0Shares

रामनगर । रामनगर वन क्षेत्रबाट रातको समयमा अवैध तरिकाले ओसार पसार गर्न लागिएको सालको गोलिया काठ स्थानीयहरुले बरामद गरी शनिबार डिभिजन वन कार्यालय चितवनलाई बुझाएका छन् । सतनचुली सामुदायिक वन उपभोक्ता समितिको गस्ती टोलीले शुक्रबार राती २ बजेको समयमा रामनगर-देवघाट क्षेत्रको धुसेरी खोलामा अवैध सालको गोलिया र सो काठ ओसार पसार गर्न प्रयोग गरिएको पिकअप भ्यानसहित गोलिया काट्न प्रयोग हुने औजारसमेत बरामद गरेको हो ।
सामुदायिक वनको गस्ती टोलीले आठ थान काठको गोलिया ( ३३ क्यूफिट) सहित बा २१ च ७१४० नम्बरको योद्धा पिकअप बरामद गरेको समितिका उपाध्यक्ष सोमराज आचार्यले जानकारी दिए । सो वन क्षेत्रमा पटक पटक रातको समयमा काठ चोरीका घटना बढेपछि सामुदायिक वनले गस्ती गर्ने कामलाई बढाएको थियो । गस्ती टोलीलाई देख्नासाथ चोरी कार्यमा संलग्न व्यक्तिहरु भने फरार भए । उनीहरुले वन क्षेत्रमा ढलेका रुखहरु काटेर भ्यानमा राखी देवघाटतर्फ लगेका थिए । बरामद गरिएको गाडीभित्र धादिङका २८ वर्षिय अनिल तुम्सिङ मगरको सवारी चालक अनुमति पत्र भेटिएको छ । सवारी दर्ता किताब अनुसार सो गाडी सानिमा बैँक लिमिटेडबाट भीमकुमार महर्जनले खरिद गरेको देखिएको छ ।
बरामद गरिएको काठ र गाडीबारे आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने डिभिजन वन कार्यालय, चितवनले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement