0Shares

काठमाडौँ– सरकारले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

गृह मन्त्रालयले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो।

गृहसचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे।

उनले देशका सबै ठाउँका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भई मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरू सक्षम रहेको बताए।

गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रबन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरू निर्वाचन केन्द्रमा पुगिसकेको बताए।

उनले मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकताअनुसारको सुरक्षा व्यवस्था मिलाइएको पनि जानकारी दिए।

उनले भने, “प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचनको लागि भरपर्दो सुरक्षाव्यवस्था सुनिश्चितत गरिएको छ। प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरूसँग, समितिहरूसँग छलफल भएको छ। सबै ठाउँको प्रतिवेदनको आधारमा हेर्दा सुरक्षा व्यवस्था चुस्त छ।”

मंसिर ४ गते हुने निर्वाचनका लागि देशभर कुल १० हजार ८ सय ९२ वटा मतदान स्थल र २२ हजार २ सय २७ वटा मतदान केन्द्र रहेका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement