0Shares

रेशम सापकोटा
माडी, चितवन

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा माडीमा चेतनामूलक प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ।
“स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता स् लागूऔषध दुरुपयोगविरुद्धको ऐक्यवद्धता” भन्ने मूल नाराका साथ माडी नगरपालिकाको आयोजनामा तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उद्योग वाणिज्य संघ माडी, माडी जेसिज, रेडक्रस तथा अवसर रिह्याबिलिटेशन सेन्टर रतनीको सहकार्यमा प्रभातफेरि निकालिएको हो।
प्रभातफेरिमा सहभागीहरूले “लागूऔषध होइन, जीवन रोजौं”,” “आजको सुधार, भोलिको उज्यालो”,” युवाको ऊर्जा राष्ट्र निर्माणमा” जस्ता चेतनामूलक नारासहितका प्लेकार्डहरू बोकेका थिए। उनीहरूले बसन्तपुर बजार परिक्रमा गर्दै बसन्तपुर चोकमा कोणसभासमेत गरेका थिए।

कार्यक्रममा माडी नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको  पनि सक्रिय सहभागिता देखिएको थियो।

कोणसभामा बोल्दै माडी नगरपालिकाका मेयर ताराकाजी महतले माडी क्षेत्रमा लागूऔषधको बढ्दो प्रयोगले युवामाझ गम्भीर असर पारेको भन्दै यसको नियन्त्रणका लागि सामूहिक अभियान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। “युवाहरू गलत बाटोमा जाँदै छन्,” उहाँले भन्नुभयो, “समाजमा चेतना र सहकार्यको विकास बिना समाधान सम्भव छैन।”

 

सामाजिक अभियन्ता भागीरथ बस्यालले भौतिक विकाससँगै चेतनाको विकास हुनुपर्नेमा जोड दिनुभयो। जबसम्म लागूऔषधको लतबाट युवालाई जोगाउन सकिंदैन, तबसम्म समृद्धि सम्भव नभएको उहाँको भनाई थियो ।

संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रअनुसार हरेक वर्ष जुन २६ मा मनाइने यो दिवसको उद्देश्य लागूऔषधको असर र अवैध कारोबारको विरुद्ध विश्वभर जनचेतना फैलाउनु हो। प्रभातफेरि कार्यक्रमले स्थानीय तह, सुरक्षाकर्मी, सामाजिक संस्था तथा समुदायको सहभागितामार्फत लागूऔषधविरुद्धको साझा संकल्प प्रस्तुत गरेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement