‘तामा-तुलसी’ छोएर एनआरएनएको चुनावमा मत दिने प्रतिवद्द्ता
नागोया / जापान
निर्वाचनमा गोप्य मतदानमार्फत आफूलाई मन परेका उम्मेदवारलाई मत दिने चलन छ । गोप्य मत कसले कसलाई दियो भन्ने कुरा कसैलाई थाहा हुने कुरा पनि भएन । तर आसन्न एनआरएनएको निर्वाचनमा कसैले कसैलाई घात नगरोस् भनेर जापानको नागोयामा उम्मेदवारहरुबीच नै ‘ तामा-तुलसी’ छोएर कसम खादै एकअर्कालाई सहयोग गर्ने प्रतिवद्द्ता भएको छ ।
पटक पटक एनआरएनएको निर्वाचनमा आफ्नै साथीहरुबीचमा नै ‘अन्तर्घात’ व्यहोरेको नागोयाले यसपटक उम्मेदवारहरुलाई नै “तामा तुलसी’ छुवाएर कसम खुवाउदै एकापसमा अन्तर्घात नगर्नुस भनेर कसम खुवाएको हो ।
तामा तुलसीलाई साक्षी राखेर कसम खाएपछी झुट बोल्नु हुन्न र भने अनुसार नगरे पाप लाग्छ भन्ने धार्मिक मान्यता छ ।
यतिबेला एनआरएनए अन्तराष्ट्रिय कार्यसमितिका लागि देशविदेशमा चुनावी माहोल तातेको छ । उम्मेदवारहरु एकापसमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने र चुनावी एजेण्डा सबैजा सामू प्रस्तुत गरिरहेका छन् ।
जापानको नागोयाबाट एनआरएनए आइसिसीमा तीनजनाले उम्मेदवारी दिने भएका छन् ।
उपाध्यक्षमा गोविन्द श्रेष्ठ, सचिवमा पारसमणी पोखरेल्र र एशिया प्यासिफिक उप संयोजकमा दीपक कार्कीले आइसीसीमा उम्मेदवारी परेको हो ।
एनआरएनए आईसिसिका तीन उमेदवारलाई शुभकामना सहित नेपाल जानका लागि आइतबार बिदाई कार्यक्रम पनि आयोजना गरियो ।
कार्यक्रम एनआरएनए क्षेत्रीय समिति नागोयाले आयोजना गरेको हो । सोही कार्यक्रमम्मा तामा तुलसीलाई साक्षी बनाइएको हो ।
जापानको नागोया शहरमा रहदैं आएका आईसिसिको उपाध्यक्ष पदका उमेदवार गोविन्द श्रेष्ठले कार्यक्रममा आफूले थप रचनात्मक र अधुरा कामलाई पूरा गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको बताए । ,श्रेष्ठ आइसीसीको वर्तमान कार्यसमितिमा पनि उपाध्यक्ष पदमा छन् ।
यसैगरी सचिव पदका उम्मेद्वार पारसमणि पोखरेलले एनआरएनएलाई वास्तविक सामाजिक अभियन्ताहरुको सस्था बनाउन आफूले उम्मेदवारी दिन लागेको बताए । पोखरेल हाल एशिया प्यासिफिकका संयोजक समेत हुन् ।
एशिया प्यासिफिकका उप- संयोजक पदमा उम्मेदवारी दिएका दीपक कार्कीले आफ्नो अभियानलाई अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्नका लागि उम्मेदवारी दिन लागेको बताए । पदमा रहेपनि नरहेपनी आफूले एनआरएनको अभियानमा सकृयताका साथ काम गरेको अनुभव सुनाउदै उनले अबका दिनमा पनि काम गर्ने बताए ।
कार्यक्रममा उमेदवारहरुको प्रतिबद्धतामाथि उपस्थित सहभागीले जिज्ञासा राखेका थिए।
कार्यक्रममा नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपाने , गल्कोट समाजका निवर्तमान अध्यक्ष यम खत्री, एनआरएनए जापानका निर्वतमान सचिव श्याम शितल , निर्वतमान उपाध्यक्ष राजकुमार अधिकारी, एनआरएनए जापानका पूर्व उपाध्यक्ष डिलाराम खरेल , जन प्रगतिशिल मञ्च नागोयाका अध्यक्ष हरि दोङ तमाङ्ग , नव निर्वाचित एनआरएनए आईसिसि सदस्य विष्णुप्रसाद घिमिरे , प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिका सदस्य डा सरोज कँडेल, मितेरी नेपालका अध्यक्ष चिरञ्जीवी सिग्देल, तोकाई वाटिका ईन्टरनेशनल स्कूलका प्रमुख सञ्चालक डा सुदिप अधिकारी लगायतले शुभ कामना व्यक्त गरेका थिए।
उक्त कार्यक्रमको सञ्चालन एनआरएनए क्षेत्रीय समिति नागोयाका सचिव प्रतिक कार्कीले गरेका थिए भने कार्यक्रमको औचित्यमाथि उपाध्यक्ष यमन देवानले प्रकाश पारेका थिए।
कार्यकमको अध्यक्षता भने क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले गरेका थिए।




















