0Shares

 

भरतपुर । चितवनमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा बढी ६१ देखि ८० वर्ष उमेर समूहका छन् । कोरोना सङ्क्रमणका कारण मृत्यु भएका ११४ जनामध्ये ६१ देखि ८० वर्ष उमेर समूहका ५० जनाले ज्यान गुमाएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

हरेक १०–१० वर्ष उमेर समूहको तथ्याङ्क छुट्टयाउँदा ६१ देखि ७० र ७१ देखि ८० वर्ष उमेर समूहका २५/२५ जनाले ज्यान गुमाएका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । त्यसपछि ८० वर्षभन्दामाथिका २४ जनाले ज्यान गुमाएका छन् ।

५१ देखि ६० वर्ष उमेर समूहका २० जनाले ज्यान गुमाएका छन् भने ४१ देखि ५० वर्ष उमेर समूहका ९ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ७ जना, २१ देखि ३० वर्ष उमेर समूहका एक जना, ११ देखि २० वर्ष उमेर समूहका दुई जना र १० वर्षभन्दा कम उमेर समूहका एक जनाले कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालयको यो तथ्याङ्क हेर्दा मृत्यु हुनेमा ६० वर्षभन्दामाथिका वृद्धवृद्धा बढी देखिन्छन् । यसले वृद्धवृद्धा बढी प्रभावित भएको पुष्टि हुन्छ ।

चितवनमा हाल कोरोना सक्रिय सङ्क्रमितको संख्या १२७ पुगेको छ । शुक्रबार १९ जना र शनिबार आठ जनामा थप कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । हाल कोरोना सङ्क्रमणको कारण २६ जना जिल्लाका विभिन्न अस्पतालमा र १०१ जना होम आइसोलेसनमा रहेका छन् ।

१ दशमलब ६ प्रतिशतको मृत्यु

समग्रमा हेर्ने हो भने चितवन जिल्लामा भेटिएका सङ्क्रमितमध्ये मृत्यु हुनेको संख्या १ दशमलब ६ प्रतिशत छ । १ दशमलब ८ प्रतिशत सङ्क्रमित आइसोलेसनमा रहेको जनस्वास्थ्य अधिकृत ढकालले बताइन् । बाँकी ९६ दशमलब ६ प्रतिशत सङ्क्रमित भने निको भएर घर फर्किइसकेका छन् ।

पछिल्लो समय बालबालिकाहरुमा बढी प्रभाव पारेको स्वास्थ्य मन्त्रालयले बताउँदै आए पनि हालसम्मको समग्र तथ्याङ्कमा भने वृद्धवृद्धा नै बढी प्रभावित भएको देखिन्छ । र, कुल सङ्क्रमितमध्ये मृत्यु हुनेको संख्याभन्दा सङ्क्रमणमुक्त हुनेको संख्या पनि कैयौँ गुणा बढी छ । तर, पछिल्ला केही दिनयता फैलिएको नयाँ खालको भाइरसले बालबालिका र युवापुस्ता नै बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ ।

स्वास्थ्य कार्यालय चितवनले पनि नयाँ खालको भाइरसका कारण कुन उमेर समूहलाई बढी प्रभावित पार्छ भनेर भन्न नसकिने हुँदा सबै उमेर समूहका मानिसहरुले सतर्कता अपनाउनुपर्ने बताउँदै आएको छ । तर, पछिल्लो समय अस्पतालहरुमा सामान्य खालका सङ्क्रमितभन्दा पनि जटिल खालका सङ्क्रमितको दर बढ्दै गएकोले मृत्यु हुनेको दर बढ्न सक्ने अनुमान गरिएको छ ।

‘लक्षण नदेखिएसम्म कसैले परीक्षण नगर्ने हुँदा गम्भीर अवस्थाका सङ्क्रमित बढ्दै गएका छन्’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले भने ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement