0Shares

 

शान्ता अधिकारी, भरतपुर। भरतपुर विमानस्थल आसपासमा वर्षौंसम्म एउटा मानिस भैंसी चराउँदै हिँड्थे। बोल्न सक्दैनथे, तर वरिपरिका कुरा राम्ररी बुझ्थे। उनको नाम गोविन्द मानव हो।

उमेरले कति वर्ष पार गरिसके भन्ने यकिन छैन। लगभग ८१ वर्षका गोविन्दको परिचय खुलाउने परिवार पनि छैनन् । वर्षौसम्म तिनै भैसी, सडक, घाँसै मैदान र खुला आकाश नै उनको संसार बन्यो । उमेर ढल्किँदै गयो, शरीर कमजोर हुँदै गयो। भैंसी चराएर दिन बिताउने शक्ति पनि रहेन। अन्ततः सडकमा आइपुगे ।

 

सडकमा बिताएका केही दिनपछि उनलाई चितवन मानवसेवा आश्रमले उद्धार गरेर ल्यायो। आश्रममा आएपछि पनि गोविन्दको जीवन सहज भएन। पाँच पटकसम्म उनी अस्पतालको आईसीयू पुगिसकेका छन् । कहिले रगतको कमी, कहिले अत्यधिक कमजोरी । शरीरले साथ नदिँदा पटक–पटक अस्पताल पुर्‍याउनुपर्‍यो।
तर अहिले पनि आश्रमको गेटमा पुग्दा उनी मुस्कुराउँदै नमस्कार गर्न आइपुग्छन् । बोल्न नसक्ने उनको अभिवादनमा भने धेरै कुरा हुन्छन्—आभार, आत्मीयता र सायद आफू सुरक्षित भएको अनुभूति ।

आश्रममा वृद्धवृद्धा मात्रै छैनन् । १६ वर्षकी सृजना खत्री पनि त्यहीँ छिन्। उनलाई आफ्नो पारिवारिक पृष्ठभूमिबारे धेरै कुरा थाहा छैन । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि भरतपुर महानगरपालिका–१० नहरचोकमा हिँडिरहेको अवस्थामा उनलाई उद्धार गरेर आश्रममा ल्याइएको थियो। अहिले उनी नियमित औषधि सेवन गर्छिन् ।

धेरै बोल्न रुचाउँदिनन् । एकान्तमा खेल्न मन पराउँछिन् । आश्रम उनलाई प्यारो लाग्छ। सडकमा अपरिचित संसारबीच हराइरहेकी सृजनाका लागि अहिले आश्रम सुरक्षित ठाउँ बनेको छ। उनको अगाडिको बाटो भने अझै लामो छ—उपचार, संरक्षण, शिक्षा र सम्भव भए परिवारसँगको पुनर्मिलन।

 

गोविन्द र सृजना त प्रतिनिधि पात्र भए जीवनका अनेक मोडमा परिवारबाट टाढिएका मानिसका लागि भरतपुर–९ स्थित चितवन मानवसेवा आश्रम एउटा छानो बनेको छ । हराएका जीवनलाई फेरि परिवारसम्म जोड्ने प्रयासको थलो बनेको छ ।

आश्रममा आउने हरेक मानिसको कथा एउटै हुँदैन। सबैको कथा फरक फरक रहेको चितवन मानव सेवा आश्रमका कार्यवहाक अध्यक्ष विनोद ढकाल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “कोही परिवारसँग सम्पर्कविहीन भएर सडकमा आएका छन्। कोही मानसिक समस्याका कारण घरबाट टाढिएका छन् । कोही जटिल रोगले थलिएपछि परिवारकै लागि बोझजस्तो महसुस भयो कि भनेर सडकमा आएका छन् । कसैलाई आफ्नो नाम र ठेगानासमेत सम्झन कठिन पनि छन्।”

यस्ता मानिसलाई सडकबाट उद्धार गरेर आश्रम ल्याएर नयाँ जीवन दिने गरेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ कयौ त यहाँ ल्याउदा लयाउदै अवस्था गम्भीर भएका पनि छन्। तत्काल अस्पताल पुर्‍याउनु परेको छ । अस्पतालमा राख्दाको हेरचाह देखि उपचारपछि आश्रममा ल्याएर नियमित औषधि, खानपान, स्वास्थ्य निगरानी सबै समयम हेरेर गर्ने गरीएको उहाँको भनाई छ ।

 

तर आश्रमको उद्देश्य उनीहरूलाई जीवनभर यहीँ राखिराख्नु नभई सम्भव भएसम्म परिवार खोज्नु र सुरक्षित रूपमा घर फर्काउनु नै संस्थाको उदेश्य रहेको आश्रमका कार्यवहाक अध्यक्ष ढकाल बताउनु हुन्छ ।

यही प्रयासको परिणाम हो—चितवन मानवसेवा आश्रमले अहिलेसम्म ११२ जना आफ्ना परिवारसँग पुनर्मिलन गराउन सफल भएको छ । वि.स. २०७२ भदौदेखि सञ्चालनमा आएको आश्रमले हालसम्म २४५ जनाको उद्धार गरेको बताउदै उहाँ भन्नुहुन्छ, “११२ जनालाई परिवारमा पुनःस्थापना गरिएको छ भने ४५ जनाको आश्रममै निधन भएको छ।”

 

अहिले आश्रममा १५ जना पुरुष, २६ जना महिला, २ जना बालबालिका सहित ४६ जना आश्रित छन् । ११२ जना परिवारमा फर्किनु आश्रमका लागि केवल एउटा तथ्यांक होइन। यो सडकमा हराएका ११२ जीवनले फेरि आफ्नो घरको बाटो भेट्टाएको कथा हो।

आश्रममा बिहानैदेखि सुरु हुन्छ सेवा । आश्रयमा रहेका वृद्ध, युवा, महिला र बालबालिकाको स्वास्थ्य अवस्था बुझ्नु, खानपिनको व्यवस्था मिलाउनु, उपचार र औषधिको व्यवस्थापन गर्नु अनि उनीहरूको भविष्यबारे सोच्नु कार्यवहाक अध्यक्ष ढकालको दैनिकी हो ।

आश्रममा आउने हरेक मानिससँग फरक पीडा हुन्छ। त्यसलाई बुझ्न केवल औषधि र खाना पर्याप्त नहुने भन्दै उहाँ भन्नुहुन्छ, “कसैलाई कुरा गर्ने मान्छे चाहिन्छ, कसैलाई साथ, कसैलाई परिवारको खोजी र कसैलाई केवल सुरक्षित भएर सुत्न पाउने ठाउँ भए हुन्छ ति सबै कुरा बुझे पछी सोही अनुसारको व्यवस्थापनमा आश्रम लाग्ने उहाँको भनाई छ । उहाँ सेवा भनेको केवल खाना खुवाउनु मात्रै नभई मानिसलाई फेरि मानिसकै रूपमा स्थापित गर्ने प्रयास गर्नु रहेको बताउनु हुन्छ । आश्रममा रहेका धेरैजसो मानिस कुनै न कुनै शारीरिक वा मानसिक समस्यासँग जुधिरहेका कारण व्यवस्थापनमा निकै समस्या हुने गरेको उहाँको भनाई छ ।

 

बिहान र बेलुका स्वास्थ्यकर्मीले उनीहरूको स्वास्थ्य अवस्था हेर्छन् । नियमित औषधि खुवाइन्छ। आवश्यक परे अस्पताल लगिन्छ। जटिल अवस्थामा सडकबाट उद्धार गरिएका व्यक्तिका लागि उपचार नै पुनर्जीवनको पहिलो खुड्किलो बनेको उहाँको भनाई छ ।

