0Shares

भरतपुर । पात्र एक, समाजसेवा अनेक यो उदाहरण मुक्तिलाल चुकेमा मिल्छ । उनी हरेक क्षेत्रको सामाजिक विकासमा अगुवा थिए । सामाजिक विकासमा लाग्दालाग्दै उनले शुक्रबार बिहान आफ्नै निवास नारायणगढमा देह त्याग गरेका छन् ।

८४ वर्षको उमेरमा अस्ताएका चुकेले जाँदाजाँदै आँखा दान गरेका थिए । नेत्रज्योति संघ चितवनको संस्थापक कोषाध्यक्ष तथा आजीवन सदस्यसमेत रहेका चुकेको घरमै गएर आँखाको नानी निकालिएको हो ।

परिवारको सहमतिमा दिउँसो ४ बजेर ३ मिनेट जाँदा प्राविधिक काशिराम बास्तोलासहितको टोलीले चुकेको आँखाको नानी निकालिएको भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छाया श्रेष्ठले जानकारी दिइन् ।

विसं १९९२ साल कार्तिक १५ गते गुल्मी जिल्लाको वामिटक्सारमा जन्मेका मुक्तिलाल चुकेको निधनले सामाजिक क्षेत्रमा क्षति पुगेको अनुभव उद्योगी व्यवसायीहरुले गरेका छन् । चुके नेपाली कांग्रेसबाट २०३५ सालमा तत्कालीन भरतपुर नगरपालिकाको पहिलो प्रमुख बनेका थिए ।

‘उहाँको निधनले सामाजिक खम्बा ढलेको अनुभव भएको छ, उहाँ विकासप्रेमी, समाजसेवी हुनुहुन्थ्यो’ उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले भने, ‘विकासप्रेमी छविकै कारण उहाँलाई भरतपुरले तीन पटकसम्म नगरप्रमुख बनाएको थियो ।’

चुके मेयर बनेको एक वर्षमै देशमा जनमतसंग्रह भयो । मुक्तिलाल प्रधानपञ्च भएको भरतपुर नगरको बोर्डले नै बहुदलको पक्षमा संलग्न हुने निर्णय गरेको थियो । दोस्रो पटक सीधै जनताबाट निर्वाचित हुने व्यवस्था थियो, त्यही व्यवस्थाबाट चुके फेरि नगरप्रमुखमा निर्वाचित भए । २०४८ सालमा भएको निर्वाचनमा चुके तेस्रो पटक प्रमुख बनेका थिए ।

नेपाली कांग्रेका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार २०५३ सालमा नवौँ महाधिवेशनमा चुके नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए । सभापति श्रेष्ठले भने, ‘विकास गर्ने अभिभावक गुमाएको महसुस भएको छ, उहाँले पार्टी र समग्र भरतपुरको विकासमा ठूलो योगदान पु¥याउनुभएको थियो ।’

बहुदलको पक्षमा लागेको भनेर पञ्चायती सरकारले चुकेलाई आमाको किरियामा बसेको बेलामा पक्राउ गरेको थियो । त्यतिबेला चुके ३६ दिन भरतपुर जेलमा बसेका थिए ।

नेपाली कांग्रेस चितवनका अनुसार चुके २००७ सालदेखि नै पार्टीमा आबद्ध रहेका थिए । उनलाई नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले २०४५ सालमा महासमिति सदस्यमा मनोनित गरेका थिए । व्यवसायीका अनुसार मुक्तिलाल २०१३ सालमा बन्दीपुरबाट चितवन झरी व्यवसायमा लागेका थिए । कांग्रेस सभापति श्रेष्ठले प्रजातन्त्रका सेनानी रहेका मुक्तिलालको निधनप्रति दुःख प्रकट गरेका छन् ।

मुक्तिलाल नेपाल रेडक्रस सोसाइटीको जिल्ला अध्यक्ष, रोटरी क्लब अफ चितवनको संस्थापक सदस्य, उवासंघ चितवनको संस्थापक सदस्यसमेत रहेका थिए । उनले नारायणी किनारमा रहेको नगर वनमा रहेका सुकुमबासीहरुलाई अन्यन्त्र सारेर वनको संरक्षण गरेका थिए ।

अमृत साइन्स कलेजबाट २०१९ सालमा आइएस्सी उत्तीर्ण गरेपछि मुक्तिलाल २०२१ सालमा ३० वर्षमा बारा जिल्लाको कलैयाकी माधुरीदेवी श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिएका थिए । उनको तीन छोरा र एक छोरी रहेका छन् ।

यसैबीच, भरतपुर महानगरपालिकाले तत्कालीन भरतपुर नगरपालिकाका प्रथम नगरप्रमुख मुक्तिलाल चुकेको निधनप्रति दुःख व्यक्त गरेको छ । महानगरकी मेयर रेनु दाहालले शुक्रबार एक विज्ञप्ति जारी गरी विकासप्रेमी तथा समाजसेवी चुकेको निधनले सिंगो महानगर स्तव्ध भएको उल्लेख गरेकी छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement