१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार खोजी गर्दै तालमेलमा ‘सम्मानजनक हैसियत’को विषयलाईसमेत उठान गरे ।
कांग्रेसले गरेको निर्णयले पुरै आश्वस्त हुन नसकेका प्रचण्डले बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको भन्ने वाक्यप्रति कटाक्ष गरेको एक नेताले जानकारी दिए । उनले ‘तपाईंहरुले जित त सुनिश्चित गरिसक्नुभएकै छ, अब त्यसमा के छलफल गराई भयो र ?’ भनेका थिए ।
यसले गठबन्धनलाई कांग्रेसले हल्का ढंगले लिएको प्रष्ट भएको भन्दै उनले एमालेतिर जाने चेतावनी दिए ।प्रचण्डको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘स्थानीय सरकारको गठबन्धन सही ढंगले गएन भने मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ । तपाईंहरु नै अप्ठ्यारोमा पर्नुहुन्छ ।’प्रचण्डले देशभर चुनावी तालमेलको निर्णय शीर्ष तहबाटै होस् भन्ने चाहेका थिए । २०७४ सालको निर्वाचनमा विजयी भएको स्थानलाई सोही दलका उम्मेदवारलाई छोडिदिने र बाँकी भागवण्डा गर्ने प्रचण्डको प्रस्ताव छ ।
२०७४ को स्थानीय निर्वाचनमा एमाले पहिलो दल बन्दा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएको थियो । गठबन्धनको मर्म अनुसार तालमेल हुँदा विजयी हुने स्थान बढ्ने आशामा रहेको माओवादी केन्द्रले कांग्रेसबाट विश्वासिलो प्रतिवद्धता नआए एमालेसँग पनि बाटो खुला भएको संकेत गरेको छ ।
सम्बन्धित खवर
-
रसुवामा ठूलो बाढी आएपछि गृह ...
-
१० भदौ, काठमाडौं । रसुवाको ...
















