0Shares

भरतपुर । भरतपुर महानगरपालिकालाई सुरक्षित सहर बनाउने योजनाअन्तर्गत विभिन्न स्थानमा ४१८ वटा सिसी क्यामरा जडान गरिँदै छ ।

सिसी क्यामरा जडान गर्न महानगरपालिका र सिनर्जी आइटी सोलुसन काठमाडौँबीच भदौ ११ गते सम्झौता भएको हो । पाँच करोड ५८ लाख २० हजार रूपैयाँ लागतमा आगामी छ महिनाभित्र सिसी क्यामरा जडान गरिसक्ने गरी सम्झौता भएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सुरक्षित सहर बनाउने महानगरको योजनाअन्तर्गत सिसी क्यामरा जडान गर्न लागिएको बताइन् । ‘भरतपुरलाई सुरक्षित र प्रविधिमैत्री बनाउन सिसी क्यामरा जडान गर्न लागिएको हो । सिसी क्यामरा जडान गर्न ठेक्का कम्पनीसँग सम्झौता भइसकेको छ’, उनले भनिन्, ‘यसबाट महानगरमा सवारी दुर्घटना र अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने छ ।’

भरतपुर महानगरपालिकाको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख एवम् सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरका २९ वटै वडामा सिसी क्यामरा जडान गरिने छ । गाउँ क्षेत्रभन्दा सहरी क्षेत्रमा तुलनात्मकरुपमा धेरै जडान हुने उनले बताए । ‘महानगर र प्रहरीको संयुक्त टोलीले क्यामरा जडान हुने स्थानको पहिचान गरेको हो । अपराधीहरु अपराध गरेर भाग्न नपाउने गरी क्यामरा जडान गर्न लागिएको हो’, उनले भने ।

४१८ वटामध्ये आठ मेगापिक्सलको बुलेट सिसी क्यामरा ४०५ वटा, ३६० डिग्रीमा घुम्ने चार मेगापिक्सलका पिटिजेड क्यामरा नौवटा र एएनपिआर (अटोमेटिक नम्बर प्लेट पहिचान गर्ने) बुलेट क्यामरा चारवटा रहेका छन् । यी क्यामरा वडाको मुख्य चोक र बढी भीडभाड हुने स्थानमा जडान गरिने छ । गोन्द्राङ र आँपटारीमा दुई÷दुईवटा एएनपिआर बुलेट क्यामरा जडान गरिने उनले जानकारी दिए ।

‘सबै सिसी क्यामराहरु नेपाल टेलिकमसँग सहकार्य गरी अप्टिकल फाइबरमार्फत जडान गरिन्छ । जिल्ला प्रहरी कार्यालयमा सिसी क्यामराहरुको मोनिटरिङ रूम रहन्छ’, उनले भने, ‘क्यामराहरु उच्च प्रविधिका हुनेछन्, जसले मान्छेको अनुहार पत्ता लगाउन सहज हुनेछ ।’

मोनिटरिङ रूममा ११ सय ५२ टिबीको मुख्य स्टोरेज हुने उनले बताए । क्यामराहरुले कैद गरेका भिडियोहरु तीन महिनासम्म स्टोरेज हुने उनले जानकारी दिए ।

पिटिजेड क्यामरा घुम्ने प्रकृतिको क्यामरा हो । यसले ३६० डिग्रीमा घुमेर दृश्य कैद गर्न सक्छ । बढी भीडभाड हुने स्थानमा यस्ता क्यामरा जडान गरिने उनी बताउँछन् । जडान हुने सबै क्यामराहरु डाहुवा ब्रान्डका हुन् भने एनएमएस सिस्टमबाट सञ्चालन हुनेछन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक गोविन्द पुरीले महानगरले जडान गर्न लागेको सिसी क्यामराले दुर्घटना र अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने बताए । ‘हामीलाई थप क्यामरा आवश्यकता थियो । महानगरले जडान गरिदिएपछि दुर्घटना एवम् अपराध न्यूनीकरणमा ठूलो सहयोग मिल्ने छ’, उनले भने ।

उनका अनुसार जिल्लाको बजार तथा राजमार्गहरुमा गरी २४८ वटा सिसी क्यामरामार्फत निगरानी गर्ने गरिएको छ । अपराध न्यूनीकरणका लागि प्रविधिको प्रयोग तथा विस्तार गर्ने प्रहरीको योजनामा सिसी क्यामरा जडानको योजना पनि रहेको छ । सिसी क्यामराको मोनिटरिङ कक्षहरु जिल्ला प्रहरी कार्यालयका साथै वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा पनि रहेको उनले बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement