सम्पादक पोखरेलसहित चितवनका १३ पत्रकार पुरस्कृत
सुमन पराजुली
भरतपुर । नेपाल पत्रकार महासंघ, चितवनको आज शनिबार सम्पन्न साधारणसभामा चितवनपत्रका सम्पादक हरिप्रसाद पोखरेल ‘मैयादेवी पत्रकारिता पुरस्कार’ र सम्मान पत्रबाट पुरस्कृत भएका छन् । पोखरेल चितवन शाखाका पूर्व अध्यक्ष समेत हुन् । उनलाई ५१ हजार एक सय ५१ रुपियाँसहित सम्मान पत्र प्रदान गरियो ।
चितवन जिल्लामा रहेर दुई दशकदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन एवम् व्यावसायिक पत्रकारिताको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पोखरेललाई पुरस्कृत गरिएको हो ।
मैयादेवी पत्रकारिता पुरस्कार र सम्मान पत्रबाट पोखरेलसहित कान्तिपुरका दिपेन्द्र बडुवाल समेत सम्मानित भएका छन् ।
चितवन शाखाको साधारण सभामा विभिन्न विधाका गरी १३ जना चितवनका पत्रकारलाई समेत पुरस्कार वितरण गरिएको छ ।
पुरस्कार छनौट समितिका सदस्य दिपक आचार्यले कार्यक्रममा पुरस्कृत पत्रकारहरुको नामावली प्रस्तुत गर्दै हरेक वर्ष महासंघबाट वितरण गर्ने पुरस्कार कोभिडका कारण अघिल्लो वर्ष स्थगित भएकाले अहिले सँगै वितरण गर्न लागिएको हो । महासंघको बनाएको निर्देशिका बमोजिम छनौट समिति निर्माण भएको र समितिले पुरस्कार पाउनेहरुको नाम साधारण सभामै जानकारी दिएको उनले बताए ।
यसैगरी ५० हजार ५१ रुपियाँको अनन्तगंगा पत्रकारिता पुरस्कारबाट साधारण सभामा रेशम बिरही र ईश्वर जोशी पुरस्कृत भएका छन् ।
यस वर्ष दुई जना पत्रकारलाई जनही ११ हजार तीन सय ११ रुपियाँ र सम्मान पत्र सहित स्व.तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कार पनि वितरण गरियो । यो पुरस्कारबाट नारायणप्रसाद सापकोटा र अनिल ढकाल सम्मानित भए ।
साधारण सभामा चारजना पत्रकार महिलाहरु समेत पुरस्कृत भएका छन् । ११ हजार एक सय ११ रुपियाँको ‘बालकुमारी–विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’ बाट सरिता महतो र सुजिता हमाललाई पुरस्कृत गरिएको महासंघले जनाएको छ । महिला पत्रकारहरुलाई मात्र वितरण गरिने अर्को पुरस्कार श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट भने अनिता अर्याल र सविता दराईलाई पुरस्कृत गरियो । यस पुरस्कारको राशी १० हजार एक सय ११ रुपियाँ रहेको छ ।
यसैगरी ११ हजार १११ रुपियाँको उत्तरध्वज–सूर्यकुमारी पत्रकारिता पुरस्कारबाट पत्रकार सूर्य पाठक पुरस्कृत भएका छन् ।
चितवन शाखाले यस वर्षमात्रै स्थापना गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट पनि दुईजना पत्रकार सम्मानित भएका छन् । यो पुरस्कारको राशी पनि ११ हजार १११ रहेको छ ।
पुरस्कार प्राप्त गर्ने पत्रकारको छनौट गर्न महासंघले यसअघि नै अध्यक्ष राधेश्याम खतिवडाको संयोजकत्वमा पूर्व अध्यक्ष जनक अर्याल र वरिष्ठ पत्रका दिपक आचार्य सदस्य रहेको समिति गठन गरिएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष एवम् प्रमुख अतिथि बिपुल पोखरेल, केन्द्रीय सचिव रामप्रसाद दाहाल, प्रेस संगठनका वाग्मती प्रदेश इन्चार्ज विश्वमणि सुवेदी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पुरस्कृत पत्रकारलाई बधाई दिँदै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसैगरी कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्यहरु कृष्ण गिरी, पुरुषोत्तम सुवेदी र सृजना अर्याल, वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट,
महासचिव कृष्ण सारु मगर, र वागमती प्रद्रेशका प्रेस रजिस्ट्रार रेवती सापकोटा, महासंघका केन्द्रीय सदस्य पुरुशोत्तम सुवेदी, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाइँ, काभ्रेपलाञ्चोक शाखा अध्यक्ष मोतिराम तिमिल्सिनाले समेत पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गरेका थिए ।



















