प्रकाश सपुतको पिरबारे भातृ संगठनको आपत्ति, प्रचण्डको समर्थन
काठमाडौं । माओवादी केन्द्र सम्बद्ध चार संगठनले प्रकाश सपुतको गीत ‘पिर’प्रति आपत्ति जनाएका छन् । उनीहरुले यो गीतलाई तत्काल युट्यूब च्यानलबाट हटाउन माग गरेका छ्न् ।
जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ, अखिल नेपाल महिला संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरले आइतबार संयुक्त वक्तव्य जारी गर्दै पिर गीतको भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको बताएका छन् ।
‘भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नुपर्नेसम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साधिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ । यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ ।’
संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासंगिक दृश्य र संवाद राखेर चर्चामा आउने बदनियत राखेको उनीहरुको आरोप छ । यो भिडियो तत्काल युट्यूब च्यानलबाट हटाउन र सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्न माग गरेका छन् ।
कोही उत्तेजित हुनु पर्दैन- प्रचण्ड
माओवादी केन्द्रका नेता कार्यकर्ता र विभिन्न संगठनहरुले प्रकाश सपूतको ‘पिर’ प्रति आक्रोश व्यक्त गरिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्तेजित कोही हुनु आवश्यक नभएको बताएका छन् ।
धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वलडाकुहरू देशको निम्ति शान्ति प्रक्रियामा आइयो भनेर गर्व गर्ने र कत्रो सपना देखेको थिएँ माओवादीले बर्बाद पारे भन्ने दुवै रहेको बताए ।
जनयुद्धकालमा महिलाले वीरता र कीर्तिमान कायम गरेको प्रचण्डको भनाइ छ ।
‘महिलाका हिजो जनयुद्धको बेला वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन् । त्यतिबेला राज्यका पक्षबाट भएका दमन र अत्याचार पनि छन् । यो विषयमा उत्तेजित कोही हुनुपर्ने छैन । तर्क बितर्क हुन्छन् त्यसलाई सहज स्वाभाविकरूपमा लिनुपर्छ । अहिले मात्र होइन सयौं वर्ष हामी गइसकेपछि पनि हुनेवाला छ ‘, उनले भने ।
जनयुद्धलाई शान्ति र संविधानमा ल्याउन ठीक थियो कि थिएन ? सधैँभरको प्रश्न हुने प्रचण्डको भनाइ छ । उनले आफू खाडी मुलुक जाँदा दु:खपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेको स्मरण सुनाए ।
‘म कतार वा मलेसियामा जाँदा होस् । सयौंका सयौं संख्यामा त्यहाँ दु:खपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेँ’, प्रचण्डले भने, ‘उहाँहरूले मलाई भन्नुहुन्थ्यो- कमरेड तपाईंलाई अप्ठ्यारो पर्यो भने भन्नुस् है हामी जस्तोसुकै त्याग गर्न तयार छौं हामी बिग्रेका छैनौं विचलित भएका छैनौं ।’
प्रचण्डले पूरै गीत भने आफूले नहेरेको बताए ।
सम्बन्धित खवर
-
काठमाडौं, साउन २० – सरकारले ...
-
२० साउन, (माडी) चितवन । माडी ...



















