संसदीय समितिले माग्यो पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक नियुक्तिको कागजात
१२ पुस, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु सरकारसँग मागेको छ ।
बिहीबार पशुपति क्षेत्र विकास कोषवाट सम्पादित कामकारबाहीहरु तथा समसामयिक विषयहरुका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव, पशुपति क्षेव बिकास कोषका सदस्य सचिव र कोषाध्यक्षसँग छलफल गरेको थियो ।
छलफलमा सांसदहरुले कार्यकारी निर्देशक पुनको नियुक्ति सम्बन्धमा प्रश्न उठाएका थिए ।
त्यस आधारमा समितिले नियुक्ति सम्बन्धी कागजात तीन दिन भित्र समितिलाई उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो ।
‘पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु (निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायत) ३ (तीन) दिन भित्र यस समितिमा उपलब्ध गर्न गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने’ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको निर्णय छ ।
यही पुस ४ गते पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएकी थिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा बसेको कोषको सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















