समाजसेवी तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन
चितवन, कात्तिक ६–
वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आजबिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ अविवाहित हुनुहुन्थ्यो । वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उहाँलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आज बिहान निधन भएको उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्छ । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्ब भन्दा माथिको रहेको छ । विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्मभएको थियो ।
आज बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उहाँको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र यसपछि उहाँ संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । पार्टीले शोक वक्तव्य जारी गर्दै आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ ।
मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी र उनले दिएको दान
जन्म : विस १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा
—विरगञ्जमा डिठ्ठा रहनुभएका वुवा विरवहादुर श्रेष्ठको निधन पछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्कनुभयो
—नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङ्ग देखि शिक्षक वोलाएर पठन पाठन शुरु गराउनु भयो । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ
— भरतपुरमा मैयादेवी कन्याकलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।
—२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरि लगातार १२ वर्षसम्म सांसद
—काग्रेसको केन्द्रिय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान
—चितवन काँग्रेसकालागि नारायणगढको मुटुमै भवन दान
—गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान
—नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान
—प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि उहाँले वसेनीमा जग्गा दान
—पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई उहाँले जग्गा दान
—आफ्नो सेवामा समर्पित हुने छोराहरु, भतिज, अन्य सेवकहरुलाई पनि उहाँले जग्गा दान
सेवा गरेका छोराहरु टंकनाथ पौडेल, ऋषिराम गौतम, हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई जीवन चल्ने गरी नारायणगढ बजारमा जग्गा दान दाईका छोराहरु प्रेमकुमार श्रेष्ठ, सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि उहाँले जग्गा दिनुभएको छ । आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै घडेरी दिनुभएको छ भने भान्से ईन्दिरा ढकाललाई देवघाटमा घडेरी दिनुभएको छ । पूजारी रामबहादुर कार्की र उहाँकी श्रीमती देवीलाई देवघाटमा घडेरी दिनुभएको छ भने यौवन अवस्थादेखिका साथी विष्णुमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिनुभएको छ ।
श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुबाको अन्त्यष्टीमा पाल्पाबाट झिकाएका पण्डित शिस्वानी बाजे र बजैलाई पनि उहाँले नारायणगढ बजारमा घडेरी दिनुभएको छ । पुरेत षडानन्द लामिछानेलाई नारायणगढमा, ट्रष्टका सचिव हरि ढकाललाई देवघाटमा, पूर्व मन्त्री चित्रलेखा यादवलाई देवघाटमा, ठूलीआमाको छोरा कृष्णभाई प्रधानलाई देवघाटमा, नातिनी उन्नती अधिकारी, श्रेया पौडेललाई समेत उहाँले घडेरी दिनुभएको छ ।
यसैगरी पूर्व प्रबन्धक खोपमबहादुरलाई बसेनीमा र सहयोगी काजीरामकी श्रीमतीलाई पनि बसेनी घडेरी
— पछिल्लो पटक उहाँले नेपाली काग्रेसका सस्थापक वीपी कोइरालाका छोरा सशाक कोइरालालाइ भरतपुरमा झण्डै एक करोड पर्ने जग्गा दान
—वचेको सम्पत्ती उहाँकै नाममा ट्रष्ट वनाएर राखिने गरि दान



















