खोर सुधारसंगै बाघबाट जोगियो बाख्रा, व्यवसायीक रुपमा अगाडी बढ्दै स्थानिय
शान्ता अधिकारी, माडी । निलो टिनले छाएको सानो चिटिक्कको खोर । हातमा घाँस छ । जेठ महिनाको गर्मि । बाख्रालाई घाँस राखेर पसिना पुच्छदै अल्लि वर आईन् । उनले बाख्रा पाल्न थालेको वर्षौ भयो । तर पक्की खोर नभएका कारण उनको बाख्रालाई चितुवाले हानेर घाईते बनायो । सामान्य गोठमा बाँधिएका बाख्रा जुनसुकै बेला बाघको आहारा बन्नसक्छन् ।
माडी नगरपालिका वडा नम्वर ६ स्याउलीकी जलश्री गुरु∙ गत फागुन महिनाको एक रात सम्झदै भन्छिन्, “पहिल्यैबाट किसानी मान्छे हो । बाख्रा पालिन्थ्यो । खोर खरले छाएको होच्चो थियो । पाँचवटा बाख्रा थिए । राति आएर चितुवाले माउ नै हिकाई दियो । मुलि माउलाई चितुवाले मार्न त सकेन । तर मलाई बचाउन धेरै गाह्रो भयो ।” बाख्रालाई आफुसंगै सुताएर उनले बचाईन । यस्ता कयौ रात छन् । उनले आफुलाई बाख्रासंगै सुताएको । कयौ रात पनि छन् उनी गोठ बाख्रासंग नै सुतेको । अहिले उनी मस्तसंग निदाउन पाएकी छन् । मध्यरातमा पनि राम्रोसंग निदाउन नपाएको वर्षौ भएको थियो ।
सुधारिएको पक्की खोरमा बाख्रा राख्न थालेपछि बाघले खाला भन्ने उनको पिर पनि हटेको छ । उनी भन्छिन्, “यो खोरले बचाँउने रहेछ । बलियो रहेछ । यो जालि थपियो । टिन थपियो । टाट थपियो । छानोबाट चितुवा जाने रहेछ । अग्लो पनि छ । ” बाख्रा बाघले तानेर लगेको दिन सम्झदै जलश्री भन्छिन्, “यो गाउँलाई चारैतर्फ निकुञ्जले घेरेको छ। जंगलको छेउमा नै घर र बाख्राको खोर छ । यहाँ वन्यजन्तुबाट धेरै डर छ। जंगली हात्ती, बाघ, चितुवा, बँदेल कतिबेला आउछ थाहा नै हुदैन ।” उनी थप्छीन्, “हात्ती, बँदेल, मृगको बथान पसे भने बाली केही बाँकी राख्दैनन्। बाघ पस्यो भने पशु चौपाय सोत्तर पारिहाल्छ।” उनको खोरमा बाख्रा अहिले पाँच वटा छन्। पक्की खोरभित्र बाख्रा हुलेपछि उनको मन ढुक्क हुन्छ । घर खर्च बाख्रा बेचेर पुगिहाल्छ। अब शरीरले सकिन्जेल बाख्रा पालेरै खान्छु।’ उनले भनिन् ।

यस माडीको सोमेश्वर क्षेत्रका अधिकांशको आयआर्जनको प्रमुख स्रोत बाख्रा पालन हो। गत वर्ष मात्रै यो गाँउबाट १९ वटा बाख्रा बाघले लग्यो । यसरी घर खर्च चलाउनको लागि पालिएका बाख्रा बाघको आहार हुदाँ यहाँका अधिंकाश महिलाको जीवन स्थर माथि उठ्न सकेको छैन ।
निकुञ्ज आसपासका मानिसहरु त्यसमा पनि महिलाहरु निकुञ्जमा जानुपर्ने बाध्यता छ । मानविय र पशुचौपायको क्षतिलाई कसरी कम गर्न सकिन्छ भनेर निकुञ्ज लागेको छ । मध्यवर्तीका जनताको जिउ धनको सुरक्षा गर्ने योजनाका साथ सुधारिएको खोर निर्माण गरिएको छ । यस खोरको निर्माणसंगै बाघ, चितुवा लगाएत जंगली जनावरका कारण बाख्रा माथि हुने आक्रमण कम भएको छ । पक्की खोर बनेसंगै स्थानीयको अनुहारमा खुसी छाएको छ । बाख्रा बाघको मुखबाट बचेको छ ।
तराई भू–परिधी क्लष्टर इन्चार्ज प्रेम पौडेलले मध्यवर्तीका उपभोक्ता समितिलाई लक्षित गरेर एकीकृत बाघ बासस्थान संरक्षण कार्यक्रम सञ्चालन गरिएको बताए। उनी सोमेश्वर क्षेत्रमा बाघ र चितुवाको जोखिम बढी भएको बताउँछन्। यो जोखिम न्यूनिकरण गर्न यो आर्थिक वर्षमा ६५ र गत आर्थिक वर्षमा ३६ गरी एक सय एक बटा बाख्राको खोर निर्माण गरिएको बताए ।
बाख्रा पालनलाई व्यवस्थित बनाउन र यहाँका स्थानियको आर्थिक अवस्था बलियो बनाउनका लागि तराई भू–परिधी कार्यक्रमले पक्की खोर बनाउन सहयोग गरेको छ । यसले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकाका परिवार, घाइतेका परिवारलाई जिविकोपार्जनमा सघाउने, जंगल र बस्तीको सीमानामा मेसजाली लगाउने काममा पनि उक्त संस्थाले सघाउँदै आएको तराई भू परिधी कार्यक्रमका क्लष्टर इन्चार्ज पौडेल बताउछँन्।

खोर निर्माणसंगै स्थानियले राम्रो फाईदा लिन सकेका छन् । वन्यजन्तुबाट बाख्रा जोगाउन सकिएको छ । थुनेर पाल्दा व्यवसायीक रुपमा अगाडी लैजान सकिएको छ । साथै बाख्रा चराउन र घाँस काट्न जंगल जादा जंगली जनावरको आक्रमण पर्ने क्रम पनि कम हुदै गएको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना बताउँछन् ।
माडीमा जंगलबाट बस्ती छिरेर वन्यजन्तुले आतंक मच्चाउने गर्दछ । वन्यजन्तुले अन्नबाली नष्ट गर्ने, वस्तुभाउ मार्ने, मानिसलाई आक्रमण गर्छ । वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु समेत हुने गरेको छ । चितवनमा १० महिनामा जंगली जनावरको आक्रमणबाट सात जनको मृत्यु भयो भने २७ जना घाइते भएका छन् । जसमध्ये १५ सामान्य र १२ जना गम्भीर घाइते भएका हुन् । जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो । विभिन्न समयमा जंगली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो । घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चारजना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिए। त्यस्तै गौरी गाईको आक्रमणबाट एकजना घाइते भएको उनी बताउँछन् ।



















