0Shares

सौराहा,माघ २५-

राष्ट्रिय थारु कलाकार मञ्चको पहिलो महाधिवेशन चितवनको सौराहामा हुने भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २७ र २८ गते महाधिवेशन गर्न लागेको जनाएको छ ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनसंगै थारु संस्कार संस्कृति, पहिचान र परिकारलाई प्रवद्र्धन गर्ने मञ्चका अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिनुभयो । पाँच वर्षअघि गठन भएको मञ्चले थारु कलाकारहरुको क्षमता अभिबृद्धि, पेशागत सुरक्षामा क्रियाशिल रहेको उहाँले बताउनुभयो । ‘पाँच वर्षअघि गठन भएको यो हाम्रो संगठन थारु कलाकारहरुको क्षमता बढाउन, पेशाको संरक्षण गर्न क्रियाशिल छ । साथै थारु भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय छौं,’ अध्यक्ष चौधरीले भन्नुभयो ।

महाधिवेनमा नयाँ नेतृत्व चयनसंगै थारु समुदायको परम्परागत संस्कृति तथा खानाको संरक्षणको लागि बहस गरिने छ । महाधिवेनमा २६ जिल्लाका १३० जना प्रतिनिधि र २६ जना परिवेक्षकको भाग लिनेछन् । महाधिवेशनमा भने ४ हजार बढी कलाकार तथा थारु समुदायका अगुवाहरु विभिन्न जिल्लाबाट सौराहा आउने छन् ।

अधिवेशनको उद्घाटनमा थारु पौराणिक लोक नाच, लोक गीत, बाजासहित थारु पहिरन र गहनासमेत लगाएका ५० वटा झाँकी प्रस्तुत गरिने चौधरीले बताउनुभयो । दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा क¥या चोल्या, उज्जर गोन्यामा सजिएर थारु मन्द्रा, मञ्जौराको तालमा नाचिने सख्या नाच, चितवनको लठ्ठी नाच, उदयपुर, सप्तरी, सिराहा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापामा प्रचलित धुमरा चोरखेली नाच अधिवेशनमा प्रस्तुत हुनेछन् ।

थारुका आधुनिक र व्यवसायिक सिर्जनाका साथै प्राचीन गीत, संगित र नृत्य नाटकहरुलाई पनि प्रचार गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । थारु समुदायमा प्राचिन लोकभाका र लोकगीतहरु हुर्डुङ्ग्वा, झुम्रा, संख्या, सज्ना, मैना, मांगर, धमरा, धुम्रु, मघौटा, छोक्रा, महोत्या, विरहैन, चाँचैर, बाह्रमासा, तीनमासा, दिन नचवा, अध्यरत्याहरु छन् । त्यसै गरी थरी थरीका लोकनृत्यहरु छन् ।

लोकबाजाहरु मन्द्रा, मन्जौरा, झालर, झाली, कस्तार, चत्कौली, बस्या, घुघ्ना, घुंघुरु, डफ, डफ्ली, मृदंग, हर्मोनियम, बोसलीको पनि संरक्षण आवश्यक भएको अध्यक्ष चौधरीले बताउनुभयो । यस्तै थारु समुदायका विशेष खाना ढिक्री, घोङ्गी, खिचरी, तिलको लड्डु, अन्डीको भात, चिच्चर, भक्का, केराको तरुवा, खँरिया, बरिया, अन्डीको रोटी, झझरा रोटी, सिद्रा माछा, बङ्गुरको मासु, हाँसको मासु, बयरको चट्नी, अचार अधिवेशनमा उपलब्ध गराउने अध्यक्ष चौधरीले बताउनुभयो ।

राष्ट्रिय थारु कलाकार मञ्चको नेपालका २६ जिल्लामा संगठन भएको महासचिव रोशन रत्गैंयाले जानकारी दिनुभयो । महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने उहाँले बताउनुभयो । नेपालमा ७७० जना थारु समुदायका कलाकारहरु रहेको अनुमान रहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement