36Shares

रेशम सापकोटा — चितवन पत्र माडी, चितवन। माडी नगरपालिकाले स्थानीय साहित्य, संस्कृति, कला, धर्म, इतिहास तथा शिक्षा क्षेत्रका सर्जकहरूलाई समेटेर १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ। अग्रज पत्रकार नारायण प्रसाद सापकोटाको अध्यक्षतामा गठन गरिएको प्रतिष्ठानलाई माडी नगरपालिकाको हालै सम्पन्न नगरसभाबाट औपचारिक मान्यता प्रदान गरिएको हो।

नगरपालिकाका सूचना अधिकृत प्रविण भण्डारीका अनुसार, माडीको मौलिक सृजनालाई संस्थागत ढंगले अभिव्यक्त गर्न, संरक्षण गर्न र अध्ययन अनुसन्धानमार्फत समृद्ध बनाउने उद्देश्यसहित यो प्रतिष्ठानको संरचना तय गरिएको हो। “स्थानीय साहित्य, संस्कृति, भाषा, इतिहास र सम्पदालाई संरक्षण गर्दै सम्वर्द्धन गर्ने दीर्घकालीन लक्ष्यसहित प्रतिष्ठानको स्थापना गरिएको हो,” भण्डारीले भन्नुभयो। अध्यक्ष सापकोटासँगै साहित्यकार तथा शिक्षक चन्द्रमणि महतो उपाध्यक्षमा चयन हुनुभएको छ। अन्य सदस्यहरूमा थारु लोककलाकार हिरामति गुरौ, रंगकर्मी सुमन तिमिल्सिना, विचारक सत्यप्रकाश पौडेल, थारु लोककलाकार इन्द्रादेवी महतो, कवि एवं शिक्षक बिपिन पाठक, कलाकार तथा शिक्षक नारायण ‘आभाष’ दुवे, लोक कलाकार प्रेमकुमार बिष्ट, लोक गायिका अञ्जु तामाङ, शिक्षक एवं गजलकार ईन्दिरा दाहाल, धार्मिक अध्येता पण्डित सुदर्शन सुवेदी, मूर्तिकार सूर्य के.सी. ‘मध्यरात’, सांस्कृतिक अभियन्ता पार्वती बि.क. र दुरा संस्कृति तथा पर्यटन जानकार श्याम दुरा रहनुभएको छ।

 

त्यस्तै, एक जना जनप्रतिनिधि विषयगत संयोजकका रूपमा पदेन सदस्य हुने र माडी नगरपालिकाले तोकेको एक जना कर्मचारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ। प्रतिष्ठानले अनुसन्धान, अभिलेखीकरण, मौखिक परम्परा, पुरातत्त्व, लोकगीत-संगीत, ललितकला, दर्शन, सामाजिक विज्ञान र ज्ञान-विज्ञानजस्ता बहुविध विषयमा सृजनात्मक र संरचनात्मक कामहरू गर्नेछ।

यसका साथै धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षणमा समेत यसले भूमिका खेल्ने अपेक्षा गरिएको छ। माडी नगरपालिकाका अनुसार, यो प्रतिष्ठान माडीको बौद्धिक पहिचान निर्माणका लागि ऐतिहासिक पाटो सावित हुनेछ। पहिलोपटक प्राज्ञिक संरचना निर्माण गर्दै माडीले विभिन्न विधाका स्रष्टाहरूलाई एउटै थलोमा ल्याउनु नगरको समग्र बौद्धिक विकासतर्फको महत्त्वपूर्ण पाइला मानिएको छ।

36Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement