श्रावणको पहिलो सोमबार ६० बेलका बिरुवा रोपियो, संयुक्त सामाजिक अभियानलाई निरन्तरता
भरतपुर, साउन ४ — धार्मिक, स्वास्थ्यवर्धक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण मानिने बेलको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले योगी नरहरीनाथ आश्रम तथा आध्यात्मिक परिषद्को प्रा·णस्थित लायन्स बेलवाटिका मा श्रावण महिनाको पहिलो सोमबार ६० वटा बेलका बिरुवा रोपिएका छन् ।
श्रावणको पहिलो सोमबारको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम विगत ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अभियानअन्तर्गत सम्पन्न गरिएको हो। यस अभियानले धार्मिक आस्था, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन
मा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
कार्यक्रमका लागि आवश्यक करिब ७० वटा बेलका बिरुवा आफ्नै घरमा उत्पादन, संरक्षण तथा हुर्काएर उपलब्ध गराउनु भएकी कल्पना गौतमप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ।
वृक्षारोपण कार्यक्रममा लायन्स डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, डिष्ट्रिक्ट सेकेन्ड भ्वाइस गभर्नर कमलप्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो भने डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर कृष्ण पाण्डेसहित विभिन्न लायन्स क्लबका पदाधिकारी, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक रुपा पियाका अनुसार बेल वृक्ष धार्मिक महत्वका साथै औषधीय गुण, वातावरणीय सन्तुलन र जैविक विविधता संरक्षणका दृष्टिले अत्यन्त उपयोगी भएकाले यसको संरक्षण र विस्तारमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भयो । उहाँले विगत ११ वर्षदेखि सञ्चालन हुँदै आएको अभियान आगामी वर्षहरूमा पनि निरन्तर अघि बढाइने बताउनुभयो।

यसैबीच, लायन्स क्लब अफ चितवन मर्सी राइजसहित तीन वटा लायन्स क्लबले संयुक्त रूपमा सञ्चालन गर्ने वार्षिक सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सार्वजनिक गरेका छन् । ती कार्यक्रम अन्तर्गत लायन्स बेलवाटिकामा वृक्षारोपण, देवघाटस्थित महेश सन्यास आश्रम परिसरमा फलफूलका बिरुवा रोपण, कुशे औँशीका अवसरमा समाज कल्याण संस्थामा रहेका ज्येष्ठ नागरिकलाई भोजन सेवा तथा कपडा वितरण, घटस्थापनाका अवसरमा “हाम्रो घर” मा संरक्षित बालबालिकालाई भोजन, न्यानो कपडा, टीका तथा दक्षिणा वितरण, कोजाग्रत पूर्णिमामा आदर्श गृह नेपालका आश्रितलाई दशैंको टीका, दक्षिणा, भोजन तथा कपडा वितरण, दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी (ह्वाइट स्टिक) र स्लेट वितरण तथा इच्छाकामना–६ स्थित तुन्तेष आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिने जनाइएको छ।
आयोजकले सामाजिक सेवा, वातावरण संरक्षण र मानवीय सहयोगलाई निरन्तरता दिने उद्देश्यसहित यस्ता कार्यक्रमहरू आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गरिने जनाएको छ।
सम्बन्धित खवर
-
काठमाडौं , साउन ४ – साउनको पहिलो ...
-
काठमाडौँ, साउन ४ – सरकारले ...

















