भारतमा आज ७९ हजार व्यक्तिमा कोरोना भाइरस पुष्टि
नयाँदिल्ली — भारतमा पछिल्लो २४ घण्टामा करिब ७९ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार मात्रै थप ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकैदिनमा यति धेरै संख्यामा कुनै पनि देशमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । यसअघि गत जुलाई २५ मा अमेरिकामा एकैदिन ७८ हजार ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख ४२ हजार ७ सय ३३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ४८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ हजार ४ सय ९८ पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ७६.६१ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ६४ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म २७ लाख १३ हजार ९ सय ३३ जना निको भएका छन् भने करिब ७ लाख ६५ हजार संक्रिय केस रहेका छन् ।
भारतमा पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढिरहेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार शनिबार १० लाख ५५ हजार २७ नमुना परीक्षण भएको छ । भारतमा शनिबार साँझसम्म ४ करोड १४ लाख ६१ हजार ६ सय ३६ नमुना परीक्षण भएको छ ।
यसैबीच करिब ६ महिनादेखि बन्द रहेको दिल्ली मेट्रो रेल सेवा सेप्टेम्बर ७ देखि पुन: सञ्चालनमा आउने भएको छ । दिल्ली मेट्रोको नयाँ गाइडलाइनअनुसार टोकन प्रयोग गर्न पाइने छैन भने मास्क र स्मार्ट कार्ड अनिवार्य गरिएको छ । शनिबार केन्द्र सरकारले लकडाउनलाई बिस्तारै खुकुलो बनाउने विभिन्न चरणमध्ये ‘अनलक–४’ अन्तर्गत मेट्रो रेल सेवा पुन: सञ्चालन गर्ने घोषणा गरेको थियो ।
कोरोना संक्रमणका हिसाबले भारत विश्वमै तेस्रो प्रभावित मुलुक हो । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा आइतबार दिउँसोसम्म ५९ लाख ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म करिब एक लाख ८३ हजारको मृत्यु भइसकेको छ भने २१ लाखभन्दा बढी निको भएका छन् ।
आइतबार दिउँसोसम्म दुई करोड ५० लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ८ लाख ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये एक करोड ६१ लाखभन्दा बढी निको भइसकेका छन् ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















