0Shares
काठमाडौं । सर्वसाधारणका लागि जारी गरिने प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिनका लागि नक्कली बैंक खाता र हितग्राही खाता (डिम्याट एकाउन्ट) खोल्ने क्रम बढेको पाइएको छ । पछिललो समय सर्वसाधारणका लागि सेयर जारी गरेको नेपाल इन्फ्रास्टक्र बैंक (निफ्रा)मा मात्रै करिव साढे ७ भन्दा बढी नक्कली बैंक खाता र हितग्राही खातामार्फत सेयर आवेदन भएको पाइएको छ ।

विशेषगरी बैंक, ब्रोकर तथा मर्चेण्ट बैंकरसँग पहुँच भएका व्यक्तिले सयौ जनाको नागरिकता तथा फोटो संकलन गरेर नक्कली बैंक खाता तथा डिम्याट खाता खोलेर प्राथमिक सेयरमा आवेदन दिँदै आएका छन् । सुरुवाती दिनमा कुनै व्यक्तिको तीन पुस्ते विवरण वा नागरिकताको आधारमा सेयर आवेदन दिँदै आएका केही समुहहरुले पछिल्लो समय नियामक निकायले कडाई गरेसँगै नक्कली बैंक खाता र डिम्याट खाता खोलेर आईपीओमा आवेदन दिने थालेका हुन् ।

पछिल्लो समय निफ्राको आईपीओमा सबैभन्दा बढी साढे १५ लाख लगानीकर्ताले आवेदन दिएकोमा सोमध्ये करिव ५० प्रतिशत बैंक खाता र डिम्याट खाता फेक रहेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । अहिले सेयर भर्नकै लागि एउटै व्यक्तिले सयौं जनाको नागरिकता संकलन गरेर बैंक खाता र डिम्याट एकाउण्ट खोलेको पाइएको सम्बद्ध निकायले जानकारी दिएको छ । ‘पहिला बोराका बोरा नागरिकताको फोटोकपी संकलन गरेर एउटै व्यक्तिले हजारौं जनाको नाममा आईपीओ भर्दै आएका थिए,’ एक लगानीकर्ताले भने, ‘अहिले नियामकले त्यसरी सेयर आवेदन दिन बन्देज लगाएसँगै तिनै नागरिकताको फोटोकपीको आधारमा बैंक र ब्रोकर तथा मर्चेन्ट बैंकरका कर्मचारीसँगको मिलेमत्तोमा आफुखुशी बैंक र डिम्याट खाता खोलेर आईपीओमा आवेदन दिन थालेका छन् ।’ पछिल्लो समय प्राथमिक सेयर खुलेका कम्पनीको आईपीओमा एउटै व्यक्तिले गैरकानूनी रुपमा खाता खोलेर ३÷४ सय वटाभन्दा बढी आवेदन दिएको ती लगानीकर्ताले जानकारी दिए ।

विशेषगरी पछिल्लो समय आईपीओको खेती गर्ने सिमित समुहले नागरिकताको आधारमा आफुखुशी बैंक र डिम्याट खाता खोलेर आवेदन दिन थालेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । कानूनत सम्बन्धित व्यक्ति नै उपस्थित भएर बैंक खाता वा डिम्याट खाता खोल्नु पर्ने प्रावधान छ । तर केही ठूला लगानीकर्ता तथा सिमित समुहले पहुँचका आधारमा बैंक, मर्चेण्ट बैंकर र ब्रोकरका कर्मचारीसँगको मिलेमत्तोमा सम्बन्धित व्यक्ति उपस्थित नभइकनै खाता खोलिदिएपछि आईपीओ भर्नकै लागि फेक बैंक एकाउन्ट र डिम्याट खाता खोल्ने क्रम बढेको हो ।

त्यसरी खाता खोलेर आईपीओको गैरकानूनी धन्दा चलाउँदै आएका व्यक्तिले धेरैजसो खातामा एउटै हस्ताक्षर राख्ने र त्यस्ता व्यक्तिको खाताको चेक समेत आफैले लिएर संचालन गर्दै आएका छन् । त्यसरी खाता खोल्नलाई रोक्नका लागि नियामक निकायहरु नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले नियमन गर्नुपर्ने भएपनि हालसम्म उक्त विषयमा कुनै चासो नदिएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

तर पछिल्लो समय नेपाल धितोपत्र बोर्डले भने फेक एकाउण्ट खोलेर सयौं जनाको नाममा आफुखुशी आईपीओमा आवेदन दिने व्यक्ति तथा समुहहरु माथि छानविन प्रक्रिया अघि बढाएको छ । ‘फेक एकाउण्ट खोलेर एकै जनाले सयौं व्यक्तिको नाममा आईपीओमा आवेदन दिन गरेको गुनासोहरु हामीकहाँ आएको छ,’ बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने, ‘यस विषयमा छानविन गर्नका लागि आन्तरिक रुपमा तयारी गरिरहेका छौं ।’ साथै नक्कली बैंक एकाउण्टको सम्बन्धमा राष्ट्र बैंकले छानविन गर्नपर्ने भएकाले केही दिन भित्र सो विषयमा राष्ट्र बैंकलाई समेत पत्राचार गरिने उनले जानकारी दिए ।

पछिल्लो समय सम्बन्धित व्यक्तिलाई थाहै नदिई डिम्याट खाता खोलेर आईपीओमा आवेदन दिने गरेको गुनासाहरु आएको समेत उनले जानकारी दिए । नो योर कस्टुमर (केवाईसी)लाई डिजिटाईजेशमा वा केन्द्रिकृत नगरेसम्म यस्ता खालका गलत क्रियाकलापलाई रोक्न कठिन हुने समेत उनले जानकारी दिए ।

साथै त्यसरी फेक एकाउण्ट खोल्ने व्यक्ति वा समुहले सबैजसो बैंक खातामा आफ्नौ मोबाईल नम्बर र एउटै खालका हस्ताक्षर राख्ने गरेको पाईको छ । नेपालमा अर्काको नाममा फारम भर्नेदेखि फेक एकाउण्ट खोलेर आईपीओको आवेदन दिने धन्दा चलाएको २० बर्ष हुँदा पनि नियामकले चासो नदिँदा यसले थप प्रशय पाएको छ । तर पछिल्लो समय यो प्रवृत्ति झनै मौलाउन थालेको समेत सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement