगढस्थित नारायणी नदी तटमा गंगा आरतीको आयोजना गरेको छ। लोकतन्त्रका शहीदप्रति सम्मान व्यक्त गर्दै तथा सनातन संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो।


कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आधुनिकताको नाममा समाज आफ्ना मौलिक संस्कार र परम्पराबाट विचलित हुँदै गएको उल्लेख गर्दै सनातन संस्कृतिको जगेर्ना गर्न सबैले आ–आफ्नो स्थानबाट प्रतिबद्ध हुनुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, “हाम्रा पुर्खाहरूको संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रको लाभ लक्षित वर्ग र गरिबसम्म पुग्नुपर्छ। लोकतन्त्रको मर्मअनुसार आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने समय आएको छ।”

उहाँले राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकमीहरुलाई नागरिकको पहिचान वा हैसियतका आधारमा सेवा दिने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्नुभयो । उद्योगी व्यवसायीलाई इमान्दारीपूर्वक कर तिर्न तथा नाफाको दोहोरो लेखाजोखा नगर्न चेतावनी दिँदै त्यसो गरे लोकतन्त्रप्रति घात हुने बताउनु भयो । साथै, आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलका नेताहरूलाई नागरिकलाई केवल मतदाता वा कार्यकर्ताको रूपमा नभई “मालिक” का रूपमा सम्मान गर्नुपर्ने धारणा राख्नु भयो ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले प्रजातन्त्र कहिल्यै अध्यारोतर्फ नजाओस् भन्ने कामनासहित आरती गरिएको बताउनु भयो। “इतिहासप्रति गर्व गर्ने दिनका रूपमा प्रजातन्त्र दिवसले हामीलाई नयाँ ऊर्जा दिनुपर्छ। दीप प्रज्वलनले जस्तै जीवनमा उज्यालो र विकासको मार्ग देखाओस्,” उहाँले भन्नुभयो ।


नारायणी नदी तटमा २०७६ वैशाख १ गतेदेखि नियमित रूपमा गंगा आरती हुँदै आएको छ। प्रजातन्त्र दिवसको अवसरमा आयोजित महाआरतीमा विभिन्न जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement