812Shares

भरतपुर । आफ्नो जीवनको उर्जाशील समय सेवाभाव मै विताएकी कल्पनाको फेरि एउटा धोको छ, जनप्रतिनिधि भएर सेवा गर्ने । कल्पनाले भरतपुरमा महिला स्वास्थ्य स्वयम्सेविका भएर काम गरेकै ३० वर्ष भयो । अब यही कर्मलाई अर्को उचाई दिन आफ्नो वडामा जनप्रतिनिधि भएर काम गर्ने उहाँको इच्छा छ ।
अहिलेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको वडा नम्बर ७ का लागि महिला सदस्यको उम्मेदवार बनाएर उहाँलाई नेकपा एमालेले मैदानमा उतारेको छ । आफ्नो निर्वाचन चिन्ह सूर्य जस्तै चम्किलो अनुहार लिएर घरदैलो गर्ने क्रममा भेटिनुभएकी कल्पनाले भन्नुभयो–‘समाजसेवा र राजनीति दुबै सेवा हो । ३० वर्ष यही वडामा स्वयम्सेवी भएर काम गर्दाको परिणामले यहाँका वडाबासीहरु मेरो उम्मेदवारीबाट खुशी भएको पाएँ ।’
हुन पनि लामो समय महिला स्वास्थ्य स्वयम्सेविका भएर काम गर्दाको परिणामले कल्पनालाई यस वडामा थप परिचय गराइराख्न जरुरी परेन । स्वयम्सेविका भएर घर घर डुलेको अनुभव अझै ताजा छ, उहाँको मानसपटलमा । वर्षौअघि विभिन्न खाले खोप लाएका र खाएकाहरु अहिले निर्वाचनमा भाग लिँदैछन् । उनीहरुका परिवार त वर्षौदेखि मतदानमा भाग लिदै आएका छन् । यसले पनि उहाँलाई आफ्नो मतदाता चिन्न सजिलो बनाइदियो । अनि उहाँको उम्मेदवारीलाई पनि आम मतदाताले सहजै स्वीकारिदिए ।
यसैले त कल्पनाको सबैलाई अनुरोध छ–‘यतिञ्जेल स्वयम्सेविका भएर सेवा गरेँ । अब फेरि आफ्नै वडामा जनप्रतिनिधि भएर सेवा गर्ने मौका दिनुस् ।’
कल्पनाको परिवार २०१३ सालमा काभ्रे जिल्लाबाट बसाइ सराइ गरी चितवन आएको हो । २०४९ सालबाट सुरजबहादुर थापासँग वैवाहिक जीवन शुरु गर्नुभएकी कल्पना दुई सन्तानकी आमा हुनुहुन्छ ।
सामाजिक सेवाबाट ठ्याक्कै राजनीतिमा आउन त कठिन नै छ । उमेरले ४७ वर्ष लागेपनि पहिलोपटक जनप्रतिनिधिका लागि उम्मेदवार बन्नुभएकी कल्पनाको राजनीतिक यात्रा भने २०४६ सालको प्रजातन्त्र स्थापनासँगै विद्यार्थी राजनीतिबाट सुरु भएको हो । त्यतिबेला अनेरास्ववियूको सदस्यता लिएर उहाँले राजनीतिक यात्रा सुरु भयो । २०५१ सालमा उहाँले नेकपा (एमाले)को सदस्यता लिनुभयो ।
वडामा राजनीतिक नेता भन्दा पनि सामाजिक क्षेत्रकी अगुवाको रुपमा परिचय बनाउनुभएकी कल्पना थापा भरतपुरमा अनुभवी समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । यसैले पनि भरतपुर महानगरपालिका वडा नं. ७ निवासी कल्पनालाई एमालेले सोही वडाको महिला सदस्य पदमा उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उतारेको हो ।
एमालेको राम्रो जनाधार भएको वडा नं. ७ मा अघिल्लो पटक अर्थात् २०७४ को स्थानीय निर्वाचनमा एमालेले वडाअध्यक्ष पदमा निर्वाचन जितेको थियो । तर अन्य पदहरुमा भने नेपाली काँग्रेसका सदस्यहरु निर्वाचित भए । यसैले ७ नम्बर वडाको महिला सदस्यमा निर्वाचित हुन उहाँलाई चुनौति छ । तर यो चुनौतिलाई पन्छाएर जीत हासिल गरी अवसरमा बदल्ने सम्भावना पनि उत्तिकै छ । यद्दपि आफूले निर्वाचन जित्ने कुरामा कुनै शंका नरहेको कल्पनाको भनाई छ । उहाँ भन्नुहुन्छ–‘मैले केहि चुनौति देखेकी छैन । सनत लामिछानेको नेतृत्वमा हामीले यस वडामा सजिलै निर्वाचन जित्छौँ ।’
भरतपुर महानगरपालिकाको वडा नम्बर ७ शिक्षा, स्वास्थ्य र नयाँ वस्ती निर्माणको ढंगले आवासीय वडाको रुपमा परिचित छ । महिला स्वास्थ्य स्वयम्सेवी भएर डुल्दा यस वडाबारे धेरै जानकारी आफूले पाएकाले वडाको विकासमा सामूहिक ढंगले लाग्ने उहाँको तयारी छ । कल्पना भन्नुहुन्छ–‘ सबैको सल्लाह र सहयोगमा हामीले सारेका चुनावी नारा अनुसार यस वडालाई सुन्दर, व्यवस्थित र प्रविधिमैत्री बनाउँछौ ।’
स्वास्थ्यका क्षेत्रमा काम गरेकै कारण यसैलाई सदुपयोग गर्दै वडाबासीको घरदैलोमा पुगि उनीहरुका माग सम्बोधन गर्ने तयारीमा उहाँ हुनुहुन्छ ।
यसअघि जनप्रतिनिधिको रुपमा नभएपनि वडाको विकास निर्माण र गतिविधिमा कल्पना राम्रोसँग परिचित हुनुहुन्छ । विभिन्न गतिविधिमार्फत वडाको विकास निर्माणमा भूमिका खेल्नुभएकी कल्पनाले वडाको महिला सदस्य निर्वाचित भएमा जनताको सेवकको रुपमा आफ्नो समय खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सामाजिक सेवामा समर्पित कल्पनाले विभिन्न सामाजिक नेतृत्व पनि सम्हालिसक्नुभएको छ । २०७१ सालमा वडा नागरिक मञ्चको सदस्य हुँदै २०७३ सालमा संयोजकको भूमिका निर्वाह गर्नुभएकी कल्पना यतिबेला भरतपुर महानगरस्तरीय महिला स्वास्थ्य संरक्षण समूहकी अध्यक्ष भएर आफ्नो समाजसेवाको यात्रालाई अगाडि बढाइरहनुभभएको छ ।
कोभिडको विषम परिस्थितिमा पनि आफ्नो स्वयमसेवी कामलाई निरन्तरता दिँदै महिला र बालबालिकाको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत कल्पनाले विभिन्न निकायबाट पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएको छ ।
हुन त निर्वाचन प्राविधिक कुरा हो । चुनावी यात्रामा जीत र हार जेसुकै हुन्छ । यसलाई सहज तरिकाले स्वीकार्ने पक्षमा कल्पना हुनुहुन्छ । उहाँ भन्नहुन्छ–‘मजस्तो महिलालाई सेवा गर्ने मौका पक्कै दिनुहुनेछ । प्राविधिक रुपले केहि तलमाथि भएछ भने गर्न विगतमा झैँ आफ्नो सामाजिक कर्मलाई धर्म सम्झेर अगाडि बढ्ने कुरालाई त कसैले नरोक्ला नि ।’

812Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement