0Shares

रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष विष्णु पौडेललाई चुनाव लड्न सजिलो भएको छ।

 

गत वैशाखमा भएको स्थानीय चुनावमा रूपन्देही २ का पालिकाहरूमा वडाध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन दुई हजारभन्दा बढी मतले अघि देखिन्छ।

 

२३ वडा रहेको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले १६ वडा जितेको थियो। ६ वडामा एमालेले जित्दा एउटामा स्वतन्त्रले जितेका थिए।

 

यहाँ नेकपा एमालेबाट वडायक्षका उम्मेदवारहरूले ३३ हजार १ सय ८७ मत ल्याएका थिए भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसबाट ३४ हजार ९ सय ५९ मत, माओवादी केन्द्रबाट तीन हजार एक सय ८८, नेकपा एकीकृत समाजवादीले एक हजार तीन सय ८२ मत ल्याएका थिए। यो क्षेत्रमा राप्रपाले तीन हजार नौ सय २० मत ल्याएको थियो।

राप्रपा, एमाले र जसपा गर्दा यो क्षेत्रमा ३७ हजार दुई सय ९० मत हुन्छ भने सत्ता गठबन्धनको ३९ हजार ६ सय ८३ मत पुग्छ। दुई हजार तीन सय ९३ मतान्तर भएको यो क्षेत्रमा सत्ता गठबन्धन उम्मेदवारविहीन हुने भएको छ।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गुरूङले यहाँ टिकट पाएका थिए।

अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो।

विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार बेलुकी निकालेको विज्ञप्तिमा गुरूङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।

गुरुङसहित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जित विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो।

गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो।

गुरुङहरूको उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख, चैत १५ गते २४ लाख, चैत ३० गते ५४ लाख, २०७४ वैशाख १५ गते २५ लाख, वैशाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रूपैयाँ गरी ७ वटा चेक दिएकामा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरूविरूद्ध उजुरी परेको थियो।

यस्तै रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा. निकोलस) विरूद्ध निर्वाचन कार्यालयमा दुइटा उजुरी दर्ता भएको थियो।

भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका हिमाल बस्यालको पनि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड ‘ङ’ बमोजिम उम्मेदवार बन्न पाउने योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरिएको सहायक निर्वाचन अधिकृत गौतमले बताए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement