उद्धार गर्दागर्दै पनि २२ वटा बाँदर मरे
ओखलढुंगा — सिद्धिचरण नगरपालिका–५ सानीटारमा बिहीबार साँझ सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका छन् । १२ वटाको स्थानीय र वन डिभिजन कार्यालयका कर्मचारीले जीवितै उद्धार गरेका छन् ।
बाँदरले सँधै अन्नबाली खाएर दु:ख दिने क्षेत्र मानिने सानीटारमा शुक्रबार ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो । सिंचाइका लागि निर्माण गरिएको सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए ।
‘पानीको सतहमाथि हुँदा उनीहरुले सहजै पानी खाएर फर्किन्थे । तर हिजो चाहीँ पानीको सतह तल भएकोले पिउन खोज्दाखेरि डुबेर मरेको देखियो,’ डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख भरतबाबु श्रेष्ठले भने, ‘एउटा डुबेपछि अरु पनि पालैपालो पोखरीमा पसेर मरेको हुनसक्छ ।’
बाँदरको सामूहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरिएको छ । स्थानीय मिनप्रसाद दाहाल र विकास विशंखेले सुरुमा बाँदर पोखरीमा पसेको देखेका थिए । उनीहरुले सकेको जति उद्धार गर्दागर्दै पनि २२ वटा मरेको बताए ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















