प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्छः बादल
चितवन,कात्तिक २९-
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्ने बताउनुभएको छ । नेकपा एमाले चितवनले आज नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले सुशीला कार्की सरकारले निर्वाचन गराउन नसक्ने बताउनुभएको हो ।
उहाँले फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाएर मात्रै कार्की सरकारले निर्वाचन गर्ने बताउनुभयो । त्यसका लागि विभिन्न षड्यन्त्रहरू रचिएको उहाँको दाबी छ । संविधानले बर्जित गरेको पात्रलाई विदेशीको ईशारामा संविधान च्याँतेर प्रधानमन्त्री बनाईएको भन्दै उहाँले ठूला र स्थापित दलका नेतालाई चुनाबमा भाग लिन नरोके उनलाई पनि विदेशी शक्तिले हटाउने बताउनुभयो ।
सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा गर्ने भनेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिने गर्न रचिएको ‘हनी ट्र्यापिङ’ भएकोले ठूला र स्थापित दलहरू यस्तोमा पर्न नहुने उहाँको भनाई छ । भदौ २३ र २४ गते देश र जनता विरूद्व रचिएको षड्यन्त्रलाई वैधता दिन निर्वाचनको नाटक गर्न खोजिएको उपाध्यक्ष बादलको आरोप छ ।
‘विदेशीले नेपालका स्रोत साधनहरू कब्जा गर्न, चीन र भारत जस्ता देशमा पृथकतावादी आन्दोलन चर्काउन नेपालमा सैनिक अड्डा राखेर प्रयोग गर्न षड्यन्त्र एक कडी भदौ २३ र २४ को कलर रिभोलुसन हो,’ बादलले भन्नुभयो, ‘त्यसका लागि नेपालमा बालेन र रवि जस्ता नाममा कठपुतली जेलेन्स्कीहरू जन्माउन खोजिरहका छन् ।’
स्थापित दलहरू यो षड्यन्त्र नबुझेर विभाजित बने देश विदेशीको सैनिक अखडा हुने भन्दै निर्वाचनको भुलभुलैया मात्रै भएको उहाँको भनाइ छ । प्रचण्ड र माधव नेपालसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी १० कोठे टहरो मात्रै भएको भन्दै त्यसले उनीहरूको ओरालो यात्रा नरोकिने नेता बादलले बताउनुभयो । ‘निर्वाचनमा अस्तित्व जोगाउन मात्रै उनीहरूले १० कोठे टहरो हालेका हुन्, त्यसले पनि उनीहरूको ओरोलो यात्रा रोकिदैन, मुल घरमा फर्किए मात्रै केही जोगिन सक्छ,’ उहाँले भन्नुभयो । १० कोठे टहरो बनाएकाहरू कोर्स गरेर मेल घरमा फर्किने पार्टीले अपिल गरेको र केही फर्किएको उहाँले बताउनुभयो ।
सम्बन्धित खवर
-
नवलपरासी, मंसिर १- मौलाकाली ...
-
चितवन, कात्तिक २८ – चितवन मेडिकल ...

















