67Shares

माडी । जीर्ण भएको आफ्नो घरको रुप फेर्ने धोको थियो, माडीकी ७२ वर्षिया मनरुपालाई । हुनपनि एकसरो ओढ्ने ओछ्याउने र केही पकाउने खाने भाडावर्तन बाहेक केहि नभएको घरको रुप पनि एक्लै कसरी फेर्न सक्थिन् र उनले ?
पहिले उनको घरमा खडाईको बार थियो । डाँडा भाटाले खर पनि धान्ने अवस्था थिएन । खर धान्न नसक्ने डाँडाभाटाले घर धान्ने कुरै भएन । तर मनरुपाको बास यतिबेला भने फेरिएको छ ।
बास फेरिने कुरो उनको बलबुतोबाट सम्भव भएको भने होइन । आफ्नो बास फेरिएपछि उनी यतिबेला औधि खुशी छिन् । माडी नगरपालिका नगरस्तरीय दलित समितिले माडी नगरपालिकाभित्र वसोवास गर्ने चालिस जना अति गरिव र विपन्न परीवारलाई घर बनाउन सहयोग गरेपछि मनरुपाको चोला नै फेरिएको हो ।
आफ्नो घरलाई रंगरोगन गरी टिनले छाएर बस्ने मनरुपाको मन र चाहनालाई दलित समितिले सम्भव बनाईदिएको हो ।
मनरुपाका दुई छोरामा कान्छो छोरा के कारणले जेलमा गयो उनलाई थाहा छैन । छोरो जेलमा गएपछि बुहारी अर्कैसंगै विवाह गरेर गईन् । छोरा जेलमा र बुहारी नभएपछि उनीहरुका तीन सन्तानको लालनपालन गर्ने जिम्मेवारी भने यी वृद्ध मनरुपाको काँधमा छ । एक नातिनी र दुई नातिको सहारा हजुरआमा मनरुपालाई बिहान बेलुकाको छाक टार्न नै गाह्रो भएको अवस्थामा ओत लाग्ने घरको छानो फेर्नु निकै टाढाको कुरा थियो ।
मनरुपामा जस्तै खुशी यतिबेला जमुना सुनारमा पनि छ । माडी नगरपालिका वडा नम्वर ७ मा उनी बस्छिन् । ५८ वर्षीया सुनारका दुईवटी छोरी छन् ।
छोरा नपाएको भन्दै उनका श्रीमानले कान्छी विवाह गरेका हुन् । श्रीमानको सहयोग त उनले पाईनन् । सौताको पिटाईले उनको ज्यान थिलोथिलो भयो । माईतीको सहयोगमा उनले ऐलानीमा जग्गा खरिद गरिन् । त्यो जग्गामा उनले पहिले जेनतेन ओत लाग्ने घर बनाईन् । उनको घरमा खुट्टा सिधा गरेर पनि सुत्न मिल्थेन । सिधा उभिँदा उनको टाउको ठोकिन्थ्यो । तैपनि यही घरमा उनको गुजारा चल्दै आएको थियो । राम्रो घर बनाउन मन हँुदाहुँदै पनि रोगी ज्यानले गर्दा काम गर्न सकेकी थिईनन् । उनमा अझै पत्थरीको समस्या छ । नदुख्ने औषधि खाने गरेकी छन् । अप्रेसन गर्नुपर्छ भनेर डाक्टरले भने पनि पैसा नभएर अप्रेसन गर्न नसकिएको उनले दुःखेसो छ ।
जमुना पनि अहिले टिनको छाएको घरमा बस्छिन् । यसैले पनि मनरुपा र जमुना यतिबेला खुशी छन् ।
आफ्नो घर आँगनबाट छिमेकी घरको छानोमा टल्किएको टिनको छानो जस्तै आफुहरु टिनको छानो मुनि वस्न पाउला भनेर मनरुपा र जमुनाले कुनै दिन कल्पना पनि गरेका थिएनन् । दिन दुखीको पनि दिन आउँदो रहेछ भन्ने उनीहरुलाई लागेको छ । सम्भव नभएको काम सम्पन्न भएजस्तै अहिले टिनको छाना भएको घरमा बस्न पाउँदा मनरुपा र जमुनाले आफ्नो जवानी नै फर्किएको अनुभूति गरिरहेका छन् ।
उनीहरु अहिले पक्की घरमा भित्र बाहिर गर्न पाउँदा निकै खुसी लागेको पनि बताउँछन् । उनीहरु भन्छन्, ‘कल्पना बाहिरको संसारमा बस्न पाएका छौ । जनप्रतिनिधी आएपछि यस्तो काम हुन्छ भनेर थाहा पनि थिएन ।’
माडी नगरस्तरीय दलित समितिकी सचिव एवं माडी नगरपालिका वडा नम्वर ४ की कार्यपालिका सदस्य ईन्दीरा विक माडी नगरपालिकाको सहयोगमा वडा नम्वर १ देखि ९ सम्मका अति विपन्न सिमान्तकृत दलित समुदायको घर निर्माण गरिएको बताउँछिन् ।
सचिव विकले नगरपालिकाको खरको छानालाई विस्थापित गरी टिनको छाना बनाउने कार्यक्रम अन्र्तगत प्रतिघर दुई लाख चवालीस हजारका दरले घरहरु निर्माण गरिएको बताईन् । उनी भन्छिन्,‘बाबुआमा नभएका, दीर्घ रोगी, अपाङ्ग लगायतलाई छनौट गरेर एउटा वडाबाट चार जनाका दरले चालिस जनालाई घर वनाएर सहयोग गरिएको हो ।’
सचिव विक नगर स्तरीय दलित समितिले दलित समुदायलाई आर्थिक रुपमा बलियो बनाउनका लागि आरन व्यवसाय, मुर्ती कुद्ने, बाजा बजाउने र सारङ्गी व्यवसायलाई व्यवसायिक रुपमा नै अगाडि बढाएको बताउँछिन् ।
त्यसैगरी यस समितिले एक डेढ वर्षको पाडी अधिया पाल्नेलाई पञ्चीस हजार सहयोग गरेर भैसीको मालिक बनाउने जस्ता व्यवासायिक कामहरु गर्दा धेरै लाभान्वित भएको उनको भनाई छ ।

खरले छाएको मनरुपाको घर
मनरुपाको नयाँ टिनले छाएको घर
67Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement