नमूनाको आत्मसंघर्ष
लकडाउनको समयलाई सदुपयोग गर्दै वैकल्पिक बाटो खोजेदेखि सफलता पनि हात पार्न सकिन्छ । यस्तैमा एक पात्र हुन्– भरतपुर महानगरपालिका १० मा रहेको नमुना लेडिज ट्रेलर्सकी सञ्चालिका नमुना पौडेल ।
कोरोनाको हल्ला र लकडाउनको घोषणासँगै बजारमा मास्कको कालोबजारीले चर्को अभाव हुन थालेपनि फेसबुकमा राखेको एउटा भिडियोको सिको गर्दै उनले बनाएको कपडाको मास्कले नै उनलाई अहिले सबैका सामु चिनाएको छ ।
नमुनाले भरतपुरमा ट्रेलर्स चलाएकै १० वर्ष भइसक्यो, तर अहिले जति दङ्ग उनी कहिल्यै भईनन् । यो सक्रियाताले उनलाई जागरुक त बनाएको छ नै, सँगसँगै समाजसेवी र आर्थिक लाभ पनि प्राप्त भएको छ ।
लकडाउनमा उनले खोजेको वैकल्पिक बाटोले अहिले फराकिलो यात्रा तय गरेको छ । हालसम्म उनले एक लाख बढि मास्क बिक्री गरिसकेकी छन् भने कैयौँलाई निःशुल्क मास्क वितरण पनि गरेकी छन् ।
उनले आफैले चलाएको ट्रेलर्समा थप २ जनालाई रोजगार दिएकी छन् । कुनैबेला शिक्षण पेसा गर्ने नमुनाले शिक्षण पेसामा पाएको आर्थिक अभावले कपडा सिलाउने काम सिकेर यसमै जमिरहेकी छन् । संकट र महामारीको समयमा पनि आफ्नो पेसालाई अब्बल बनाउन सफल नमुना पौडेल अहिले नाममात्र ‘नमुना’ नभएर साच्चैको नमुना बन्नु सफल भएकी हुन् ।
२०३७ सालमा लमजुङ्ग जिल्लामा बाबा रामहरि मिश्रको र आमा डोलमाया मिश्रको कोखबाट दुई सन्तान मध्ये पहिलो सन्तानको रुपमा यस धर्तीमा पाइला टेकेकी नमूना नाम, नामाकरण गरिएकी पुत्री वा छोरी हुन् । उनी जन्मनु भन्दा पहिला बाबा आमाको सम्बन्धमा कुनै खोट लगाउनु पर्ने थिएन । जव आफू छोरी भएर जन्मनुकै कारण सुमधुर सम्बन्धमा बाँधिएका बाबा आमाको एक्कासी सम्बन्धमा खट्पट् आउन थाल्यो । मनमा हरि र आँखामा दया नभएका पितृसतात्मक सोँच भएका आफ्नै जन्म दिने बाबाले दुई जिउकी आफ्नो श्रीमती र छोरी (नमूना) लाई घरबाट सदाका लागि त्यागिदिए । आफ्नो जिम्मेवारी बहन गर्न सक्ने क्षमता नभएका छोरा जन्माएर के–के न हुन्छ भन्ने सोँच भएका बाबाको अहिलेसम्म न्यानो माया र शीतल छहारी अनुभव सम्म पनि गर्न पाएकी छैनन् । सकारात्मक सोँचकी धनी नमूना अझैं पनि बाबाको खोजीमा छन् ।
नमूनाकी हजुरआमाले (माइती पट्टिको ) भगवान सधैं दाहिने रहुन् भन्ने आशिर्वाद दिएकी रहिछन् र पो उनको मामा भगवानको रुपमा प्रार्दुभाव भए । भगवानरुपी मामाको छत्रछायाँमा वा न्यानो मायामा हुर्कने सु–अवसर मात्र हैन, शिक्षा दिक्षा असल संस्कार दिएर दुइवटी भान्जी र आफ्नी दिदीलाई केही कुराको कमी हुन नदिई आफूँ समाजमा एउटा असल र उदाहरणीय भाई अनि मामाको रुपमा प्रस्तुत भएका छन् ।
बाइस वर्षको कलिलो उमेरमा नै श्रीमान्बाट तिरस्कृत भएर बस्नुपर्दाको पिडालाई घुटुक्क पिएर फूलका थुँगा जस्ता दुई छोरीहरुको अनुहार र यिनकै भविष्यलाई हेरेर आफ्नो जवानीलाई त्यागेर, आमा हुन पाउनुमै गर्व गरेर, यति मात्र हैन छोरी (नमूना) को विवाह गर्ने क्रममा आमा माइत बस्नुको कारणमा उनीप्रति हेर्ने दृष्टिकोणमा खोटसम्म पनि लाउन पछि परेनन् । यस्ता लाञ्छना र श्रीमान्बाट बिछोडिएर बस्नु पर्दाको पिडा, आफ्नो शरीरको पर्वाह नगरी यिनै दुई सन्तानको मुख हेरेर र आफ्नो भाईको छत्रछायामा बसेकी सोझी, शालिन भद्र आमाको बात्सल्य मायाँ पाउँदा नमूनाले ह्दयदेखि नै आमालाई मान, सम्मान, कदर र आगाध माया गर्छिन् ।
जन्म दिने बाबाको माया ममता यस्तै हुन्छ भन्ने थाहा नपाएकी नमूनाले कर्म दिने घरमा पनि वावाको माया पाउन सफल भईनन् । विवाह गरेर नयाँ जीवन शुरुवात गर्ने समयमा दाइजोमा कमी देखाएर नमूनालाई गरिबको छोरीको उपाधी समेत दिईयो । गरीबको छोरी भएकै कारण घरबाट पनि बाहिरिनु प¥यो । आफन्तहरुले अपमान गर्दा कति दुःखी भईन्छ , यसले उनका ह्दयमा ठूलो चोट पु¥यायो, कहिल्यै निको नहुने गरी । तर जन्म दिने बाबाले र नातामा जोडिएका आफन्तहरुले माया ममता नदिएर वा साथ सपोट नदिएर उनको जीवनमा खासै ठूलो असर परेको छैन । किन की उनलाई हर बखत हर क्षण साथ, सपोट, सुखमा रमाउने, दुःखमा साथ दिने सहयोगी, सक्षम, कर्तव्य परायण लगनशील हरेक अप्ठ्याराहरुलाई सहज र सरलीकरण बनाई दिने साथीको रुपमा उनका श्रीमान (प्रमोद पौडेल) पाएकी छन् । नमूनालाई अपार माया ममताका खानीको रुपमा विश्वासका साथ अगाडि बढ्न र बढाउन सधैं तत्पर गराउने प्रमोद जस्तो जीवनसाथी पाएर आफ्नो जीवन बदलिएको अनुभूति भएको छ । भनिन्छ –श्रीमान अघि बढ्नलाई श्रीमतीको हात रहन्छ भने श्रीमती अगाडि बढ्नलाई पनि श्रीमानको ठूलो हात र विश्वास रहन्छ । आज भन्दा उन्नाइस बर्ष अगाडि रुढीबादी समाजलाई धकेलेर प्रेम विवाह गरेका हुनाले यी जोडीलाई उदाहरणको रुपमा लिन सकिन्छ । किनकी श्रीमान्ले श्रीमतीलाई साथ दिएमा हरेक कुरामा सफल हुन सकिन्छ । बिहानीको मौसमले दिनको संकेत दिन्छ भनेझै उनको छोरा पनि त्यस्तै बुझकारी, घरको हरेक अवस्थालाई बुझ्न सक्ने, आज्ञाकारी, ज्ञानी, लगनशील र छोराको माया ममताले पनि उनलाई अगाडि बढ्न हौसला मिलेको छ । उनी एउटै सन्तानलाई काफी सम्झेर असल संस्कार, शिक्षा दिक्षा दिने सोँचमा छिन् । श्रीमान र छोराबाट मात्र हैन, उनकी आफ्नी प्यारी बहिनी (दिपा बात्ती) ले पनि उनलाई उत्तिकै माया ममता, साथ सपोट सुखमा रमाउने र दुःखमा धैर्यधारणा गर्न सान्त्वना दिने गर्छिन् । आफूभन्दा सानो भए पनि हरेक कुरामा सल्लाह दिने अनि बहिनी मात्र नभएर असल साथीको रुपमा रहेकी बताउँछिन । साथै उनका परिवारले पनि उत्तिकै माया ममता दिएको अवगत गराउँछिन नमूना ।
अबोध दिमागमा पैसा कसरी कमाउने र परिवारमा प्यारो कसरी बन्ने भन्ने दौरानमा आफ्नो अध्ययनलाई गुमाउनुको पिडालाई नमूनाले आत्मासाथ गरेकी छिन् । यही गरिबीको कारणले घरबाट बाहिरिनुको क्षणलाई चिरफार गर्दै शिक्षण पेशामा उनीहरु दुबै श्रीमान् श्रीमतीको प्रवेश भयो । दुवै जनाको शिक्षण पेशाले परिवार पालिन धौ धौ जस्तो महसुस गरि साथी बिमला अधिकारी (नेपाल) को प्रेरणाबाट आफू सिलाई बुनाई तिर जागरुक पनि भईन् । भीरबाट ढुंङ्गा रगडिदै–रगडिदै तलबगरमा खस्दा लोहोरो बन्छ भने जस्तै उनी धेरै दुःख संघर्ष गर्दै हुरी बतास , घामपानी, बाढी पहिरो, नदीका भेलहरु जस्तै जीवनका भेलहरु सँग भिड्दै आज लोहोराको रुपमा देखापरेकी छन् । खोला नदी, समुन्द्र बग्दै बग्दै गएर सागर बने जस्तै उनी पनि यहि सिलाई पेशाबाट बर्तमानमा आफूलाई सागर जस्तै बनेको बताउँछिन् ।
उनलाई पहिले लागेको थियो–पढाई गुमानु प¥यो, शिक्षण पेशा छोड्न् प¥यो, सिलाई सँगै सानो पसल राखेको छु , के होला र जस्तो ! तर आज त्यही बरदान सावित भएर आइदियो उनका लागि । नसोचेको कुरा हुन गयो । हुन त भविष्यको कुरा कसलाई पो थाहाँ हुन्छ र ! शिक्षण जस्तो इज्जतदार पेशालाई त्यागेर सिलाई जस्तो पेशालाई अंगाली भनेर आफन्तहरुबाट गुनासाहरु त्यतिबेला नआएको होइन, तर अहिले तिनै आफन्तले राम्रो गरिछौैं भन्दा छुट्टै आनन्द भएको उनी बताउछिन् ।
केही पाउन केही गुमाउनु पर्छ भने झैं कोभिड १९ ले सारा विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा उनको लुकेको जीवन कहानी उनले गरेको संघर्ष र क्षमता अनि लगनशीलताले उनी अनुकरणीय बनेकी छन् वा प्रेरणाको श्रोत बनेकी छन् । “साना साना समस्याले मान्छेलाई सुताई दिन्छ, ठूला ठूला समस्याले मान्छेलाई उठाईदिन्छ” भने झै कोभिड १९ को महामारीको बन्दाबन्दीको समयमा यतिकै घरभित्र “खाली दिमाग सैतानको घर” जमाएर बस्नु भन्दा मास्क बनाएर सामाजिक सञ्जालमा आफ्नो फोन सहित ‘मास्क चाहिएमा सम्पर्क गर्नुहोला’ भनेर सूचना गरेकी मात्र के थिइन्, उनी भएको ठाउँमा मास्क मागको लाइन लाग्यो । त्यसपछि निशेधाज्ञा उनको लागि बरदान सावित भइदियो । उनले आर्थिक लाभको साथै उनको सिलाई चर्चामा आउन थाल्यो । उनलाई झन् झन् हौसला बर्षिन थाल्यो । अनि दिनरात जनताका सेवाको लागि खटिएका प्रहरी जवान, विभिन्न अस्पतालको विस्तारामा रहेका बिरामीहरु, देवघाटधामका बृद्धबृद्धाहरु, मानवसेवा आश्रम, काम गर्ने मजदुर, दुःखी गरीब, देवघाटका बाँदर, धर्मसालाका गाई, सडकमा रहेका बालबालिका , सामाजिक संघसंस्था सामाजिक सञ्जाल, विभिन्न विद्यालयहरु (जिल्ला भित्र र जिल्ला बाहिर) सवैसँग परिचित भएर आँफूले गर्न सक्ने सहयोग मास्कबाट वा खान दिएर सेवाको भावना बोकी उनी यतिबेला हिडेकी छन् । उनीबाट हामी सवैले यो पाठ सिक्नुपर्छ, किताब पढेर मात्र सिक्ने होइन, मानिसका व्यवहारबाट पनि धेरै कुराहरु सिक्न सकिन्छ ।
फलाम तातेकै बेला हान्यो भने हतियार बन्छ भनेझैं यो निशेधाज्ञामा उनले मास्क उत्पादन गरेर समयको भरपुर सदुपयोग गरी आफ्नो काम र नामले जीवन सफल भएको अवगत गराउँछिन् ।
मृदुभाषीकी खानी नमूना टोलबासीहरुको प्रेरणाबाट साथीभाई छरछिमेकको सल्लाहबाट आफू अगाडि बढेको र वहाँहरुको आशिर्वाद पाएर यतिबेला सवैको आँखाको नानी बन्न सफल भएको बताउँछिन् । कतिपय केटी मान्छेहरु सामाजिक सञ्जालले घरबार विहिन भएका छन् तर नमूना आफूलाई सामाजिक सञ्जाल बरदान सावित भएको महसुस गरेकी छिन् ।
आफ्ना विगतका सवै कहानी थाहा पाएर आदर्श मा.वि.(आफूले पढेको विद्यालय) लमजुङ्ग जिल्ला सुन्दरबजारका आफ्ना आदरणीय गुरुहरु र साथीहरुको अपार माया ममता एवं सहयोग पाएको बताउँछिन् र आफूलाई गौरवान्वित भएको अवगत गराउँछिन् ।
उनी एउटा समान्य जीवनस्तर परिवेशमा हुर्केकी महिला हुन् । जसरी नदी आफ्नो गतिमा बगीरहेको छ, घडी आफ्नै तालमा घुमीरहेको छ, त्यस्तै गरी निरन्तरताले र मेहनतले पनि उनी आज आफ्नो जीवनमा हरेस नखाई हिँडिरहेकी छन् । सवैको माया र आशिर्वादले आज भरतपुर १० को बासिन्दा बन्न सक्नुले पनि उनीमा खुशीको सीमा छैन ।
‘बलेको आगो सवैले ताप्छन्’ भने झैं विगतका दिनमा उनीप्रति नकरात्मक सोँच राख्ने, तिरस्कार गर्ने आफन्तहरु बर्तमानमा उनलाई प्रसंसा गर्नमा पछि परेका छैनन् । “सकारात्मक सोचले मानिसको जीवनमा कति फरक पार्छ” भन्ने सोँच बनेकी नमूनाले विगतमा जे जस्तो भए तापनि घरमा सासु ससुरालगायत सबैलाई फूलबारीको फूलजस्तै सजाउन चाहकी छन् । दुःखको भुमरीमा र सागरमा डुबुल्की मारेर उत्रीएकी आफ्नो जन्म दिने आमालाई मनमन्दिरमा सजाएर राख्ने सपना बोकेकी छन् । यस्तो चाहना मनभरी बोकेकी नमूनाले सायद विपनीमा पनि ईश्वरको कृपाले यो सपना पुरा गरिदिनु हुनेछ भन्ने प्रार्थना गरेकी छन् । साथै सदा भलो चाहने शुभचिन्तकहरुले पनि सधैं सहि मार्गमा लाग्न प्रेरित गरिदिएमा अझैं अगाडि बढ्ने र दिन दुःखीहरुको सेवामा लाग्ने दृढ संकल्प बोकेकी छन नमूनाले ।



















