पत्रकार महासङ्घको निर्वाचन चैत ७ गते
काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपाल पत्रकार महासंघको निर्वाचन प्रभावित हुने आशंका गरिए पनि निर्धारित समयमा नै हुने पक्कापक्की भएको छ । महासंघले घोषित मितिमा निर्वाचन गर्न तयारी तीव्र पारेको छ । महासंघले आगामी २०७७ चैत ७ गते शनिवार हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । महासंघले कपिल काफ्लेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो । त्यसैगरी अधिवक्ताहरूलाई निर्वाचन समितिमा समेटेको छ । अधिवक्ताहरू अरुण पौडेल, विष्णुमाया भुसाल, कपिलचन्द्र पोखरेललाई महासंघले निर्वाचन समिति सदस्य बनाएको हो । निर्वाचन समिति सदस्यमा छनौट भएका तीनै जना अधिवक्ता महासंघको तीन कार्यकालको चुनाव गराइसकेका अनुभवी हुन् । त्यस्तै, अधिवक्ताहरू हरेन्द्र राई र देवेन्द्र झालाई पनि महासंघले निर्वाचन कमिटीको सदस्य तोकेको छ । महासंघका कानूनी सल्लाहकार भक्तिराम घिमिरेले निर्वाचन कमिटीको सचिवको भूमिका निर्वाह गर्ने छन् ।
नेपाल पत्रकार महासंघको निर्वाचन इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुँदैछ । २०७७ चैत ७ गते शनिबार ७७ वटै जिल्ला शाखा, एसोसिएट्स, प्रतिष्ठान शाखा र केन्द्रीय नेतृत्व चयनका लागि मतदान हुनेछ । जिल्ला, प्रदेश र केन्द्रको तीन तहकाे नेतृत्व चयनका लागि झण्डै १३ हजार पत्रकारले मतदान गर्नेछन् ।
नेपाली पत्रकारहरूकाे छाता संगठनकाे रूपमा रहेकाे नेपाल पत्रकार महासंघको निर्वाचन मिति नजिकिए पनि पत्रकारका संगठनहरुले भने अहिलेसम्म उम्मेदवार भने तय गरिसकेका छैनन् । यस पटक विधानमै प्रत्यक्ष निर्वाचनको व्यवस्था गरेको र हरेक सदस्यले मतदान गर्ने भएकाले संगठनहरुले चर्चित अनुहारलाई नेतृत्वमा प्रतिस्पर्धा गराउने तयारी गरेका छन् ।
प्रेस संगठन विभाजित भएको अवस्था रहेकाले प्रेस युनियन महासंघको निर्वाचनमा निर्णायक हुने र प्रेस संगठनको महेश्वर दाहाल वा गणेश बस्नेतले नेतृत्व गरेको जुन समूहसँग उपलब्धिमूलक उसको सहकार्य हुन्छ उही समूह यसपटक निर्वाचित हुने निश्चितप्रायः छ ।
युनियनको वार्गेनिङ पावर बढेकाले महासंघको नेतृत्व हात पार्ने आंकलन पनि गरिदैछ । तर, नेपाल पत्रकार महासंघ सबै विचारका पत्रकारका पेशागत संगठनको साझा छाता संगठन भएकाले नेतृत्व मिलीजुली बन्नु पर्छ भन्ने माग पनि दह्रोसंग उठेको छ । तर, विभिन्न पदका लागि आकांक्षीहरुको लर्को लागेको छ ।
४९ सदस्यीय केन्द्रीय नेतृत्वमा पुग्न लगभग २०० जना उम्मेदवार बन्ने सम्भावना छ । महासंघकाे केन्द्रीय नेतृत्वका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष(महिला) १, उपाध्यक्ष (समावेशी) १, महासिचव १, सचिव १, सचिव(महिला) १, सचिव १ (आदिवासी जनजाति), सचिव १ (मधेशी), सचिव १ (दलित), सचिव १(एशाेसियट), काेषाध्यक्ष १ सहित पदाधिकारी १२ का लागि मतदान गर्ने छन् ।
केन्द्रीय कार्यसमितिका लागि ३७ जना केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन् । जसमा भाैगाेलिक र गैरभाैगाेलिक प्रदेशबाट २/२ जनाका दरले २० जनाका लागि मतदान हुने छ । खुला सदस्यतर्फ ५ जनाका लागि मतदान हुनेछ । खुला महिलातर्फबाट ४ जसमा(मधेसी १, आदिवासी जनजाति १, खस आर्य १, र दलित १ का लागि मतदान हुने छ । त्यस्तै मध्येबाट एक महिला सहित २, आदिवासी जनजाति मध्येबाट १ महिला सहित २, मधेशी मध्येबाट १ महिला सहित २, अपाङ्गता भएका व्यक्ति १, अल्पसंख्यक १ गरेर जम्मा ३७ सदस्यका लागि मतदान हुनेछ ।
नेपाल पत्रकार महासंघकाे विधान २०६० काे संशाेधित (पाँचाै संशाेधन) र समावेशी सिद्धान्तकाे प्रत्यक्ष निर्वाचन पहिलाे पल्ट हुन गइरहेकाे छ । २०७७ फागुन १० गतेबाट नेपाल पत्रकार महासंघकाे तीन तहकाे मतदान हुन मात्र २६ दिन बाँकी रहेकाे छ । २६ दिनभित्र तीन तहकाे निर्वाचन सम्पन्न गर्नका लागि पत्रकार कपिल काफ्लेकाे संयाेजकतवमा गठित निर्वाचन समितिले रातदिन कडा मेहनत गर्नुपर्ने छ ।



















