चितवन मंसिर १७ ।
माडी नगरपालिका वडा नम्बर ८ मा रहेको बैकुण्ठ धाममा बाला चतुदर्शीको अवसरमा आज मेला लागेको छ । गत वर्ष कोभिड–१९ को कारण मेला स्थगित भएको मेला यसवर्ष भने बैकुण्ठ धाम पर्यटन विकास समितिको आयोजनामा मेला लोगेको हो ।
आफ्ना बुबाआमा नहुनेहरुले पितृहरुको मोक्ष प्राप्तिका लागि बालाचतुर्दशीको अघिल्लो दिन बेलुकादेखि नै रातभर भजनकीर्तन गरी भोलिपल्ट बिहान माडी–८, वैकुण्ठे क्षेत्रमा सतबीज छर्ने, वैकुण्ठ स्नान गर्ने र मेला भर्ने प्रचलन रहेको माडी–८ का अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो । वैकुण्ठधाममा मेलामा मुख्य आकर्षणका रुपपा बृहत् सांस्कृतिक कार्यक्रमको साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।
साथै विभिन्न जातजातिको झाँकी प्रदर्शनी, सतबीज छर्ने, वैकुण्ठ ताल अवलोकन, माडीकै पहिलो झोलुङ्गे पुल अवलोकन, विभिन्न जातजातिको खानाका परिकार तथा आकर्षक स्टललगायत विविध कार्यक्रम हुने भएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै, यस मेलाले धार्मिक पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुग्ने उहाँको दाबी छ ।
खरकट्टास्थित वैकुण्ठचोकबाट करिब साढे ३ किमी दक्षिण लागेपछि वैकुण्ठ मेला स्थल आइपुग्छ । मेला स्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल हेर्नसमेत पाईन्छ । हेरक बर्ष त्यहाँ बाला चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । मंसिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनोमिश्रित मन्दिरवरिपरि छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरुले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
मंसिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सतबीज छर्ने बेलासम्म आफ्ना पितृको नाममा बत्ती बाल्ने गरिन्छ । अघिल्लो दिन दियो, कलश र गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ । ठूलो दियो तथा तामाको मानोमा काँचो धागोको बत्ती बाल्ने परम्परा छ । रातभर बत्ती बालिरहनुपर्ने र निभ्न दिन नहुने चलन छ । चतुर्दशीका दिन बिहान स्नान गरी बत्ती खोलामा विसर्जन गरी सतबीज छरेर पूर्णपात्रो गर्ने चलन छ ।
यस क्षेत्रलाई ऋषिमुनिहरुले तपस्या गरेको, अष्टवक्र जन्मेको क्षेत्रका रुपमा समेत लिइन्छ । बालाचतुर्दशीका दिन पितृहरुको उद्धार हुने विश्वाससहित सतबीज छर्न आउने माडीका स्थानीय समाजसेवी श्रीप्रसाद दवाडीले बताउनुभयो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















