0Shares

चितवन, बैशाख १७ –

चितवनमा आजदेखि १५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण गर्न आजदेखि चितवनमा १५ गतेसम्मका लागि निषेधाज्ञा लागु गरिएको हो ।

निषेधाज्ञाका बेला अति आवश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ । बैंकहरु खोल्न दिइएको छ भने किराना पसलहरु बिहान ९ बजेसम्ममात्र खोल्न दिइएको छ । बैंकमा जानेहरुलाई पहिचान गरेरमात्र जान दिइएको छ ।

विशेष गरी चितवन प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । चितवनका छिमेकी जिल्लाहरुमा निषेघाज्ञा छैन । त्यसकारण पनि सिमानाबाट धेरैलाई फर्काउनु परेको छ । छिमेकी जिल्लाबाट प्रवेश गर्न खोज्ने अनुमतिपत्र तथा कार्ड नभएकाहरुलाईक सिधै फर्काइएको छ ।

जिल्ला भित्रका अन्य ठाउँहरुमा पनि सुरक्षाकर्मीहरुले कडाइ गर्नुपरेको छ । बिना काम पैदल हिँड्नेहरुलाई समेत घर फर्काइएको छ । धेरै सर्वसाधारणहरुलाई सुरक्षाकर्मीले सम्झाइबुझाई फर्काएका छन् भने कतिपयलाई होल्ड गरेर राखेपछि मात्र फर्काएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले हालसम्म जिल्लाभर ३४५ सवारी र एक हजार ३५ जनालाई होल्डिङ सेन्टरमा राखिएको जानकारी दिए । दुई घण्टा होल्डमा राखेर फर्काउने गरिएको उनले बताए । उनले चितवनका शहरीक्षेत्रसहित गाउँमा पनि उत्तिकै कडाइ गर्नु परेको बताए ।

कोरोना माहामारी नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञामा सुरक्षाकर्मीले नै कडाइ गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो । आज बिहान ठाउँठाउँमा खटिएका सुरक्षाकर्मीहरु सर्वसाधारणलाई सम्झाइबुझाइ गर्न धौैधौ देखिन्थे । सडकमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘मास्क त लगाएर हिँड्नुस भन्नुपर्छ हामीले । कतिले त झगडा गर्छन् ।’

एसपी अधिकारीले चितवन जस्तो शिक्षित समाजमा सर्वसाधारण आफैले बुझ्न आवश्यक रहेको बताए । प्रशासनले गरेको आग्रहलाई सर्वसाधारण आफैले मान्नुपर्ने देखिन्छ । सुरक्षाकर्मीलाई छल्ने वा भुक्याएर हिँड्ने प्रवृत्ति गरेमा कोरोना नियन्त्रण संभव हुँदैन । सरकारले गरेको आग्रह नागरिककै लागि हो भनेर नागरिकहरु आफै सचेत हुनुपर्ने देखिन्छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement