कृष्णभक्त पोखरेलको न जिल्ला अध्यक्ष पद पुनर्वहाली भयो, न केन्द्रीय सदस्यमा परे
नेकपा एमालेले आइतबार ४३ जना केन्द्रीय सदस्यहरू मनोनित गर्यो। मनोनितको सूचीमा दुर्गा प्रसाईंदेखि लालबाबु पण्डितसम्म अटे।
उपाध्यक्षमा नअटेपछि पण्डितले सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको भन्दै महाधिवेशनस्थल छाडेका थिए। अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पढेको केन्द्रीय सदस्यमा नाम नअटाएपछि दुर्गा प्रसाईं फन्किएर निस्किएका थिए।
invotech
महाधिवेशन भएको जिल्ला चितवनबाट उपाध्यक्षमा दुई जना र केन्द्रीय सदस्यमा ९ जना नेताहरू ओलीको सूचीमा परेका थिए। त्यो सूचीमा पर्ने अपेक्षा भएर पनि नपरेका नेता कृष्णभक्त पोखरेललाई ओलीले मनोनितको सूचीमा पार्ने धेरैले आँकलन गरेका थिए।
पोखरेल केन्द्रीय सदस्यको सूचीमा नपरेपछि उनी निकटका कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत रोष प्रकट गर्दै मनोनित गर्न पार्टीलाई दबाब दिँदै आएका थिए। तर शनिबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले मनोनितको सूची सार्वजनिक गर्दा पोखरेल नअटेपछि उनका समर्थकहरूले पार्टी नेतृत्वको आलोचना गर्न थालेका छन्।
प्रतिनिधि सभाको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित पोखरेल संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति हुन्। उनी नेकपा एमालेको निर्वाचित जिल्ला अध्यक्ष हुन्। एमाले र माओवादी केन्द्रकाबीच एकता हुँदा उनले माओवादीका नेता यमबहादुर परियारलाई अध्यक्ष मानेर जिल्ला सचिव भएका थिए।
sanimaeveryghar box ad 2nmb
पार्टी भित्र माधवकुमार नेपालका निकट भनेर चिनिने पोखरेलले ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतमा परेको रिटमा उनको विपक्षमा बहससमेत गरेका थिए। तर उनी अदालतले एमाले र माओवादीलाई अलग गराउने फैसला भएपछि ओली नेतृत्वको एमालेमा लागे।
पछि दस बुँदे सहमति भएपछि उनी एमालेमै रहेका थिए। दस बुँदे एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने भनिएको छ। तर पोखरेलको अध्यक्ष पद पुनर्वहाली भएन। एमाले चितवन अध्यक्ष बनिसकेकी राष्ट्रिय सभा सदस्य पार्वती रावलले अध्यक्ष पद छाडिनन्।
पोखरेलले चितवनमा हुने महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्न फारम भरिसकेका थिए। तर बन्दसत्रमा ओलीले पढेको सूचीमा उनी अटेनन् र भरेको उम्मेदवारी फारम दर्ता गर्ने आँट पनि गरेनन्। उनले केन्द्रीय समितिले विधान बमोजिम मनोनित गर्ने सूचीमा आफू पनि पर्ने सम्भावना रहेको निकटस्थसँग बताउने गरेका थिए।
पोखरेलले भने यस विषयमा तत्काल प्रतिक्रिया नदिने बताए।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















