बागबजारमा एसएलसीको नक्कली सर्टिफिकेट बनाए, बंगलादेशबाट डाक्टर भएर आए
महोत्तरीका ४० वर्षीय अरूणकुमार चौधरी काठमाडौं बागबजारमा ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी चलाउँथे।
तर, उनको कन्सल्टेन्सीबाट एसएलसीको सर्टिफिकेटमा नम्बर सच्याएर बंगलादेश पुगेका भने डाक्टर भएर मात्रै आइसकेनन्, चार जनाले त नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा पेशाको प्रमाण-पत्र पनि लिइसकेका छन्।
उनीहरू हुन् – २८ वर्षीय मोहम्मद सिद्धिक, २९ वर्षीय सुभासप्रसाद साह, २८ वर्षीय मोहम्मद साहिद राजा र ३१ वर्षीय दीपेन्द्र गौतम।
प्रहरीका अनुसार उनीहरू नक्कली एसएलसी सर्टिफिकेट पेशेरै आइएस्सी पढे। आइएस्सीपछि एमबिबिएस पढ्न बंगलादेश गए। एसएलसी प्रमाण-पत्रबारे खुले पनि आइएस्सी प्रमाण-पत्र कहाँबाट लिए भन्ने यकिन गर्न प्रहरीले सकेको छैन।
चौधरीले उनीहरूलाई ६-७ वर्ष पहिले नै एसएलसीको नक्कली प्रमाण-पत्र बनाइदिएको भने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।
एमबिबिएस अध्ययन पूरा गर्न ५ वर्ष लाग्छ। सो प्रमाण-पत्रका आधारमा नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा पेशाको अनुमति पत्र लिन पनि कम्तीमा एक वर्ष लाग्छ।
‘उनीहरू कहिलेदेखि ती अस्पतालमा काम गर्थे भन्ने पनि खुल्न बाँकी छ,’ केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीहरू भन्छन्, ‘हामी अहिले अनुसन्धानकै क्रममा छौं।’
ब्युरोले यी चार जनाबाहेक विराटनगरबाट पक्राउ परेका सप्तरीका ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीकी २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पनि एसएलसीको नक्कली सर्टिफेकेट बनाएरै डाक्टर पढेका हुन्।
पल्लवी अहिले किष्ट मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत् छिन्।
यी सबैलाई प्रहरीले आइतबार विभिन्न ठाउँमा पुगेर पक्राउ गरेको थियो।
पल्लवीबाहेक ६ जना बंगलादेशबाट एमबिबिएस पढेर आएका हुन्।
उनीहरूले त्यहाँको कुन विश्वविद्यालयबाट एमबिबिएस पढेका हुन् भन्ने पनि खुल्ने क्रममै रहेको ब्युरोका निर्देशक डिआइजी सहकुलबहादुर थापाको दाबी छ।
‘अहिलेलाई हामीले उनीहरूले किर्ते गरेर बनाएको नक्कली एसएलसी सर्टिफिकेट मात्रै पहिचान गरिसकेका छौं,’ थापाले भने, ‘बाँकी कुरा विस्तारै खुल्दै जानेछ।’
उनका अनुसार यीमध्ये कसले कहाँ आइएस्सी पढे भन्ने पनि अनुसन्धानमै छ।
एमबिबिएस गर्नुअघि आइएस्सी पास हुनुपर्छ। त्यही आइएस्सी पढ्न पनि एलएलसीमा आवश्यक प्राप्ताङक (जिपिए) चाहिन्छ। पक्राउ परेकासँग एलएलसीको त्यो जिपिए थिएन र जिपिए पुर्याउन किर्ते गरे भन्ने दाबी ब्युरोको छ।
ब्युरो निर्देशक थापाका अनुसार केही डाक्टरहरूबारे ब्युरोमा गुनासो थियो। त्यही गुनासोका आधारमा केही मानिसहरूको एसएलसी सर्टिफिकेट प्रमाणीकरण गर्न थालियो।
बंगलादेशमा एमबिबिएस पढ्नका लागि उनीहरूले नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र लिएका थिए। ब्युरोले काउन्सिलमा पेश भएको एसएलसी प्रमाण पत्र माग्यो।
ती प्रमाण पत्र राष्ट्रिय परीक्षा बोर्डमा प्रमाणीकरणका लागि पठाइयो। पक्राउ परेकाले काउन्सिलमा पेश गरेको एसएलसी सर्टिफिकेट र परीक्षा नियन्त्रण कार्यालयमा रहेको प्रमाण-पत्रमा फरक पाइयो।
‘यसरी एसएलसी प्रमाण-पत्र नक्कली रहेको पाइएपछि, हामीले डाक्टरहरूलाई पक्राउ गर्यौं र उनीहरूको भनाइका आधारमा बागबजारबाट कन्सल्टेन्सी सञ्चालकलाई समात्न सकियो,’ थापाले भने। यी व्यक्तिहरूले आइएस्सी कहाँ पढे या त्यो पनि नक्कली बनाए भन्नेतर्फ पनि आशंका रहेको थापा बताउँछन्।
पक्राउ परेकालाई सरकारी छाप दस्तखत किर्ते र आवश्यकताअनुसार ठगी मुद्दा चलाउने प्रहरीको तयारी छ। उनीहरूलाई सोमबार नै जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्ने अनुमति लिइएको छ।
आफ्नै संस्थाबाट चिकित्सा पेशाको प्रमाण पत्र लिएका डाक्टरको एसएलसी सर्टिफिकेट नक्कली रहेको थाहा पाएपछि काउन्सिलले पनि उनीहरूबारे अध्ययन थालेको छ। ‘कसको के रहेछ हामी हेर्छौं, त्रुटि देखिएकाको डाक्टरी पद निलम्बन हुन्छ,’ काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले भने।
यसअघि चार दर्जन डाक्टरलाई प्रहरीले आइएस्सी नक्कली सर्टिफिकेट रहेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो। तर, धेरैको मुद्दा स्थापित हुन नसकेपछि अदालतबाट छुटेका थिए।
संविधानत: अदालतबाट अन्तिम आदेश नआउञ्जेलसम्म यसरी पक्राउ परेका कसैलाई पनि पेशाबाट विमुख गराउन भने सकिन्न। पुर्पक्षका लागि कारागार गए यस्ता डाक्टरले थुनाबाटै मुद्दा लड्छन्। धरौटी वा तारेखमा छुटे उनीहरू पेशामा फर्केर मुद्दा लड्न पाउँछन्।

















