0Shares

शान्ता अधिकारी
राप्ती नगरपालिका वडा नम्वर १० का पूर्ण बहादुर चेपाङ्गका १० छोरी र एक छोरा छन् । छोरा जन्माउनकै लागि उनले दश छोरीको जन्म दिए । तर अहिले छोरी जन्मेकोमा उनलाई गर्व महसुस हुन थालेको छ ।

उनका दुईवटी छोरीहरु कक्षा बाह्मा अध्ययनरत छन् । छोरीहरुको पढाई राम्रो छ । राप्ती नगरपालिका वडा नम्वर १० ढाडखोला गाँउमा त्यति धेरै पढेका छोरीहरु छैनन् । छोरीहरु थप अध्ययन गर्न चाहन्छन् । राप्ती नगरपालिकाको कार्यालयमा नगरपालिकाले विस वर्ष उमेर माथीका अविवाहित अध्ययनरत छोरीहरुलाई वार्षिक पन्ध्र हजार रुपैया दिने गरेको छ । छोरीहरुले नगरपालिकाबाट पाउने सुविधा लिन आउनु भएका पूर्ण बहादुर खुसीले गदगद हुनुहुन्छ । कसरी पढाउने भनेर रातदिन पिरमा पर्ने गरेकोमा सहयोग पाउँदा खुसी लागेको उहाँ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “सानै उमेरमा मैले विवाह गरे । धेरै पढेको छैन । तर छोरीहरुलाई पढाउने धोको छ । पिर लागेको थियो । अव दुईवटा छोरीको तिस हजार आएपछी उनीहरु पढ्छन् ।”

दिनदिनै आफ्नै आँखाले आमा बनेका सानासाना नानीहरुलाई देख्दा मन अमिलो हुने गरेको राप्ती नगरपालिकाकी मेयर प्रभा बराल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “चेपाङ्ग समुदायमा बढ्दो मात्रामा वालबिवाह रहेको छ । पढ्दा पढ्दै छोरीहरुले पढ्न छोड्ने समस्या पनि उतीकै छ । यो बालविवाहलाई अन्त्य गर्नुछ, विद्यालय छोड्ने दरलाई पनि न्यूनिकरण गर्नुछ । नवौ नगरसभामा विस वर्ष कटेका, विद्यालय वा क्यापसमा अध्ययन गरीरहेका चेपाड छात्राहरुलाई प्रोत्साहन स्वरुप पन्ध्र हजार दिने भनेर निर्णय गरेका थियौ । यस्लाई बढाउदै लैजाने छौ ।” उहाँ थप्नु हुन्छ, “बच्चाले बच्चा जन्माउले, बच्चाले बच्चा लिने जुन समस्या हामीहरुमा छ, यस्ले छोरीहरुको शारीरिक अवस्थालाई पनि कमजोर बनाउने छ । पढ्ने उमेरमा पढ्न छोड्ने समस्यालाई हटाउन पनि यो प्रभावकारी दखिएको छ । यहाँका छोरीहरु जहाँ बसेर पढे पनि सुविधा लिन सक्छन् ।” नगरपालिकाले गत वर्षबाट सुरु गरेको यस कार्यक्रमबाट अहिलेसम्म सात जना किशोरीहरुले सेवा लिएको मेयर बराल बताउनु हुन्छ । उहाँ यस कार्यक्रमले धेरै किशोरीहरुलाई पढाई प्रति आकर्षण बढेको उहाँको भनाई छ ।

 

राप्ती नगरपालिकाको वडा नम्वर १,३,१०,११,१२,१३ मा चेपाङ्ग समुदायको बाहुल्यता रहेको छ । यस क्षेत्रमा करिब आठ हजार चेपाड समुदायको बसोवास रहेको मेयर बराल बताउनु हुन्छ । निकै विकट देखी सुगम क्षेत्र सम्म ओगटेको राप्ती नगरपालिकाले किशोरी लक्षीत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement