रीनाको रहर : खेलकुददेखि राजनीतिसम्म
आफ्नो जीवनलाई चिरिच्याँट्ट पारेर सजाउन अनि समुन्नत र विकसित बनाउन कठोर परिश्रम र सक्रियतारुपी युद्ध, स्वच्छ विद्रोह वा स्वच्छ प्रतिस्पर्धारूपी लडाई आवश्यक पर्दछ । कठिन परिस्थितिसँग जो डटेर सामना गर्नसक्छ, उ खारिँदै पनि जान्छ । संघर्षले नै मानिसलाई समाजमा उदाहरणीय र प्रीयपात्र बनाईदिन्छ । यस्तै संघर्ष गरेर अगाडि बढिरहेकी एक पात्रको नाम हो, रीना गुरुङ्ग ।
जीवनका हरेक मोडहरुमा अनवरत रूपमा गरिरहेको परिश्रमले उनलाई रीना गुरुङ्ग मात्रै बनाएन । एउटा सफल राजनीतिककर्मी पनि बनाएर छाड्यो । स्थानीय निर्वाचन २०७४ मा उनी भरतपुर महानगरका लागि उपमेयरकी उम्मेदवार थिईन् । तर परिणाम उनको पक्षमा आएन । तैपनि उनले हिम्मत हारिनन् । उनको राजनीतिक यात्रामा बिराम लागेन । झन् राजनीतिक यात्राको पाईला अझ चल्यो । उपमेयरमा पराजित भएपनि पार्टीले उनलाई पत्यायो । पछि २०७४ कै प्रदेश सभा निर्वाचनमा उनी समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाग्मती प्रदेशको प्रदेश सभा सदस्य बन्न सफल भईन् ।
आमा टेककुमारी र बुबा लालप्रसाद गुरुङ्गको जेठीे सन्तानको रुपमा महिला नेतृ रीना गुरुङ्गको जन्म सन् १९८३ जुलाई २१ मा पर्साको ठोरीमा भएको हो । बुबा भारतीय सेनामा भएका कारण डेढ दुई वर्षको उमेरमा उनी आमासंग भारततर्फ लागिन् । बुबा भारतीय सेनामा जागिरे भएका कारण बाल्यकालमा भारतका विभिन्न स्थानमा रहेर उनले अध्ययन गर्नुपर्यो ।
मानिस सफल हुनको लागि उत्प्रेरणाको आवश्यक पर्छ । त्यसमा पनि स्वउत्प्रेरणा त झनै मानिसलाई शिखरमा पु¥याउन मद्धत गर्छ । प्रत्येक ठूला सफलताहरु एउटा सपनाबाट शुरु हुन्छ । मानिसले पनि आफ्नो जिवनमा मौकाको सही सदुपयोग गरेर आफ्नो क्षेत्रमा उच्चतम फड्को मार्न प्रयासरत रह्यो भने अवश्य पनि सफल हुन्छ भन्नेकुरा रीना गुरुङ्गको जीवनीबाट थाहा हुन्छ ।
दुई भाईकी प्यारी दिदी रीनाले स्कुले जीवनमा सधै खेलकुदमा आफुलाई अगाडी बढाउँदै लगिन् । पढाईमा मध्यम भएपनि खेलकुदमा भने सधै सफलता हात लागेको उनी बताउँछिन् । एथलेक्टिक्सका खेलहरु, हाईजम्प, लंगजम्प दुई सय, पाँच सय र आठ सय मिटरका दौडहरुमा पाएको सफलताले उनको जीवनलाई पनि यसरी नै दौडाई रह्यो । सामुहिक भन्दा पनि एकल खालका खेलमा सहभागि हुन मन पराउँथिन् उनी । उनी भन्छिन्, ‘एकल प्रतिष्पर्धाका खेलहरुमा बढी सहभागि भएँ । समुहमा खेल्दा समय मिलाउन समस्या हुने । एक्लै खेल्दा अभ्यास गर्न पाउँथे ।’
आफ्नो जीवनलाई बाल्यकालबाट नै सफल तरिकाले जिउने प्रयास गरेकी रीनाले कक्षा ११ पढ्दै गर्दा घोड चढी खेलमा आफुलार्इृ निर्पुण पारिसकेकी थिइन् । ठूलो सोँच्ने ब्यक्तिको सफलता पनि ठूलै हुन्छ भनेझै उनले हरेक वातावरणमा आफुलाई निर्खादै लगिन् ।
जीवन अर्थात् जिन्दगीसँग गाँसिन आउने अनेकन संघर्षमा शब्दसंग मुकाबिला गर्दै निरन्तर सक्रियता तथा कठोर परिश्रम गर्नु नै जीवन हो भन्ने अर्थमा उनी पुगिन् । जीवन के हो भनेर बुभ्mन खोज्दै गर्दा आफ्नो खेलमा रमाउँदै गरेको जीवनलाई व्यवसायीक रुपमा अगाडी बढाउने सोचेर उनले पढाईमा एमबीए गरिन् । पढाईसंगै अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँदै जाँदा कोमल हातहरुले ‘टुनटटु’ र ‘एसएलआर’ राईफल चलाउन उनले सिकीसकेकी थिईन् । उनका हातले राइफल मात्र चलाउन सिकेन, त्यही हातले आकर्षक डिजाईनका कपडाहरु बनाउ थाले । पढाईकै सिलसिलामा उनले फेसन डिजाईनमा ईन्टनसिप गरिन् ।
जीवनमा अगाडि बढ्दै जाँदा व्यवस्थापन विषय अध्ययन गरेका कारण उने कर्पोरेट क्षेत्रमा आफ्नो भविष्य खोज्न थालिन् । भारतीय पेट्रोल कर्पोरेसन लिमिटेडमा काम गरेको अनुभवका कारण व्यवसायिक जीवन आफ्नै मातृभूमिमा गर्ने साँेच आयो उनलाई । अनलाईन मार्फत नेपालमा कामहरु खोज्न थालिन् । त्यसै शिलशिलामा काठमाण्डौमा कालिका ग्रुपमा कर्मचारी आह्वान गरेको देखिन् । घर परिवारमा सल्लाह भयो, नेपालमा गएर काम गर्ने । कालिका ग्रुपमा निवेदन दिईन् । तर परिवारका सदस्यले चितवन बाहेक बाहिर गएर काम गर्न अनुमति दिएनन् । चितवनमा नै काम पाएको अवस्थामा नेपाल आउने कुरा हँुदै गर्दा अन्तर्वाताका लागि फोन गयो । कालिका ग्रुपका अध्यक्ष बिक्रम पाण्डेले लिएको अन्तर्वातामा उनी छनौट पनि भईन् ।
नेपालीमा एउटा भनाई छ–‘सूर्यलाई ताकेर झटारो हान्यो भने अग्लो रुख त पक्कै भेटिन्छ । ठुलो सोच अथवा लक्ष्य बनायौं भने साना तथा मझौला लक्ष्यहरु त सजिलै भेटिन्छ ।’ अन्तवार्तामा सफल भएसंगै कहाँ काम गर्ने भनेर कुरा हुदै गर्दा उनले चितवनमा काम गर्ने प्रस्ताव राखिन् ।
‘कालिका ग्रुपद्धारा सञ्चालित कालिका एफ एमको एचआरमा काम गर्ने भनेर आएँ ।’–कालिका एफएममा प्रवेशको सुरुवातबारे उनले जानकारी दिईन् ।
बाल्यकालमा खेल जीवनबाट सुरु भएको जीवनले मातृभूमिमा आएर जनसम्पर्क अधिकृत भएर काम गर्ने सोँचका साथ आएपनि उनले प्रशासकीय अधिकृतको रुपमा काम सुरु गरिन् । पढाईको सिलसिलामा विभिन्न ठाँउमा काम गर्दै र सिक्दै आएको अनुभव उनीसँग थियो । कालिका एफएममा आवद्ध भएको दुई वर्षमा नै स्टेशन म्यानेजर भएर रेडियो हाक्न थालिन् ।
उनले कालिका एफएममा पाएको सफलतालाई आत्मविश्वासका साथ भन्छिन्, “तपाईंको मुख्य लक्ष्य अर्थात् ठूलो लक्ष्य त कार्यकारी हुने नै राख्नुहोस् । जति ठुलो लक्ष्य राखिन्छ, त्यति नै ठुलो बिश्वास कायम राख्नुपर्छ । र, त्यति नै ठूलो योजना बनाएर अगाडि बढियो भने सफल भैहालिन्छ नि ।’
रेडियोको स्टेशन म्यानेजर भएलगतै उनले महिलाहरुलाई प्रोत्साहन गर्न थालिन् । पत्रकार महिलाहरुलाई पहिलो प्राथमिकतामा राखेर राजनीतिक बहस सञ्चालन गर्न प्रोत्साहन गर्ने काम भयो । त्यसैगरी पत्रकार महिलाहरुको संख्यात्मक साथै गुणात्मक बिकासमा अमुल्य योगदान दिने काम भयो । रातको समयमा पत्रकार महिलाहरु सुरक्षित हुँदैन भन्ने भ्रम चिर्न उनी सफल भईन् । रातमा पत्रकार महिलाहरुलाई रेडियोमा काम गर्न प्रोत्साहन मात्रै उनले गरिनन्, उनीहरुलाई रातको समयमा घर घरमा पु¥याउने काम सम्म उनले गरिन् ।
पत्रकार महिलाहरु स्वंयम पनि समाचार वाचन र कार्यक्रम सञ्चालन संगसंगै आफूलाई राजनीतिक बहस, अन्तर्राष्ट्रिय चासोका विषयमा पोख्त पार्नुपर्नेमा उनको सुझाव रहेको छ ।
एफ एममा काम गरेको एघार वर्षको अवधिमा उनले चितवनको भौगोलिक अवस्था, गरिवको झुपडी र महिला आदिवासीको क्षेत्रमा बुझने अवसर पाईसकेकी थिइन् ।
रेडियोमा कामगर्ने शिलसिलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेसंग २०७० सालको चुनाव र २०७४ सालको स्थानीय निर्वाचनमा चितवनका विभिन्न स्थानहरुको भ्रमण गर्ने र त्यहाँको अवस्था र समस्याहरुको बारेमा जानकार हुने अवसर रीनालाई मिल्यो । सो समयमा महिला र आदिवासीको यथार्थ अवस्था थाहा पाँउदा कसरी सहयोग गर्न सकिन्छ भनेर मनमा कुरा खेल्न थालेको उनी बताउँछिन् ।
रीना ती दिन सम्झँदै भन्छिन्, “मेरो पहिलो प्राथमिकता रेडियो थियो । तर म यताको व्यवस्थापन राम्रोसंग मिलाएर जनताको घर घरमा गएँ । म रेडियोमा रहँदा धेरै महिलाहरुले पीडाका कुरा लिएर समाचार बनाउन भन्थे । म त्यस्ता महिलाहरुको दुखमा कसरी सहयोग गर्नसक्छु भन्ने लागिरहन्थ्यो र सकेको गर्थे ।”
मानिसले व्यावसायिक तथा पेशागत जिवनमा संधै ठूलो फड्को मार्न मात्र खोजेर हुँंदैन । एकचोटी फड्को मारेपछि त्यसलाई सन्तुलनमा राख्न पनि सक्नु पर्छ । हरेक परिस्थिति तथा वातावरणको पनि विष्लेशण गर्न सक्नुपर्छ । हरेक परिस्थितिमा आफुलाई र आफ्नो जिम्मेवारीलाई सही तरिकाले व्यवस्थापन गर्दै अगाडि बढ्न सकेका कारण थोरै समयमा धेरैको मन मस्तिकमा उनी बस्न सकिन् । रेडियोको दश पाँचको डिउटी मात्रै उनको दैनिकी भएन । विभिन्न संघ संस्था र महिलाको अधिकारका लागि उनी बोल्न थालिन् ।
समाज परिवर्तन हुनको लागि विभिन्न किसिमका पितृसत्तात्मक सोँच पनि परिवर्तन हुन जरुरी देख्छिन् उनी । त्यसको लागि आफू स्वयंले प्रयास गर्नुपर्छ भन्ने लाग्छ उनलाई ।
परिवर्तन प्रत्येक व्यक्तिको साँेचमा हुनुपर्छ अनि मात्रै सम्भव छ । समाजमा रहेका विभिन्न जातीय धर्म तथा लिंगका नाममा विरोध तथा होच्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्ने नेतृ हुन् उनी । सामाजिक असमानता देखेर नै राजनीतिमा लागेको उनले बताईन् ।
राजपरिवारलाई माया गर्ने परिवारको सदस्य भएका कारण राजा वीरेन्द्रको हत्यामा आफ्नो परिवार धेरै रोएको अहिले पनि झलझली याद आउने बताउदै उनी भन्छिन्, ‘वि.स. २०१८ सालमा कास्कीबाट चितवनको सौराहा आएका बाजेलाई राजा महेन्द्रले ठोरी जाउँ भन्नुभएछ । ठोरी किन जाने भनेर बाजेहरुले प्रश्न गरेपछि राजा महेन्द्रले सिमाना जोडिएको ठाउँको रक्षा गर्नुपर्छ र त्यहीँबाट व्यापार गर भनेर ठोरी पठाएका कारण हामीहरु ठोरीमा पुगेका हौँ ।’ यसकारण पनि राजतन्त्रप्रति पुर्खाहरुकै समयबाट रीनाको परिवारमा झुकाव थियो ।
उनको थप भनाई छ –‘राजनीतिक परिवर्तत जनताले चाहेको हो । हाम्रो पार्टीले पनि आत्मसाथ ग¥यो । देशमा गणतन्त्र आयो । तर, गणतन्त्रको अनुभुति जनताले गर्न पाएका छैनन् ।’ यसैले पनि पुराना परिवर्तनहरुलाई घृणित भावनाले हेर्नहुँदैन भन्ने उनको भनाई छ ।
बाग्मती प्रदेश सभा सदस्य भएसंगै विभिन्न ऐन बनाउने समयमा उनको सक्रीय सहभागिता रहन गयो । करिब एक दशक पत्रकारिताको समस्यासँग नजिक भएको नाताका कारण उनले सुरुमा नै पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आवश्यकता महसुस गरिन् । उनी भन्छिन्, ‘एक पटक केही बजेट पार्नुभन्दा नीतिमा नै लेख्नु राम्रो हुने रहेछ । त्यसैले मैले नीतिमा नै पत्रकार महिलाहरुका लागि वर्षमा दुई वटा तालिम लेखाउने काम गरेँ ।’
त्यसैगरी अन्तराष्ट्रिय स्तरका खेलहरुमा सहभागिता जनाएका खेलाडीका लागि बिरामी हुँदा आर्थिक सहयोग गर्ने, दुग्ध बिकास वोर्डको सेवा शुल्कमा लगाईएको १ प्रतिशत शुल्क हटाउने काम र विभिन्न वोर्डहरु बन्दै गर्दा महिला सहभागितालाई प्राथमिकताका आधारमा सहभागि गराउनु पर्ने कुरा नीतिमा नै लेख्न सफल भएको उनी बताउँछिन् ।
महिला तथा आदिवासीको क्षेत्रमा विशेष योगदान समेत पु¥याउँदै आएकी महिला नेतृ रीनाले महिलाहरुलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक संरचनाहरुमा अर्थपूर्ण सहभागिता गराउन समेत सफल भएकी छन् । लैंगिक समानता र महिला सशक्तिकरणको मुद्दालाई अझ उचाइमा पु¥याउन रीनाको प्रयास सधै रहिरहोस्, आगामी दिनको लागि हाम्रो पनि शुभकामना छ ।



















