0Shares
काठमाडौं : सेयर बजारमा चमक देखिएको छ । बढ्दोक्रममा रहेको नेप्से सूचकलाई खरिदबिक्री रकमले पनि साथ दिएको छ । सोमबार नेप्से सूचक ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा आइपुगेको छ । ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्ला दिनहरुमा भएको औसत कारोबार भन्दा यो धेरै हो । ३३ कम्पनीको भाउ ९% भन्दा माथिदेखि सर्किट लाइनसम्म वृद्धि भएको छ ।

बजार अस्वभाविक रुपमा वृद्धि गर्ने बैंकहरुको प्रयाससमा राष्ट्र बैंकले सर्किट लगाइदिए पछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । बजार बढ्नुको अर्को कारण भाउ निकै सस्तो हुनु पनि हो । कतिपय कम्पनीको मूल्यमा एक हिसाबले फ्रि फल नै भएको थियो ।

आकर्षक लाभांश क्षमता भएका कम्पनीहरुमा समेत उच्च गिरावट आएको थियो । लाभांशको सिजनमा बजार एकाएक घटेको थियो । यसरी सस्तो भएको भाउमा लगानीकर्ताहरु आकर्षित भएको अनुमान गरिएको छ । ट्रेडर र लगानीकर्ता दुवै एकसाथ आकर्षित हुँदा त्यसको सकारात्मक प्रभाव नेप्सेमा देखिएको हो ।
सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले सर्वोपरि भूमिका खेल्ने गर्छ । बजार सकारात्मक हुन्छ भन्ने धेरैलाई विश्वास लागेमा बढ्छ अनि, लगानीकर्ता बजारप्रति विश्वस्त हुन सकेनन् भने यसले गति लिंदैन । यसर्थ, बजार तलमाथि गरिरहन्छ । यो सेयर बजारको चरित्र पनि हो । आम लगानीकर्ताले जोखिम बहन क्षमता र होल्ड गर्न सक्ने अवधिलगायतलाई ख्याल गरेर आफ्नो स्वनिर्णय लिन सक्नुपर्छ । कसैको उक्साहट र हल्लाका पछि लागे निर्णय लिनु हुँदैन ।
पछिल्लो समय ब्याजदर, तरलता लगायतका विषयले पनि बजारलाई प्रभावित बनाएको हो । अहिले लाभांशको समयसँगै कम्पनीहरुको प्रथम त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक हुन थालेको छ । यस त्रैमासमा सूचीकृत कम्पनीहरुले अपेक्षा अनुसार नाफा वृद्धि गर्न सके भने त्यसले पनि बजारमा सकारात्मक प्रभाव पार्न सहयोग पुग्नेछ ।
लगानी गर्दा कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, नेटवर्थ, वितरणयोग्य नाफा, मूल्य आम्दानी अनुपात, कम्पनीको भावी योजना, सञ्चालक तथा व्यवस्थापक लगायतमा पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ । यस दिन २२९ कम्पनीको ८३ लाख ९५ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र सिद्धार्थ बैंक परेका छन् । सबै समूहका सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स र हाइड्रोपावर तथा निर्जीवन बिमा समूहहरु सबैभन्दा बढी वृद्धि भएका छन् ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement