0Shares

चितवन, १० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले सरकारले खरिद गर्ने प्रक्रियामा रहेको पेट स्क्यान मेसिन धेरै जनताले सेवा पाउने ठाउँमा राख्ने बताउनु भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३ औं वार्षिकोत्सव तथा १८ औं क्यान्सर सतर्कता दिवसलाई आज सम्बोधन गर्दै उहाँले क्यान्सर उपचारमा महत्वपूर्ण यो मेसिनबाट धेरैभन्दा धेरै जताले लाभ लिन सक्न गरी राख्ने योजना रहेको बताउनु भएको हो ।

मन्त्री खापुङले भन्नुभयो “सबैभन्दा धेरै जनताले सेवा पाउने अस्पतालमा पेट स्क्यान मेसिन राख्ने हो ।” यो क्यान्सर अस्पताल देशकै महत्वपूर्ण भएको भन्दै यसको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले सरकार आधारभूत स्वास्थ्य कसरी निःशुल्क दिन सकिन्छ भनेर लागिरहेको बताउनुभयो । स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालहरुमा आधारभूत स्वास्थ्य निःशुल्क दिन लागिरहेको उहाँको भनाई छ ।

सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकाहरुलाई रु।१ लाख बराबरको उपचार निःशुल्क गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तीनै तहका सरकारस्वास्थ्य उपचारका लागि संवेदनशील छन् ।”

स्वास्थ्य बीमामा सबैलाई आवद्ध गराउने गरी काम भईरहेको भन्दै उहाँले अस्पतालहरुको भुक्तानी पाउन बाँकी रकममा छिटो भुक्तानीका लागि लागिपरेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले क्यान्सर अस्पतालमा अन्य अस्पताललाई जोडेर प्रतिष्ठान बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “छाता ऐन बनाएर प्रतिष्ठान बनाउनु पर्छ ।” क्यान्सर रोग लाग्न नदिन जनचेतनाका काममा जोड दिनुपर्ने भन्दै उहाँले यसै अस्पतालमा पेट स्क्यान मेसिन ल्याउनु पर्नेमा जोड दिनुभयो । श्रेष्ठले भन्नुभयो “क्यान्सरका ६० प्रतिशत बिरामी यही उपचारका लागि आउँछ, त्यसैले पेट स्क्यान मेसिन यही राख्नु पर्छ ।”

सो अवसरमा नेकपा एमाले चितवनका उपाध्यक्ष कमल पाठक, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, अस्पतालका अध्यक्ष डा। निर्मल लामिछाने, चिनिया चिकित्सक टोलीका नेता डा। जिया झियो पिङलगायतले बोल्नु भएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement