चितवनमा करिब सय जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, चार ठूला अस्पतालमा मात्रै ७६ जना संक्रमित
चितवन, बैशाख २१
चितवनमा करिब सय जना स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला भर कति जना स्वास्थ्यकर्मी संक्रमित भए भनेर एकीन तथ्यांक उपलब्ध गराउन सकेन । तर पनि जिल्लाका ठूला अस्पतालहरुसँग बुझ्दा करिब सय जनामा कोरोना संक्रमण भएको पाइएको छ । चितवनका चार ठूला अस्पतालहरुमा मात्रै ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
भरतपुर अस्पतालका दुई जना डाक्टरसहित २२ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाले जानकारी दिए । सबै संक्रमितको अवस्था समान्य रहेको र उनीहरु होम आइसोलश नै बसिरहेको डा बसौलाले जनाए ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको उनले बताए ।
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पूरानो मेडिकल कलेज) मा ११ जना डाक्टरसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए । जसमध्ये एक जना आइसियूमा उपचाररत रहेको बाँकी सबै होम आइसोलेसनमा रहेका उनले बताए ।
यस्तै चितवन मेडिकल कलेजमा २१ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड–१९ सञ्चार संयोजक डा किशोर अधिकारीलले बताए । उनका अनुसार जसमध्ये एक जना आइसियूमा छन् भने अरुको अवस्था सामान्य छ ।
यी चार अस्पतालबाहेकका अन्य अस्पतालका स्वास्थ्यकर्मीमा पनि संक्रमित हुन सक्ने हुँदा चितवनमा करिब सय जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको आंकलन गर्न सकिन्छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















