शकुन्तलाको सम्झनामा श्रद्धाञ्जलीसहित जनप्रतिनिधिलाई बधाइ र सम्मान
भरतपुर । गएको दुई महिनाअघि देखिनै भरतपुरको ७ नम्बर वडामा पर्ने सनराइज र १० नम्बर वडामा पर्ने नमूना टोलका महिलाहरुले संगठित भएर आफ्नो क्षेत्रमा महिलालक्षित सामाजिक अभियान चलाउने निधो गरे । नाम पनि जुराए, ओम कारेश्वर आमा समूह । तर दर्ता भइसकेको थिएन ।
महिलाहरुको यो अभियानमा सक्रिय सहभागि भएर काम गरेकी थिईन्, शकुन्तला पौडेलले पनि । तर यही बीचमा शकुन्तलाको असामयिक निधन भएपछि यो अभियान पनि रोकियो । उनको भरतपुरस्थित शिखर इन्सुरेन्सको कार्यालयमा कार्यरत रहेकै बखत करेण्ट लागेर निधन भएको थियो । भरतपुरमा आएको हावाहुरीले बिगारेको इन्सुरेन्सको बोर्ड मिलाउने क्रममा करेण्ट लागेर शकुन्तलाको जेठ ८ गते निधन भएको हो ।
आफ्नो टोलमा रहेका आमा दिदीबहिनीलाई संगठित गरेर सामाजिक कार्यमा अग्रसर हुने यो समूहलाई महानगरको कुन वडामा गएर दर्ता गर्ने भन्ने निधो पनि थिएन । एक्कासी चुनाव आइहाल्यो । मतगणना भइसकेपछि क्रमैसँग जनप्रतिनिधिहरु निर्वाचित हुन थाले । यस्तैमा ७ र १० मा पनि निर्वाचित जनप्रतिनिधिको नाम आयो । अन्ततः ७ या १० नम्बर वडा कार्यालयमा जता गएर पनि उनीहरुले आमा समूहलाई दर्ता गर्ने निधो गरे ।
आफ्नो निधन हुने दिनको बिहानसम्म पनि शकुन्तला लगायतका टोलका दिदीबहिनीहरु यसैको कार्ययोजना बनाउनमा व्यस्त थिए । यस्तैमा उनीहरुबीच अर्को कार्यक्रम तय गर्ने पनि निधो भयो । कार्यक्रम थियो, आफ्ना जनप्रतिनिधिलाई टोलमै ल्याएर सम्मान गर्ने र बधाइ दिने । नवनिर्वाचित वडाध्यक्षहरु परमेश्वर खनाल र राजेन्द्रमणि काफ्लेसँग समय लिएर कार्यक्रमको तय गर्ने जिम्मा पाईन्, शकुन्तलाले । उनीहरुले ८ गते दिउँसो चार बजे यही विषयमा छलफल गर्ने भनि कार्यक्रम पनि तय गरे । तर यो छलफल गर्नुअघि नै शकुन्तलाको निधन भयो । त्यस दिन उनीसँगै रहेकी छिमेकी इन्द्रकला भुषाल त्यो दुःखद् घटना सम्झँदै भन्छिन्–‘त्यो दिन हामी दुबैजना भएर वडाका जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रमको तयारी गर्दैथियौँ । उहाँ अफिस गएर आउँछु भन्नुभयो । तर त्यो दुःखद घटनापछि उहाँ फर्केर आउनुभएन ।’
यहाँका महिलाहरुबीच आफ्नो सहयात्री चेली गुमाउनुको पीडा त छँदैथियो । यद्दपि हुने कुरालाई कसैले टारेर पनि टार्न सक्ने कुरा थिएन । फेरि पनि शकुन्तलाको सपनालाई साकार पार्न यहाँका महिलाहरु पुनः जुर्मुराएका छन् । जसको शुरुवात उनीहरुले पहिले नै तय भइसकेको जनप्रतिनिधिहरुलाई बधाइ र सम्मान कार्यक्रम आज शनिबार सम्पन्न गरे ।
कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाललले यस वडाको विकास निर्माणमा आफ्रनो पूर्ण साथ र सहयोग रहने बचतबद्धता व्यक्त गरे । विकास निर्माण र क्षमता अभिवृद्धिका कुरालाई अभियानमा रुपमा लैजाने पनि उनले बताए । साथमा शकुन्तलाको बच्चाहरुको शिक्षादिक्षामा वडाको तर्फबाट सक्दो सहयोग गर्न पनि आफूहरु प्रतिवद्ध रहेको जानकारी दिए । कार्यक्रममा महिला सदस्य सूर्यबदना हमालले वडाको विकास निर्माणमा सबैको साथ र सहयोगले काम गर्ने बताउँदै महिलाहरुले चालेको अभियानमा आफ्नो साथ रहने बताईन् ।
कार्यक्रम ओम कारेश्वर आमा समूहकी अध्यक्ष चिजा रानाभाटको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण कृपा अधिकारीबाट भएको थियो । कार्यक्रममा शकुन्तलालाई श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो ।
अब भने यस आमा समूहलाई आधिकारिक निकायमा दर्ता गरेर शकुन्तलाको सम्झनामा विभिन्न सामाजिक अभियान चलाउने उनीहरुको धोको छ । शकुन्तलाको १३ औँ दिनको पूण्यतिथिमा भएको रक्तदान कार्यक्रममा ४३ पोइण्ट रगत सँकलन गरेर एउटा सामाजिक अभियानको काम भने उनीहरुले गरिसकेका छन् ।

















