नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफूहरु एक्लैले पराजित गर्ने बताएका छन्।
ओलीले एमाले प्रतिपक्षमा भए पनि सत्तारुढ दलका जनप्रतिनिधिदेखि नेता कार्यकर्तासम्म प्रवेश गर्न धुइरो लागेको बताए।
‘हामी प्रतिपक्षमा छौँ तर सत्ताधारी दलका नेता कार्यकर्ता हाम्रोतिर आइरहेका छन्। हामी निश्चित रुपमा चुनाव जित्छौँ । हामीसँग सही नीति छ’, उनले भने, ‘हामीले काम गरेका छौँ, जनताले एमालेलाई सरकारमा ल्याउन चाहेका छन्।’
ओलीले स्थानीय निर्वाचनअघि कांग्रेसले आफूहरुको भण्डाफोर गर्न लागेको कुरालाई पनि कटाक्ष गरे।
‘कांग्रेसले के लिएर जान्छ रे! जनतामा एमालेको अघिल्लो सरकारको भण्डाफोर गर्ने रे! कांग्रेसको के भण्डाफोर गर्नु उनीहरुले टन्न खाएका छन्’, ओलीले भने, ‘हामीले विगतमा पर्याप्त विकासका काम गरेका छौँ। हामीसँग अनगिन्ती योजना छन्। उनीहरु एमालेलाई धारे हात लगाएर भ्रम फिँजाउने काम गर्ने रहेछन्।’
उनले आफूले धानको चिउरा खाँदा सुनको चिउरा खायो भन्दै हल्ला गरिएको पनि बताए। ‘विरोधीहरु कतिसम्म गर्छन् भने सुनको चिउरा खान्छ होला धान चिउरा खाएको देखायो भनेर प्रचार गरेछन्’, उनले भने, ‘उनीहरुको अर्थोक एजेण्डा नै छैन। प्रतिस्पर्धा हुँदैन भनेकोले एमाले बलियो छ, एक्लै गएर हुँदैन भनिरहेका छन्। उनीहरुले आधा सही बुझेका छन्।’
उनले गठबन्धन दलहरूलाई एक्ला एक्लै चुनावमा गए एमालेले कर्याक कुरुक बनाउने पनि बताए। ‘एक्ला एक्लै आए भने त कर्याक कुरुक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्याकुरुक बनाउँछौँ’, उनले भने, ‘अहिले हाम्रो धान पाकेको बेला छ, हामीलाई मंसिर लागेको छ। धान काट्ने, बिटा लगाउने, कुन्यु थुपार्ने बेला छ।’
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















