0Shares

२४ माघ, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले आज बुधबार छाड्ने तयारी गरेको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाड्न लागेको हो ।

अदालतको आदेशपछि यो प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर पनि छुट्नेछन् ।

मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ । अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाड्न लागेको बाँसबारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement