काठमाडौं । फाइनलमा नेपाललाई ३-० गोलको नतिजामा पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियनसिपको विजेता बनेको छ । शनिबार भएको १३औं संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपालले पहिलो हाफमा भारतलाई गोल गर्नबाट रोकेको थियो ।
दोस्रो हाफमा लगातार गोलका लागि आक्रमण गरेको भारतका लागि तेस्रो गोल सहाल समादले इन्जुरी समयमा गरेका थिए ।
समूह चरणका दुई खेलमा पहेँलो कार्डको सामना गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र फरवार्ड अञ्जन विष्ट भने स्ट्यान्डमा बसेर आजको खेल हेरेका थिए । नेपालमा आफ्नो सम्मान नभएका कारण रुष्ट देखिएका अब्दुल्लाहले आफ्नो नेतृत्वमा यो खेल नै अन्तिम हुने र नेपाल नफर्किने घोषणा गरिसकेका छन् ।
प्रतियोगिताको सदाबहार दाबेदार मानिए पनि अन्डर डग्स रहेको नेपाल १३औं संस्करणमा पहिलो पटक फाइनल पुगेको थियो । पहिलो पटक नेपालको प्रशिक्षकको रूपमा सार्वजनिक हुँदै अब्दुल्लाहले नेपाललाई फाइनल पुर्याउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए ।
र, उनले अन्तत: त्यो वाचा पूरा गरेर नेपाली टोलीको नेतृत्व छाड्ने निर्णय गरेका हुन् । अक्टोबर १ देखि सुरु भएको साफको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १-० को सनसनीपूर्ण जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको थियो ।
तेस्रो खेलमा भारतसँग १-० ले पराजित भए पनि अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले पहिलो पटक फाइनलमा पुगेको हो । नेपालले भारतलाई पछिल्लो ८ वर्षयता हराउन सकेको छैन ।
प्रतियोगिताको तयारी स्वरुप गत महिना नेपालमा खेलका दुई मैत्रीपूर्ण खेलमा नेपालले एक हार र एक बराबरीको नतिजा निकालेको थियो ।
भारतले भने आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । यसअघि भारत १९९३, ९७, ९९, २००५, २००९, २०११ र २०१५ मा साफ च्याम्पियन बनेको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















