48Shares

भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनलाई कडा टक्कर दिँदै बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेताको कुनै पनि प्रस्ताव स्वीकार नगरी आफूले दिएको उम्मेदवारी पनि फिर्ता नलिने बताएका छन् ।
आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको जानकारी दिए ।
उनले भने, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भनेर गृहमन्त्रीज्यूले भन्नुभो । मचाहिँ फिर्ता नहुने ठाउँमा पुगिसकेको छु ।’

उनले भने, ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।’
गृहमन्त्री खाँणले फेरि छलफल गर्ने प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी पनि उनले दिए ।
गठबन्धनको तर्फबाट भरतपुरमा रेनु दाहालले मेयरमा उम्मेदवारी दिएपछि भरतपुरमा अधिकांश काँग्रेसका नेता कार्यकर्ता रुष्ट छन् । केन्द्रीय नेताहरुले बागी उम्मेदवारी दिएका पौडेललाई व्यक्तिगत भेटेर या फोनमार्फत विभिन्न आश्वासन दिँदै उम्मेदवारी फिर्ता लिन दवाव दिइरहेका छन् ।
पौडेललाई भेटेपछि गृहमन्त्री खाँणले भने पौडेलले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे । खाँणले भने, ‘जगन्नाथ पौडेलले पार्टीको निर्णय मान्नुहुन्छ भन्ने मेरो विश्वास छ, पार्टीको निर्णय सबैले मानेर जान्छन् ।’ पौडेल कांग्रेसको प्रतिबद्ध कार्यकर्ता भएको भन्दै खाँणले पार्टीको निर्णय कार्यान्वयनमा उनले मद्दत गर्ने विश्वास व्यक्त गरे ।
उम्मेदवारी दिँदा पौडेलको प्रस्तावक र समर्थक बनेका मीना खरेल र कृष्णलाल सापकोटाले पनि उम्मेदवारी फिर्ताको सम्भावना नरहेको बताएका छन् ।

48Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement