0Shares

भरतपुर,साउन १३-

चितवनको भरतपुरमा सञ्चालन गरिएको शनिवारे मेलामा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ । स्थानीय उत्पादनहरु एकै ठाँउमा किन्न पाइने भएपछि मेलामा उपभोक्ताको आकर्षण बढेको हो । चितवन उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबद्र्धन गर्नेगरी चितवन प्रर्दशनी केन्द्रमा शनिबारे मेला सञ्चालन गरिरहेको छ । भरतपुर १२ बाट मेला अबलोकनका लागि आउनुभएका शिव पौडेलले मेलामा स्थानिय उत्पादन किन्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वदेशमै उत्पादन भएका अर्गानिक बस्तुहरु यहाँ किन्न पाइयो, यहाँ अझै धेरै दैनिक उपभोग्य बस्तुहरु बिक्रीका लागि राख्नुपर्छ ।’ उपभोक्ता मात्र होइन यहाँ स्टल राख्नुभएका कृषक र व्यवसायीहरु पनि उत्साहित हुनुभएको छ ।

कृषक शम्भु सुवेदी मेलामा उपभोक्ताको आकर्षणले कृषि उत्पादनमा झन् उत्साहित बनाएको बताउनुहुन्छ । उहाँले अर्गानिक तरकारी र फलफुलमा उपभोक्ताको आकर्षण रहेको बताउनुभयो । नियमित मेला आयोजना भए किसानले उत्पादन गरेका बस्तुहरु बारिमै कुहिने अवस्थाको अन्त्य हुने उहाँको भनाई छ ।

चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले शनिवारे मेला अपेक्षा गरेभन्दा राम्रो भएको बताउनुभयो । उहाँले मेलामा दोस्रो दिनपनि विहानैदेखि भीड लागेको भन्दै यसलाई निरन्तरता दिने बताउनुभयो । गत शनिवार मेलामा ४० वटा स्टल राखिएकोमा आज १२ वटा थपेर ५२ पु¥याइएको छ । मेलामा नयाँ उत्पादनलाई थप्दै १ सय स्टल पु¥याउने लक्ष्य लिइएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । मेलामा स्थानीय तहको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका प्रदर्शनी कक्ष रहेको उहाँले बताउनुभयो । चितवन प्रदर्शनी केन्द्र परिसरमा मेलाको आयोजना गरिएको छ । मेला हरेक शनिबार बिहान ६ देखि ११ बजेसम्म सोही ठाउँमा लाग्छ ।

प्रदर्शनीमा स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकार, घरेलु हस्तकलाका सामान, स्वदेशमा नै उत्पादित ताजा फलफूल तथा तरकारी, चिउरी, तामा कुसुम न्यरो, लरकैया, मह, गिट्ठा, भ्याकुर, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारसहितका अन्य सामग्री राखिएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement