मेरो अनुभवमा दुई दिने भ्रमण
रेशम सापकोटा
हंस बहुउद्देश्य सहकारी संस्था लिमिटेडको अध्ययन, अवलोकन तथा पुनर्ताजगीकरण कार्यक्रम अन्तर्गत मिति २०८२ साल माघ २३ र २४ गते एक रात दुई दिनको विशेष भ्रमण सम्पन्न भयो। भरतपुरमा आधारित सहकारी संस्था माडी क्षेत्र पुगेर त्यहाँका धार्मिक स्थल, सहकारी अभ्यास, पर्यटकीय सम्भावना र सीमावर्ती क्षेत्रको यथार्थ बुझ्ने उद्देश्यसहित निस्किएको यो यात्रा औपचारिक कार्यक्रमको दायराभन्दा धेरै माथि उठेर अनुभूति, आत्ममन्थन र जीवन्त सिकाइको यात्रामा रूपान्तरण भयो।
अध्यक्ष दिनेश कुमार चुकेको संयोजकत्वमा ३८ जनाको टोली तयार भयो, जसमा सञ्चालक समिति, उपसमितिका संयोजक तथा सदस्यहरू, लेखा समितिका पदाधिकारी र कर्मचारीहरूको सक्रिय सहभागिता थियो। म स्वयं सहकारी संस्थाको सदस्य हुनुका साथै पत्रकारको हैसियतले पनि सहभागी भएकाले यो भ्रमण मलाई अझ नजिकबाट देख्ने, भोग्ने र महसुस गर्ने अवसर बन्यो।

माघ २३ गते बिहान ठीक ६ बजे सबैजना नारायणघाटस्थित सहकारी कार्यालयमा जम्मा भयौँ। बिहानको चिसो हावा, हल्का कुहिरो, अनुहारमा देखिएको उत्साह र हातमा बोकेका झोलाहरूले नै संकेत गरिरहेका थिए—यो दुई दिन सामान्य हुने छैन। ७ बजेसम्म नास्ता सकेर माडीतर्फ प्रस्थान गरियो। बस अघि बढ्नासाथ सुरुवातको औपचारिकता बिस्तारै आत्मीयतामा बदलिन थाल्यो। कोही गीत गुनगुनाउँदै थिए, कोही आपसी गफमा व्यस्त, कोही झ्यालबाहिर फैलिएको हरियाली नियाल्दै मौन थिए।
चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेपछि यात्राले अर्कै स्वाद पायो। दायाँबायाँ फैलिएको घना जंगल, अग्ला रूखहरू, चराचुरुङ्गीको निरन्तर चिरबिर र बीचबीचमा देखिने वन्यजन्तुले मनलाई शहरको हतारोबाट टाढा पुर्याइदियो। मानौँ दैनिकीको थकान त्यही जंगलमै कतै झरेर गयो ।
करिब ८:३० बजे माडी बहुउद्देश्य सहकारी संस्थामा पुगेर अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भयो। स्थानीय सहकारीका अभ्यास, व्यवस्थापन शैली, सदस्यसँगको सम्बन्ध र भोगिरहेका चुनौतीबारे खुलेर छलफल भयो। एउटै मूल्य र उद्देश्य बोकेका सहकारीहरू फरक भूगोलमा कसरी आफ्नै ढंगले अघि बढिरहेका छन् भन्ने बुझाइ आफैंमा महत्वपूर्ण सिकाइ बन्यो।

त्यसपछि माडी नगरपालिका वडा नम्बर ९ स्थित ऐतिहासिक अयोध्या धाम राम जन्मभूमि पुग्यौँ। मन्दिर परिसरमा प्रवेश गर्नेबित्तिकै वातावरण शान्त र श्रद्धामय बन्यो। दर्शन, टीका–प्रसाद र अवलोकनकै क्रममा सोही वडाका पुर्व अध्यक्ष शिवहरी सुवेदीबाट अयोध्या धामको धार्मिक, ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिबारे जानकारी प्राप्त भयो। त्यो क्षणमा अयोध्या धाम केवल मन्दिर होइन, माडीको आस्था र पहिचानको गहिरो आधार हो भन्ने अनुभूति मनमा बस्यो।
त्यसपछि पर्सा जिल्लातर्फ यात्रा अघि बढ्यो। साघुरो ग्राभेल बाटो, बसभित्र बजिरहेका गीत र बाहिर सुनिने चराचुरुङ्गीको आवाजले यात्रालाई अझ मिठो बनाइरहेको थियो। साढे १२ बजे पर्सा जिल्लाको ठोरी पुगेर प्रकाश होटल एन्ड गेस्ट हाउसमा खाना खाइयो। लामो यात्रापछिको त्यो खाना सबैका लागि स्वादिलो मात्र होइन, थकान बिर्साउने माध्यमजस्तै बन्यो। टेबल वरिपरि बसेर गफिँदै खानु, एकअर्काको प्लेटतिर हेरेर “यो त मिठो रहेछ” भन्ने प्रतिक्रिया साट्नु—यात्राका यी साना क्षणहरू अत्यन्त आत्मीय थिए।
१ बजेपछि ठोरी क्षेत्रको सीमावर्ती अवलोकन गरियो। केही साथीहरू अटो चढेर भारतीय भूमि जमुनियातर्फ जानुभयो भने केही नेपाली भूमिमै बसेर गतिविधि नियाल्दै रहनुभयो। खोला तरेर भारतीय भूमिमा प्रवेश गर्दा सुरक्षाकर्मीले कडाइका साथ परिचयपत्र जाँच गरे। तर त्यही बेला नेपाली भूमितर्फ हेर्दा भारतीय नागरिकहरू सवारीसाधनसहित बिना कुनै जाँच नेपाल प्रवेश गरिरहेको दृश्य देखियो। यो दृश्यले गर्वभन्दा बढी पीडा दियो। आफ्नै देशको सीमामा यस्तो असमान व्यवहार देख्दा राष्ट्र, सुरक्षा र आत्मसम्मानका प्रश्नहरू मनभित्र गहिरो गरी उठिरहे।
साँझ ५:३० बजे पर्सालाई विदाइ गर्दै हामी माडीतर्फ फर्कियौँ। साँझ पर्न थालेको जंगल झन् सुन्दर देखिन्थ्यो। निलगाईका बथान, कतै बदेल, कतै मृग, वनकुखुरा र चराचुरुङ्गीको आवाज—प्रकृतिले मानौँ अन्तिम क्षणसम्म पनि हामीलाई उपहार दिइरहेको थियो।

साँझ ७ बजे माडी नगरपालिका वडा नम्बर ६ लक्ष्मीबासस्थित माडी भ्यु सामुदायिक होमस्टे पुग्यौँ। त्यहाँको भव्य स्वागतले दिनभरको थकान पलभरमै बिर्साइदियो। सालको टपरीमा राखेर ल्याइएको कोदाको सेलरोटी, अचार, गुन्द्रुक र भटमास धेरैका लागि जीवनकै पहिलो स्वाद थियो। मैले पनि पहिलोपटक कोदाको सेलरोटी खाएँ—सरल, मौलिक र असाध्यै स्वादिलो। सबैले खुलेर प्रशंसा गर्दै सामुदायिक होमस्टे परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो।
हल्का नास्तापछि हंस बहुउद्देश्य सहकारी संस्थाको आन्तरिक छलफल सम्पन्न भयो। त्यसपछि माडी कला, साहित्य तथा सांस्कृतिक मञ्च परिवारले स्वागत गीतमार्फत अतिथिहरूलाई सत्कार गर्नुभयो। गीतमै माडीको हरियाली, देवभूमि, उर्वर कृषि भूमि, संस्कृति र पहिचान बगिरहेको थियो। लोकगीत र दोहोरी सुरु भएसँगै माहोल यति रमाइलो बन्यो कि केही सहभागीहरू कलाकारहरूसँगै स्टेजमा उक्लिएर गाउन र नाच्न थाले। त्यो साँझ पद, जिम्मेवारी र औपचारिकता हराएर सबैजना एकै परिवारझैँ देखिन्थे। रमाइलो गर्दै, खाना खाँदै रात १०:३० बजेतिर विश्रामतर्फ लाग्यौँ।
भोलिपल्ट बिहान ६ बजे नित्यकर्मपछि चिया पियौँ। हल्का चिसो मौसम, ताजा हावा र वरिपरिको शान्त वातावरणले दिनको सुरुवात नै सकारात्मक बनाइदियो। त्यसपछि माडी नगरपालिका वडा नम्बर ७ देवेन्द्रपुरस्थित दक्षिण कालिका, सम्मेश्वर तथा शनिधामतर्फ लाग्यौँ। कालिका मन्दिर र माथिल्लो डाँडास्थित शनिदेव मन्दिरमा सामूहिक पूजा गरियो। युवा पण्डित सुदर्शन सुवेदीले शनिदेवको महत्वबारे जानकारी गराउनुहुँदा जंगलभित्रको तुवाँलो, चिसो हावा र शान्त वातावरणले मनलाई अद्भुत शान्ति दिइरहेको थियो।
करिब ८:३० बजे टोली समेश्वरतर्फ अघि बढ्यो। शनिधाम नजिकै देवेन्द्रपुरमै मेरो पुर्ख्यौली घर भएकाले सबैजना त्यहाँ आउनुभयो। सामुहिक तस्बिरहरू खिचिए। हाल म भरतपुरमा बसोबास गरे पनि पुर्ख्यौली सम्पत्ति संरक्षण गरिएको देखेर सबैजना खुसी हुनुहुन्थ्यो। केही घरायसी कामका कारण म भने घरमै बसेँ र टोली समेश्वरतर्फ अघि बढ्यो।
समेश्वर क्षेत्रमा मन्दिर दर्शन, सीमाक्षेत्र अवलोकन, ऐतिहासिक तथा पुरातात्विक अवशेष र ४३ नम्बर पिल्लरसम्मको यात्रा सङै चराचुरुङ्गीको आवाज, सिँढी सहितको जङ्गली बाटो र दायाँबायाँ रहेका भगवानका मूर्तिहरूले यात्रा अनुभूतिमय बनाइदियो टोलि लाई । बाटो केही उकालो भएकाले सबैजना एकैचोटि पुग्न नसके पनि गन्तव्यमा भेटिँदा देखिएको सामूहिक खुसी अविस्मरणीय बन्यो।
दिउँसो करिब ३:३० बजे माडी नगरपालिका वडा नम्बर ६ स्थित पुष्प मदन बाटिकामा वनभोजको तयारी भइसकेको थियो, जसको व्यवस्थापन माडी भ्यु सामुदायिक होमस्टेले गरिरहेको थियो। जङ्गलको बीचमा रहेको यो स्थान अत्यन्त सफा, सुन्दर र शीतल थियो। फुलेका फूलहरू, हरियाली पार्क, विश्रामस्थल र त्यहाँबाट देखिने माडीका दृश्यहरूले सबैको मन लोभ्यायो।
वनभोजमा नाचगान, गीतसंगीत र खानाको मजा लिइयो। मैले त्यहाँको प्रत्यक्ष दृश्य फेसबुकमार्फत लाइभ पनि गरेँ। हंस बहुउद्देश्य सहकारी संस्थाका केही सञ्चालकहरू भरतपुरबाट सहभागी भएपछि माहोल झन् उल्लासपूर्ण बन्यो। यही अवसरमा २३ गते साँझ दोहोरीमार्फत सबैलाई रमाइलो गराएकी नारायणघाट शाखाकी सरिता क्षेत्रीलाई समितिले सम्मानस्वरूप नगद रकमले पुरस्कृत गर्यो।
साँझ ५ बजे टोलीले माडीलाई विदाइ गर्दै पुनः जङ्गल सफारीको मजा लिँदै भरतपुरतर्फ फर्कियो। गाडी अघि बढिरहँदा मन भने अझै माडीका जंगल, मन्दिर, होमस्टे र त्यहाँको अपनत्वमै अल्झिरहेको थियो।
यो भ्रमण केवल सहकारी अध्ययन वा धार्मिक दर्शनको यात्रा मात्र रहेन। यो संस्कृति, प्रकृति, श्रद्धा, राष्ट्रबोध र मानवीय सम्बन्धको सुन्दर संगम बन्यो। माडीले दिएको माया, आत्मीयता र अनुभूति लामो समयसम्म मनमा रहनेछ—यही नै यो दुई दिने यात्राको सबैभन्दा ठूलो उपलब्धि हो।