गोविन्द त्यसका उदाहरण रहेको बताउदै कार्यवहाक अध्यक्ष ढकाल थप्नु हुन्छ, “आश्रममा पाँच जना कर्मचारी दैनिक सेवामा खटिएका छन् । स्वास्थ्यले साथ दिने र काम गर्न सक्ने आश्रितहरू पनि आफ्नो क्षमताअनुसार दैनिक काममा सघाउने गरेका छन् ।” यसले आश्रमलाई केवल आश्रयस्थल नभई पारिवारिक वातावरण दिने प्रयास गरेको उहाँको भनाई छ ।

 

आश्रममा रहेका दुई बालकको जीवनमा भने अर्को ढोका खुलेको छ । उनीहरूलाई स्थानीय निजी विद्यालयमा पढाउने व्यवस्था गरिएको छ । कुनै समय सडकमा असुरक्षित अवस्थामा भेटिएका बालबालिकाको हातमा अहिले किताब छ। उनीहरू विद्यालय जान्छन् । कक्षाकोठामा बस्छन् । अरू बालबालिकाजस्तै भविष्यका सपना देख्न पाउँछन । आश्रममा रहेका सबै उमेरका मानिसहरुले गर्दा उनीहरुलाई पारिवारीक वातावरण दिएको ढकालको भनाई छ ।


चितवन मानवसेवा आश्रमको दैनिकी दाताहरूको सहयोगमा चलिरहेको बताउदै कार्यवहाक अध्यक्ष ढकाल बताउनु हुन्छ, “महिनामा दुई–चार दिनबाहेक अधिकांश दिन कुनै न कुनै व्यक्ति वा संस्था खाना लिएर आश्रम आउनु हुन्छ ।” कसैले जन्मदिनको अवसरमा खाना खुवाउँछन् । कसैले वैवाहिक वर्षगाँठ सम्झेर। कसैले दिवंगत आफन्तको पुण्यतिथिमा। कसैले आफ्नो संस्थाको स्थापना दिवसका अवसरमा। खानासँगै लत्ताकपडा र आवश्यक सामग्री पनि सहयोग हुने गरेको संस्थाले जनाएको छ।

 

यसरी आश्रमका ४६ जना आश्रितको दैनिक जीवनमा समाजका अनेक हात जोडिएका छन् । आश्रितहरूको खाना, उपचार, औषधि, लत्ताकपडा, शिक्षा र दैनिक व्यवस्थापनमा मासिक करिब तीन लाख रुपैयाँ खर्च हुने गरेको संस्थाको भनाई छ । यस वर्ष बागमती प्रदेश सरकारले केही सहयोग गरेको छ। वडा कार्यालयबाट पनि बेलाबेला सहयोग प्राप्त हुन्छ। तर ठूलो आर्थिक भार भने दाता, सामाजिक व्यक्तित्व र आश्रम सञ्चालकहरूले धान्दै आएको संस्थाको भनाई छ ।

 

मानवसेवा आश्रमको आश्रय दिनमा मात्रै सीमित छैन। सडकबाट मानिसलाई उठाएर सुरक्षित ठाउँमा ल्याउनु पहिलो खुड्किलो हो। उपचार गर्नु दोस्रो। हेरचाह गर्नु तेस्रो। तर यात्राको सबैभन्दा सुखद मोड तब आउँछ, जब वर्षौंअघि छुटेको परिवार फेरि भेटिन्छ। कसैले वर्षौंपछि आमाबुबा भेटे होलान् । कसैले छोराछोरी। कसैले दाजुभाइ वा दिदीबहिनी। कसैले आफूलाई खोजिरहेको परिवार।

यहाँ रहेका ४६ जनाले परिवार भेटिन बाँकी छ। कसैको उपचार पूरा हुन बाँकी छ। कसैले आफ्नो विगत सम्झन बाँकी छ। तर आश्रमको आँगनमा उनीहरूका लागि एउटा आशा जीवित छ । सबैका आफन्त भेटीउन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement