0Shares

चितवन, मंसिर ११–

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको कामलाई तीव्रता दिन दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज (शुक्रबार) सूचना जारी गर्दै मंसिर १३ गते (आइतबार)देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।
सूचनाअनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहनेछ ।

यसअघि केही समय काम सुचारु भएर स्थगित भएको नारायणगढ–मुग्लिन सडक आयोजनाअन्तर्गत तुइनखोला खण्डमा पहिरो रोकथामको काम अगाडि बढाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यद्यपि, काठमाडौं हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने सडकखण्डमा सवारी आवागमन भने नियमित रूपमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले सवारी चालक तथा यात्रुलाई समय व्यवस्थापन गरी यात्रा गर्न र जारी सूचनाको पालना गर्न अनुरोध गरेको छ । यस विषयमा थप जानकारी तथा समन्वयका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय चितवन र सडक डिभिजन भरतपुरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement